ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक भने यथावत्    

२०७६ चैत, ९  
समाचार
Image Not Found
सांकेतिक तस्वीर

चैत ९, काठमाडौं । कोभिड–१९को विश्वव्यापी संक्रमणलाई ध्यानमा राखी सरकारले आइतवार मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ : ५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको बताएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ ।     
     
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने बताउनुभएको थियो ।     
     
आइतवार रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए  ।उनका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।

अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत रहने महानिर्देशक पोखरेलको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्