ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खाद्यान्न पसलमा भीड, अन्यत्र सुनसान 

२०७६ चैत, ९  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले कोरोना संक्रमण रोक्न दिएको पछिल्लो निर्देशनसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको किनमेल बढाउँदा खाद्यान्न पसलहरूमा भीडभाड देखिएको छ । खाद्यान्न पसलमा ग्राहकको भीड देखिए पनि लत्ताकपडा, लगायत अन्य पसलहरू भने सुनसान जस्तै देखिएका छन् । कालीमाटीको थोकविक्रेता छवि ट्रेडर्शका सञ्चालक सञ्जीव अग्रवालका अनुसार ४/५ दिन अघि उपभोग्य सामान खरीद गर्ने उपभोक्ताको भीड बढेको भए पनि त्यसयता केही कम भएको थियो । तर, बुधवार सरकारले कोरोनाको संक्रमण फैलन नदिन विभिन्न १५ वटा निर्णय गरेसँगै पसलमा सामान किन्ने उपभोक्ताको भीड लागेको छ ।

‘शुक्रवार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा २१ गतेसम्मका लागि बन्द गर्ने बताएपछि शनिवार बिहानैदेखि खाद्यान्न पसलमा उपभोक्ता बढेका छन्,’ उनले भने । गणपति खाद्यान्न स्टोर बबरमहलका व्यापारी विश्व चौधरीका अनुसार सामान्य अवस्थामा दुईजना स्टाफले पसलमा सामान बेच्न सकिन्थो तर शनिवार भने तीनचार जना खट्दा पनि सामान विक्री गर्न मुश्किल पर्‍यो । सुरक्षाका उपाय अपनाएर पसल खोल्ने र ग्राहकहरूलाई सहजसेवा पुर्‍याउने उनले बताए ।

एउटै उपभोक्ताले ३/४ बोरा चामल र एक कार्टोन तेलसम्म किनेर लगेको उनले जानकारी दिए । लामो दूरीका गाडीहरू समेत बन्द गर्ने निर्णय गरेपछि ढुवानीका गाडीहरू पनि रोकिन्छन् भन्ने त्रासले उपभोक्ताले बढी सामान किनेको उनको बुझाइ छ । कीर्तिपुरस्थित एक खाद्यान्न पसलमा सामान किन्न आएकी कञ्चना राईले पछि सामान पाइँदैन कि भनेर आफूले करीब २ महीनालाई पुग्नेगरी खाद्यान्न किन्न लागेको बताइन् । ‘नाकाबन्द भयो भने के खाएर बाँच्ने ? त्यसैले बेलैमा आफूलाई चाहिने सामान जोहो गरेकी हुँ,’ उनले सुनाइन् ।

बन्द हुँदै मल/पसलहरू
काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू सिभिल मल, काठमाडौं मल, सुरज आर्केड, पिपुल्स प्लाजा लगायत न्यूरोड आसपासका कपडा, मोबाइल र कम्प्युटर आदिका पसलहरू आइतवारदेखि बन्द गरिँदै छन् । 

काठमाडौं मल व्यापार संघकी अध्यक्ष शुष्मा महराले चैत ९ गतेदेखि २१ गतेसम्मका लागि काठमाडौं मल बन्द गर्न लागिएको जानकारी दिइन् । मल बन्द भए पनि मलमा कार्यरत कर्मचारीलाई भने तलबी बिदा दिइने उनले बताएकी छन् । खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष राजेन्द्र शेरचनले व्यापारीहरू समेत जोखिममा रहेकाले आइतवारदेखि खिचापोखरी आसपासका तयारी पोशाक पसलहरू १० दिन सम्मका लागि बन्द गर्न लागिएको जानकारी दिए । हाल फेन्सी पसलहरूमा करीब ९० प्रतिशत व्यापार घटेकाले पनि पसल नखोल्नु नै उचित भएको उनले बताए । सरकारले अत्यावश्यकबाहेकका सवै सेवाहरू बन्द गर्ने निर्णय गरेकाले सिभिल मल पनि २१ गतेसम्मका लागि बन्द गर्न लागिएको सिभिल मल व्यापार संघका उपाध्यक्ष सुजित तण्डुकारले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्