ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काठमाडौं छाड्नेको संख्या ह्वात्तै बढ्यो,  तीन दिनमा ५ लाख मानिस बाहिरिए 

२०७६ चैत, ९  
समाचार
Image Not Found

चैत ९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौं छाड्ने मानिसको संख्या ह्वात्तै बढेको छ । बिहीवारदेखि  आइतवार बिहानसम्म मात्रै झण्डै ५ लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । 

तीन दिनको अवधिमा राजधानी आउने यात्रु १ लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । शुक्रवार १ लाख ३० हजारले राजधानी छाडेकामा शनिवार २ लाख ६ हजारले राजधानी छाडेका छन् ।

आइतवार बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले यही चैत ५ गते कोरोना भाइरसको संक्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।

कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आइतवारदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ । यस्तै चैत १० गतेदेखि लागू हुने गरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गर्ने यसअघि नै निर्णय गरिसकिएको छ । यस्तै आइतवारदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा समेत सरकारले रोक लगाएको छ ।  

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नभए पनि बढ्दो जोखिमका कारण शैक्षिक संस्था, अत्यावश्यक सेवा बाहेकका सेवा बन्द भएको र आर्थिक तथा पर्यटन क्षेत्र प्रभावित हुँदा राजधानी छाड्ने यात्रुको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । 

महाशाखाका अनुसार चैतको ६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा १ लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा ४ लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आइतवार बिहान मात्रै राजधानी छाड्ने यात्रुको संख्या ५६ हजार ६४७ छ । उक्त अवधिमा ९ हजार यात्रु राजधानी भित्रिएका महाशाखाले जानकारी दिएको छ । 

त्यसअघि चैत ५ गतेको तथ्यांक हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने संख्या बढी थियो । त्यस दिन १८ हजार १८० गाडीमा ९८ हजार ९३४ यात्रु भित्रिएका र १७ हजार ४४१ गाडीमा ९५ हजार २४७ यात्रु बाहिरिएका ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा उल्लेख छ । 

बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने बढी देखिएको छ । यसतर्फ सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । रासस
    
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्