ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कालोबजारी गर्नेलाई कडा कार्वाही हुन्छ, सूचना दिनुहोस् : आपूर्तिमन्त्री भट्ट

‘खाद्यान्नको अभाव हुँदैन्, पर्याप्त मौज्दात् छ, विश्वास नलागे साल्ट ट्रेडिङ गएर हेर्नुहोस’

२०७६ चैत, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ९, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको दावी गरेका छन् ।

आइतवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको पनि बताए । उनले भने, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ ।’

उनले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि बताए ।

उनले भने, ‘कतिले चारदेखि ६ ओटासम्म ग्यास सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्, यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन्, हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं, कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत शनिवार गठन भएको उनले जनाए ।

उनले भने,‘त्यो समितिमा तीन ओटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएनआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ, हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि बताए । उनले भने, ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ 

उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिने पनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त मौज्दात् रहेको पनि सुनाए । उनले भने, ‘हामीसँग पर्याप्त मात्रामा स्टक छ ।

साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस्,नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ, हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं, ३–४ ठाउँबाट ग्याँस उपलब्ध हुन्छ ।’

कालोबजारी र अभाव गर्न खोज्नेहरुलाई रू.३ लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने, ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ, त्यस्तो गरेको पाए सूचना दिनुहोस्,हामी कारबाही गर्छौं ।’ 

उनले सरकारले क्षमताभन्दा बढी नै आपूर्ति व्यवस्था गरेको सुनाए । उनले भने, ‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे । उनले भने, ‘११३७ मा फोन गर्नुहोस्, हामी व्यवस्थापन गर्छौं ।’ 

उनले मास्क अहिले बाहिरबाट पनि आईरहेको र नेपालमा उत्पादन क्षमता पनि बढाएको सुनाए । उनले भने, ‘हाम्रो उत्पादन क्षमता कम छ, तर माग बढी छ ।’

उनले अहिले ‘जो जहाँ छौं, त्यहीं बसेर’ सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । उनले आवश्यक पर्दा देशलाई लक डाउन गरेर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था भएकोले सबै नेपालीले यसलाई आत्मसात् गर्नुपर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्