ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हेटौंडा औद्योगिक क्षेत्र प्रवेश गर्ने सबैको नियमित ज्वरो परीक्षण गर्न शुरु

शिविरमा औद्योगिक क्षेत्रका ३ हजार ६००को स्वास्थ्य परीक्षण

२०७६ चैत, ९  
वाग्मती प्रदेश
Image Not Found

चैत  ९, हेटौंडा ।  उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत् श्रमिक, उद्योगी, स्थानीयलगायत करीब ३ हजार ६०० जनाको स्वास्थ्य परीक्षण गरेको छ । कोरोना भाइरसको सम्भाब्य संक्रमण न्यूनीकरण गर्न संघले 

तीन दिने स्वास्थ्य परीक्षण शिविर गरेको हो । शिविरका क्रममा सामान्य ज्वरोका ८ जना बिरामीलाई अस्पताल भर्ना गर्न सिफारिश गरिएको थियो भने ८०० जनाभन्दा बढीमा उच्च रक्तचाप भेटिएको थियो ।
    
अति उच्चरक्तचाप भेटिएका १६ जना बिरामीलाई तत्काल अस्पताल पठाएर आवश्यक उपचार गरिएको शिविरमा सहभागी डा सागर काफ्लेले जानकारी दिए । शिविरमा कोरोनाका शंकास्पद् बिरामी भने नभेटिएको उनले बताए । 

शिविरमा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने जोकोहीलाई हातधुने तरिका सिकाइ हातधुने, मास्क बितरणका साथै निःशुल्क ज्वरो जाँच, मुटुको पल्स जाँच र प्रेसर जाँच गरिएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए ।

बीएनपी सपोर्ट सर्भिस प्रालि, हेटौंडा औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालय र सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा आउनेलाई कोरोनाको संक्रमणबाट बच्ने उपायबारे जानकारी दिइएको थियो । 

भीडभाड नहुने गरी औद्योगिक क्षेत्रका उद्योगलाई तीन भागमा विभाजन गरी पालैपालो श्रमिक र उद्योगीलाई स्वास्थ्य जाँच गरिएको अध्यक्ष पोखरेलले बताए । शिविरको पहिलो दिन ९००, दोस्रो दिन १हजार १०० र तेस्रो दिन १ हजार ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

हेटौंडा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने जोकोहीलाई पनि शनिवारबाट ज्वरो परीक्षण गर्न शुरु गरिएको छ । औद्योगिक क्षेत्र छिर्ने दुई नाकामा सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलले ज्वरो जाँच गर्न शुरु गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक बिनोद खतिवडाले बताए ।

ज्वरो नाप्नका  लागि बीएनपी सपोर्ट सर्भिस प्रालिले सशस्त्र प्रहरीलाई दुई ओटा डिजिटल थर्मोमिटर नि : शुल्क सहयोग गरेको छ । स्वास्थ्य शिविर सकिएपछि उक्त कम्पनीका प्रवन्धक पल्लव घिमिरेले सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडालाई थर्मोमिटर हस्तान्तरण गरेका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्