ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटनमा नयाँ नीति कि काम ?

२०७६ चैत, १०  
लेख | दृष्टिकोण
NA
author avatar भीमप्रसाद पन्त

कोरोना भाइरस विश्वकै त्रास बनिसकेको छ । छिमेकी चीन अहिले यसलाई नियन्त्रण गर्न सक्षम भइरहेको समाचार छ भने यूरोप र अमेरिका कोरोनाबाट बढी संक्रमित भइरहेका छन् । आर्थिक र प्राविधिक दृष्टिले सम्पन्न भनिएका देश यसविरुद्ध लड्न सकिरहेका छैनन् । संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ र संसारका १० ओटा देशमात्रै कोरोनाबाट मुक्त देखिएका छन् । नेपालमा एक जनाबाहेक कसैमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका छैन । ती संक्रमित व्यक्ति पनि निको भइसकेका छन् । कोरोनालई रोक्न मानिस मानिसबीच हुने भौतिक सम्पर्क टाढा राख्नु नै हो भन्ने निष्कर्षका साथ सबै देशले मानिसहरूलाई एकै ठाउँमा जमघट हुन रोकेका छन् । विश्व अर्थतन्त्रको आगामी दिशा के होला भन्न सकिने स्थिति छैन । सिंगो मानव जातिका लागि संकट आएकाले कोरोना नियन्त्रणमा आएपछि विश्वको राजनीति र अर्थनीति मात्र होइन, अन्य थुप्रै पक्षमा परिवर्तन आउने आकलन गर्न थालिएको छ । यस्तोमा पर्यटन क्षेत्र अब महँगो हुने लक्षण देखिँदै छ । अर्थात् सुरक्षाका मापदण्ड थपिने र तिनमा कडाइ गर्ने परिस्थिति बन्दै छ । यसो भयो भने विश्वपर्यटनको बजार प्रभावित हुनेछ । यस्तोमा नेपालको पर्यटनलाई कसरी अघि बढाउने कस्तो नीति तय गर्ने भन्ने विषय महŒवपूर्ण देखिन्छ । यद्यपि अहिलेको पहिलो प्राथमिकता भनेको जनताको जीवन रक्षा नै हो । तर, लाखौं जनताको रोजीरोटीसँग जोडिएको पर्यटनलाई कसरी जोगाउने भन्ने अहम् प्रश्न पनि आफ्नो ठाउँमा महत्त्वपूर्ण छँदै छ । 

पर्यटन विकासको योजना कागजमा धेरै बने । २० वर्षे र २५ वर्षे रणनीति यसअघि नबनेका होइनन् । तर, ती कार्यान्वयनमा जान सकेनन् ।

मानिसले जब केही पैसा जोगाउँछ अनि मात्र घुमघामको योजना बनाउँछ । तर, विश्व अर्थतन्त्र नै अहिले संकटमा छ । विश्वका धेरै देशले अर्थतन्त्र जोगाउन प्याकेज ल्याएका छन् । अहिले कोरोनाका कारण धेरै मानिसले रोजगारी गुमाएका छन् । यसले बचत कम हुन्छ र उपभोग पनि घटाउँछ । त्यसपछि उत्पादनमा कटौती हुन्छ । यस्तोमा बढ्ने भनेको बेरोजगारी नै हो । त्यसैले कोरोना संक्रमणबाट पर्यटन व्यवसायमाथि दीर्घकालीन असर पर्ने निश्चित छ । 

नेपालको पर्यटनमा असर पर्दा अर्थतन्त्रमा खासै असर नपर्ने अर्थमन्त्रीको भनाइले सरकारले पर्यटनलाई त्यति महŒव नदिएको देखिन्छ । हुन त अहिले मुलुकको अर्थतन्त्रमा पर्यटनको योगदान ३ प्रतिशतमात्र रहेको सन्दर्भमा उनको भनाइ ठीकै देखिए पनि नेपाली अर्थतन्त्रलाई बलियो बनाउने मुख्य क्षेत्रचाहिँ पर्यटन नै हुन सक्छ । त्यसैले पहिलो काम पर्यटनलाई कसरी जोगाउने भन्ने नै हो । अर्को, अबका लागि के गर्ने भन्ने हो । नेपाल भ्रमण वर्ष–२०२० असफलताका कारण कोरोना देखिए पनि वास्तवमा हाम्रो तयारी नै पर्याप्त थिएन । जसरी तयारी गरिएको थियो त्यो पनि ठीक थिएन । मुख्य कुरा त नेपालको पर्यटनलाई उकास्ने गरी सही रणनीति अभैm तयार भएको छैन । कस्तो पर्यटन चाहिन्छ भन्नेमा नेपाल सरकार नै स्पष्ट देखिँदैन । व्यवसायीले जेजस्तो सक्छन् त्यही गरेका छन् । त्यसैअनुसार नेपालको पर्यटन अघि बढेको हो भन्दा अत्युक्ति नहोला । त्यसैले अबचाहिँ पर्यटनलाई सही रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएसँगै सरकारले सन् २०२०–२०३० लाई पर्यटन दशकका रूपमा अघि बढाउन छलफल शुरू गरेको समाचार आएको छ । भ्रमण वर्ष २०२० स्थगित भएको आधिकारिक घोषणा भएको छैन । विदेशका प्रवद्र्धनात्मक कार्यक्रम पूर्णरूपमा स्थगित भएका छन् भने कोरोना संक्रमणको खतराका कारण आन्तरिक रूपमा समेत कुनै कार्यक्रम आयोजना गर्ने अवस्था छैन । 

अर्थात् पर्यटन मन्त्रालय अहिले कामविहीन जस्तो देखिएको छ । यो समयमा नयाँ योजना बनाउन पर्यटन मन्त्रालय फुर्सदिला जस्तो देखिन्छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो आगामी नीति तथा कार्यक्रममा पर्यटन दशककोे कार्यक्रम समावेश गर्ने योजना बनाएकोे छ । मन्त्रालयको योजनाअनुसार पूर्वाधार, जनशक्ति र सम्पर्क सञ्जाल (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर अबकोे योजना अघि बढाइनेछ । 

आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पर्यटनका लागि १ दशक’को नीति समावेश गरी अघि बढ्ने तयारी थालिएको छ । संघ, प्रदेश र स्थानीय तहसम्मको समन्वय साझेदारीमा यो कार्यक्रम ल्याउने संघीय सरकारको योजना छ । मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तीनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा कार्यक्रम अगाडि बढाइने मन्त्रालयको भनाइ छ । 

संघीय सरकारले प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तीमा एक–एक ओटा रणनीतिक आयोजनाहरू छनोट गर्ने, प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रवद्र्धन र संघीय सरकारले अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा गर्ने गरी रणनीति तय गर्ने तयारी भएको छ । तर, यस्तो तयारी कार्यान्वयनमा कसरी जान्छ त्यसैले मात्रै यसको अर्थ राख्छ ।  दिगो पर्यटन विकासका लागि भौतिक पूर्वाधार पहिलो शर्त हो । भौतिक पूर्वाधार निर्माणमा जोड दिनसके पर्यटन गतिविधि बढ्नेछ । पर्यटकीय पूर्वाधार सुधार, जनशक्ति उत्पादनलगायत काम गर्दै पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ । सरकारले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हालको तीन प्रतिशत योगदानलाई १० प्रतिशत पुर्‍याउने, पर्यटन क्षेत्रमा हरेक वर्ष डेढ लाखदेखि २ लाखसम्म रोजगारी सृजना गर्ने र आगामी १५ औं पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

यस्ता योजना अहिले मात्र बनेको होइन, विगतदेखि नै बनेका हुन् । तर, भौतिक पूर्वाधार निर्माणले गति लिन सकेको छैन । वास्तवमा पर्यटन विकासको योजना कागजमा धेरै बने । २० वर्षे र २५ वर्षे रणनीति यसअघि नबनेका होइनन् । त्यसलाई कार्यान्वयनमा लैजान छाडेर नयाँनयाँ योजना बनाउने रोग नेपालको सरकारी संयन्त्रमा पाइन्छ । योजना बनाउनु, त्यो योजना अनुसार काम नगर्नु अनि फेरि किन काम भएन भनेर अध्ययन गर्नु र फेरि नयाँ योजना बनाउनु नेपालको प्रशासकीय चरित्र नै हो । अहिले पनि पर्यटनमन्त्री यही प्रशासनिक सोचको शिकार भएको प्रमाण दशवर्षे रणनीतिको प्रस्तावले देखाउँछ । त्यसैले नयाँ योजनाको तानाबाना बुन्नुभन्दा यसअघिको रणनीतिलाई कार्यान्वयनमा लैजानु बढी बुद्धिमानी हुनेछ ।

लेखक नेपाल एशोसिएशन अफ टुरर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्