ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुक बिल्डिङबाट धितोपत्रको निष्कासन मूल्य निर्धारण

के उत्पादनमूलक कम्पनी शेयरबजारमा आउलान् ?

२०७६ चैत, १०  
लेख | दृष्टिकोण
NA
author avatar मुक्ति अर्याल

सन् २००२ मा डाबर नेपालले आफ्नो शेयर प्रिमियममा निष्कासन गर्न चाहेको थियो । प्रिमियममा शेयर निष्कासन गर्न नपाएपछि त्यो रोकियो । तर, अब भने उसले प्रिमियममा आफ्नो शेयर निष्कासन गर्न सक्नेछ । धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७४ मा धितोपत्रको सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने व्यवस्था गरेको छ । बुक बिल्डिङलाई मूल्य निर्धारणको एक सफल र चुस्त तरीका मानिन्छ । तर, नेपालको परिप्रेक्ष्यमा यो नयाँ अवधारणा हो । 

धितोपत्र निष्कासनमा बुक बिल्डिङ विधिको व्यवस्था भएपश्चात् डाबर नेपाल, सूर्य नेपाल, एनसेल, भाटभटेनीजस्ता कम्पनीलाई आफ्नो शेयर प्रिमियममा जारी गर्ने बाटो खुलेको छ ।

बुक बिल्डिङ धितोपत्रको सार्वजनिक निष्कासनमा मूल्य पत्ता लगाउने तरीका हो । यसमा सम्भावित लगानीकर्तालाई निष्कासन मूल्यको दायरा दिइन्छ र उनीहरूले किन्न चाहेको मूल्य र संख्यामा शेयरको विवरण मागिन्छ । यही विवरणका आधारमा धितोपत्रको अन्तिम मूल्य तय गरिन्छ । 

बुक बिल्डिङ विधिमा धितोपत्रको मूल्यांकन महत्त्वपूर्ण हुन्छ । यसको कारण हो, अन्डरराइटिङ । यो विधिबाट निष्कासन गरिने धितोपत्रमा अन्डरराइटिङ आवश्यक हुन्छ र अन्डरराइटिङ अंकित मूल्यमा नभई निष्कासन मूल्यमा हुनेहुँदा धितोपत्रको मूल्यांकन सही र दुरुस्त हुनु आवश्यक छ । निष्कासन पूर्ण विक्री नभए बाँकी शेयर अन्डरराइटरहरूले किन्नुपर्ने जोखिमका कारण बुक बिल्डिङअन्तर्गत अन्डरराइटिङ शुल्क बढेर जान्छ । 

बुक बिल्डिङ प्रक्रियाको पहिलो कार्य लिड अन्डरराइटरको नियुक्ति हो । शेयर निष्कासनको व्यवस्थापन र अन्डरराटिङ गर्ने संस्थालाई नेपालमा निष्कासन प्रबन्धक र अन्तरराष्ट्रिय अभ्यासमा लिड अन्डरराइटर (वा लिड म्यानेजर) भनिन्छ । बुक बिल्डिङको कार्य गर्नेलाई बुक–रनर भनिन्छ । 

निष्कासन गरिने धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउन कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड अन्डरराइटरका रूपमा छनोट गरिन्छ । उसले निष्कासन कम्पनीलाई विवरणपत्रलगायत अन्य कानूनी कागजात बनाउन सल्लाह र सहयोग दिन्छ । उसले नै निष्कासन गरिने शेयरको वित्तीय मूल्यांकन गर्ने, निष्कासन रकमको आकार र मूल्यको दायरा निष्कासन कम्पनीलाई प्रस्ताव गर्छ । निष्कासनमा कबोल गर्न सकिने न्यूनतम मूल्यलाई फ्लोर प्राइस र अधिकतम मूल्यलाई सिलिङ प्राइस भनिन्छ । 

लिड अन्डरराइटरले सम्भावित लगानीकर्ताबाट उनीहरूले किन्न चाहेको शेयर संख्या र तिर्न चाहेको मूल्यको विवरण संकलन गर्छ । सम्भावित लगानीकर्ताले निष्कासन मूल्यको दायराभित्र रहेर मात्र शेयरको माग गर्नुपर्छ । यो कार्य गर्दा लिड अन्डरराइटरले सम्भावित ठूला लगानीकर्तासँग सम्पर्क गरी निष्कासन गर्न लागिएको धितोपत्रका बारेमा बताउँछ निष्कासनबारे उनीहरूको राय लिन्छ ।

निष्कासन मूल्यको निर्धारणका लागि सम्भावित लगानीकर्ताबाट माग गरिएको शेयर संख्या र मूल्यलाई तालिका बनाएर विश्लेषण गरिन्छ । भारित औसत मूल्य गणना विधिको प्रयोगद्वारा निष्कासनको मूल्य निर्धारण गरिन्छ । यही निष्कासन मूल्यलाई कट अफ प्राइस भनिन्छ । बुक बिल्डिङ विधिको मुख्य प्रयोजन नै यही मूल्य पत्ता लगाउनु हो ।

मूल्य निर्धारणपश्चात् लिड अन्डरराइटरले पारदर्शिताका लागि लगानीकर्ताले किन्न चाहेको शेयर संख्या र तिर्न चाहेको मूल्यको विवरण सार्वजनिक प्रकाशन गर्नुपर्छ । 

अन्त्यमा लगानीकर्ताहरूलाई उनीहरूको माग अनुसारको अनुपातमा अन्तिम निष्कासन मूल्यको दरले शेयरको बाँडफाँट गरिन्छ । नयाँ व्यवस्थाअनुसार अब निष्कासन कार्य ३० दिनबाट १५ दिनमा सक्नुपर्नेछ । अन्तरराष्ट्रिय अभ्यासमा भने यो कार्य ३ दिनमा गर्नुपर्ने हुन्छ । यस विधिको प्रयोगमा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा रहेको बाँडफाँट व्यवस्था निष्क्रिय हुन्छ । सर्वसाधारणलाई यसको जानकारी विवरणपत्रमार्फत दिनुपर्छ । 

माथिको प्रक्रियालाई एक उदाहरणबाट हेरौं : मानौं बैंक अफ नेपाल नामको बैंकले रू. १०० अंकित दरका १ अर्ब कित्ता शेयरको ३० प्रतिशतले हुने ३० करोड कित्ता शेयर सर्वसाधारण लगानिकर्ताका लागि सार्वजनिक निष्कासन गर्न चाहन्छ । यसका लागि उसले इन्भेस्टमेन्ट बैंक अफ नेपाललाई लिड अन्डरराइटर नियुक्त गर्छ । बैंक अफ नेपाललाइ लिड अन्डरराइटरले वित्तीय मूल्यांकनको आधारमा निष्कासन मूल्यको दायरा सुझाव गर्छ । बोलकबोल गर्न सकिने निष्कासन मूल्यको यो दायरा लिड अन्डरराइटरले निकालेको मूल्यांकन रकमको आसपास हुन्छ । मानौं बैंक अफ नेपालको प्रतिशेयर वित्तीय मूल्यांकन २०० हुन आउँछ भने निष्कासन मूल्यको दायरा १५– २० प्रतिशतले बढाएर २०० देखि २२० राख्न सकिन्छ । यो दायरामा २०० न्यूनतम आधार मूल्य (फ्लोर प्राइस) र २२० अधिकतम मूल्य (सिलिङ प्राइस) हुन्छ । यो दायरा बाहिर गएर कसैले शेयरको माग गर्न सक्दैन ।

यो निष्कासनमा लगानीकर्ताबाट २०० मा १५ करोड कित्ता, २०५ मा १२ करोड कित्ता, २१० मा १० करोड कित्ता, २१५ मा ८ करोड कित्ता र २२० मा ५ करोड कित्ता गरी कुल ५० करोड कित्ता शेयरका लागि आवेदन परेको छ । आवेदनको आधारमा बुक रनर इन्भेस्टमेन्ट बैंक अफ नेपालले भारित औसत मूल्य निकाल्छ, जुन करीब २०८ हुन आउँछ । यसरी धितोपत्रको अन्तिम निष्कासन मूल्य पत्ता लगाइन्छ । 

यो नै प्रत्येक आवेदकका लागि अन्तिम निष्कासन मूल्य हो । निष्कासन मूल्य २०८ भन्दा धेरैमा आवेदन गर्ने लगानीकर्ताले बढी रकम फिर्ता पाउँछन् भने कममा आवेदन गर्ने लगानीकर्ताले थप रकम जम्मा गर्नुपर्ने हुन्छ । तर, निष्कासन मूल्य २०८ भन्दा कममा आवेदन गर्ने लगानीकर्ताले बढी मूल्यमा शेयरको किन्न बाध्य हुँदैनन् । आवेदक लगानीकर्तालाई उनीहरूको मागअनुसारको अनुपातमा प्रतिशेयर २०८ का दरले शेयर बाँडफाँट गरिन्छ । अन्तरराष्ट्रिय अभ्यासमा बुक बिल्डिङबाहेक अन्य विधिबाट पनि धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ । निश्चित मूल्य विधिमा वित्तीय मूल्यांकनका विभिन्न विधि प्रयोग गरेर शेयरको फरकफरक वित्तीय मूल्यांकन गरिन्छ र औसत निकालिन्छ । औसत मूल्यमा १०–१५ प्रतिशत कम गरेर निष्कासन मूल्य निर्धारण गरिन्छ । यसको कारण संस्थागत लगानीकर्तालाई आकर्षित गर्नु हो । यसमा निष्कासन मूल्य स्थिर (निश्चित) रहन्छ र सोही मूल्यमा लगानीकर्ताबाट आवेदन माग गरिन्छ ।

लीलामी विधिमा शेयरको वित्तीय मूल्यांकन गरिएको रकमको आसपास कुनै एक मूल्य दिइन्छ र लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्यमा शेयरको माग गर्नुपर्छ ।डाइरेक्ट लिस्टिङ विधिमा निष्कासन गरिने सम्पूर्ण शेयरहरू सर्वप्रथम स्टक एक्सचेन्जमा लिस्टिङ गरिन्छ । लगानीकर्ताले आफूले चाहेको संख्यामा सीधै स्टक एक्सचेन्जबाट बजार मूल्यमा शेयर किन्नुपर्छ । 

निष्कासन मूल्य निर्धारणका लागि सम्भावित लगानीकर्ताबाट माग गरिएको शेयर संख्या र मूल्यलाई तालिका बनाएर विश्लेषण गरिन्छ । भारित औसत मूल्य गणना विधिको प्रयोगद्वारा निष्कासनको मूल्य निर्धारण गरिन्छ ।

अमेरिका, यूरोपलगायत देशमा लिड अन्डरराइटरलाइ धितोपत्र निष्कासनमा धेरै लचकता हुन्छ तर काम गर्ने प्रक्रिया भने सार्वजनिक गर्नुपर्छ । लिड अन्डरराइटरले कम्पनीले निष्कासन गर्ने सम्पूर्ण शेयरहरू किनी आफ्नो तजबिजले निष्कासन मूल्य राखी अन्डरराइटिग गराउँछ र आफूले चाहेका लगानीकर्तालाई विक्री गर्न सक्छ । यसलाई किनिएको कारोबार भनिन्छ । ग्र्रीन सु अप्शनको व्यवस्था भएको खण्डमा १५–२० प्रतिशतले अतिरिक्त शेयर विक्री गर्न सकिन्छ । यसमा लिड अन्डरराइटरलाई बाँडफाँटको सम्पूर्ण अधिकार हुन्छ । निष्कासन कम्पनीको सहमतिमा उसले निष्कासन मूल्यको दायरा परिवर्तन गर्नसक्छ । लगानीकर्ताले पनि बाँडफाँट हुनु पहिले आफ्नो मागमा परिवर्तन गर्न सक्छन् । बाँडफाँटपश्चात् शेयर नकिन्न पनि सक्छन् ।धितोपत्र निष्कासनमा बुक बिल्डिङ विधिको व्यवस्था भएपश्चात् डाबर नेपाल, सूर्य नेपाल, एनसेल, भाटभटेनीजस्ता कम्पनीलाई आफ्नो शेयर प्रिमियममा जारी गर्ने बाटो खुलेको छ । पब्लिकमा जान चाहने कम्पनीहरूले यो व्यवस्थाको राम्रो लाभ लिन सक्छन् । यसले कम्पनीहरूलाई अतिरिक्त पूँजी (शेयर प्रिमियम) दिनेछ, जसले गर्दा उनीहरूको कर्जा घट्न गई ब्याजको दबाब कम हुन्छ र शेयरधनीहरूलाई छिटो प्रतिफल प्राप्त हुन सक्छ । ऋण कम हुन जाँदा ऋणीहरूका लागि जोखिम पनि कम हुनेछ । पूँजीबजारले पनि यसको फाइदा लिनसक्नेछ । लगानीकर्ताको लागी लगानी र विविधीकरणको अवसर हुनेछ । पूँजीको परिचालन र बजारको विस्तार भनेको यही हो । 

बुक बिल्डिङ मूल्य निर्धारणको सक्षम र उपयुक्त विधि हो । यो विधिअन्तर्गत निष्कासन कम्पनी आफ्नो धितोपत्रको मूल्य निर्धारणमा स्वतन्त्र हुन्छ । धितोपत्र बोर्ड जस्तो नियमन निकायले यस विधिअन्तर्गत मूल्य निर्धारण र शेयर बाँडफाँटमा कुनै अंकुश लगाउनु हुँदैन । त्यसो गरिएमा यो विधिले प्रभावकारी परिणाम दिन सक्दैन ।

(विगतमा १ दशकसम्म नेपाली पूँजी बजारमा कार्यरत अर्याल हाल अमेरिकी पूँजी बजारसँग सम्बद्ध छन् ।)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्