ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अन्योलका बीच नेप्सेमा कारोबार, १८.२० अंक घट्यो नेप्से परिसूचक

२०७६ चैत, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत ९, काठमाडौं । नेपालको धितोपत्र बजारमा आईतवार कारोबार हुने नहुनेमा अन्योलता देखिएपनि अन्तत : कारोबार भएको छ ।

शुक्रवार प्रधानमन्त्रिको सम्वोधनमा चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने घोषणा भएसँगै धितोपत्र बजार खुल्ने नखुल्नेमा अन्योलता रहेको थियो । यद्यपि यससँग सम्बन्धीत निकायबाट भने आधिकारिक सूचना सार्वजनिक भएको थिएन । 

नेपाल राजपत्रमा प्रकाशित १७ ओटा अत्यावश्यक सेवामा धितोपत्र बजार संलग्न नभएकाले शेयर कारोबार बन्द गर्ने वा नगर्नेमा बजार सम्बद्ध निकायमै अन्योलता रहेको देखियो । 
आम लगानीकर्ताहरुले बजार बन्द गर्न माग गरे पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि संयमित भएर कारोबार अघि बढाउन निर्देशन दियो ।

बजार बन्द हुन्छ भन्दा भन्दै कारोबार भएपछि पाँच ओटै लगानीकर्ता संघका प्रतिनिधिहरुले नेप्सेमा गएर बन्द गराउन माग गरे । नेप्सेले धितोपत्र कारोबार अनलाईन प्रणालीमा गइसकेकाले अनलाईन मार्फत कारोबार गर्न सकिने भन्दै निरन्तरतामा जोड दिएको छ ।

यस दिन बिबाद बीच सञ्चालन भएको कारोबारमा नेप्से परिसूचकमा कारोबार हुँदा १८ दशमलव २० अंक घटेको छ । ओरालो लागेसँगै नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन १२३ कम्पनीको २ हजार ३९१ पटकको किनबेचमा रू.१९ करोड ४६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । १ हजार २६९ दशमलव शून्य ८ विन्दुबाट शुरुभएको परिसूचक कारोबारको तेस्रो घण्टासम्म सकारात्मक रहेको थियो ।  त्यसपछि आगामी दिन बजार बन्द रहने वा खुल्ला रहने भन्ने अन्योलसँगै विक्रीकर्ताको चाप बढ्दा परिसूचक निरन्तर ओरालो लागेको हो । 

अन्तत : नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा १ दशमलव ४३ प्रतिशत घटेर बन्द भएको छ ।आइतवार कारोबारमा आएका ११ समूहका परिसूचकमध्ये होटल, निर्जीवन बीमा र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द भएको छ । 

यस दिनको कारोबारमा बैंकिङ समूहको परिसूचक सर्वाधिक २ दशमलव ४२ प्रतिशत घटेको छ भने होटल समूहको परिसूचक ३ दशमलव ५१ प्रतिशत बढेको छ । यस्तै बढेर बन्द हुनेमा ‘अन्य’ समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । 

घटेर बन्द हुनेमा व्यापार, उत्पादन तथा प्रशोधन र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ । 
आइतवारको कारोबार

आइतवारको बजारमा रू.१९ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ । बिहीवारको तुलनामा यस दिनको कारोबार ८९ दशमलव ७७ प्रतिशत कम हो । बिहीवार रू.१ अर्ब ९० करोड बराबरको शेयर कारोबार भएको थियो ।

सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ७६ अंक घटेर २७१ दशमलव शून्य ६ विन्दुमा पुगेर बन्द भएको छ ।


जनउत्थान सामुदायिकको शेयरमूल्य सर्वाधिक बढ्यो

आइतवार जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६९ प्रतिशत बढेको छ भने गुहेश्वरी मर्चेन बैंक एण्ड फाइनान्स कम्पनीको ९ दशमलव  ३७ प्रतिशत घटेको छ । 

यस्तै शेयरमूल्य बढेर कारोबार हुनेमा अपि पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । शेयरमूल्य घटेर कारोबार हुनेमा गुहेश्वरी मर्चेन्ट लगायत एनआइबीको संस्थापक तर्फको शेयर ६ दशमलव ८९ प्रतिशत घटेको छ भने नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ६ दशमलव ३१ प्रतिशत घटेको छ । 

यस दिन कारोबारमा आएका १२३ कम्पनीमध्ये ३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । साथै १० कम्पनीको शेयरमूल्य भने स्थिर छ ।
 

११ समूहको परिसूचक

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार
 

आइतवार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको २७ हजार ६०७ कित्ता शेयरको खरीदविक्री हुँदा रू.२ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ । 

कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू.१ हजार ५४ पुगेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा एनएमबि बैंकको रू.१ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७७ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्