ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लघुवित्त संस्थाको नयाँ कर्जा प्रवाह स्थगित 

२०७६ चैत, १०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले कोरोना भाइरस संक्रमणका कारण संस्थामा भीड कम गर्ने उद्देश्यले परिस्थिति सुधार नहुन्जेल नयाँ कर्जा प्रवाह नगर्ने भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले गरेको निर्णयअनुसार कोरोना भाइरस संक्रमण फैलन नदिन सतर्कताका लागि नयाँ कर्जा प्रवाह स्थगित गरेको हो ।

संघको बैठकले नयाँ कर्जाको आवेदन नलिने निर्णय गरे पनि यसअघि प्रतिबद्धता गरिसकेको कर्जा भने प्रवाह गरिने संघका अध्यक्ष वसन्तराज लम्साल बताउँछन् । अध्यक्ष लम्सालका अनुसार बचत संकलन तथा बचत फिर्ता र कर्जा असुली लगायत सेवा भने यथावत् सञ्चालन हुनेछन् । ‘परिस्थितिमा सुधार नआउन्जेलसम्म पहिले प्रतिबद्धता व्यक्त गरिसकिएको कर्जाबाहेक नयाँ कर्जा लगानी स्थगन गर्न भनेका छौं । व्यवसाय प्रवर्द्धनात्मक क्रियाकलाप नगर्न तथा सदस्यहरूको भेला हुने कुनै पनि कार्य नगर्न सबै लघुवित्त वित्तीय संस्थाहरूलाई अनुरोध गरेका छौं,’ उनले भने । 

यसैगरी, संघले समूह तथा केन्द्रको बैठक हुने स्थान वा कार्यालय परिसरमा सावधानी अपनाउन आग्रह गरेको छ । संघले भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सामाजिक/भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने तथा मास्कको प्रयोग गर्ने लगायत सावधानी अपनाउन सुझाव दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्