ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२.६ % आयात घट्दा २२ % ले बढ्यो निर्यात      

२०७६ चैत, ९  
समाचार
NA

 चैत ९, काठमाडौं । आर्थिक वर्ष २०७५/ ७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महीनामा कुल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ ।
 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालू आवको आठ महीनामा कुल रू.९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार बराबरको आयात भएको छ । यो गत आवको तुलनामा करीब रू. २५ अर्ब कम हो । आव २०७५/ ७६ को सोही अवधिमा कुल रू.९ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो ।     
     
 यस्तै सोही अवधिमा कुल रू.७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार बराबरको निर्यात भएको छ । आव २०७५/ ७६ का तुलनामा चालू आवको आठ महीनामा निर्यात कुल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आवमा कुल रू. ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । 

विभागका अनुसार मुलुकको कूल व्यापार रू.९ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार बराबर भएको छ । गत आवमा भने रू. १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार बराबरको व्यापार भएको थियो । पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको संक्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् ।

भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ । चालू आवको आठ महीनामा सो भन्सारबाट कुल रू.३ खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ ।

प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ । यस्तै सोही नाकाबाट कुल रू. २३ अर्ब ७७ करोड ८० लाख ५ हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कुल रू. ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कुल रू. २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ ।     
     
भैरहवा भन्सारबाट कुल रू.१ खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा रू.२ अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कुल रू.१ खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा रू.१ अर्ब ७६ करोड बराबरको निर्यात भएको छ । 

उता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट कुल रू. ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा  रू.१६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ ।
 देशभर कुल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्