arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उखु किसानलाई राहत देऊ

२०७६ पौष, १८  
पाठक विचार
NA


उखुको पैसा भुक्तानी नपाएर पीडित किसानहरू यतिबेला राजधानीमा आँसु बगाउँदै छन् । तर, सरकारले उनीहरूको पीडालाई सुनेको छैन । त्यही भएर केही युवाले किसानका पक्षमा प्रदर्शनसमेत गरेका छन् । किसानको विवशतापूर्ण अवस्था देखेर सरकारप्रति निकै आक्रोश उठेको छ । तर, शक्तिवालाहरूसँग साँठगाँठ गर्ने सरकारले उनीहरूलाई फेरि छक्याउने सम्भावना छ । 

सरकारले उखु किसानका आँखाको आँसु तत्काल पुछ्नुपर्छ । किसानको मेहनतको पैसा कसैले पनि कुम्ल्याउन पाउँदैन । आफ्ना कार्यकर्ता पोस्न जति पनि रकम खर्च गर्न सक्ने सरकारले किसानको पसिनाको मूल्यसमेत नदिनु लज्जाको विषय हो । उद्यमीको जिम्मेवारी हो भनेर सरकार पन्छिन मिल्दैन । किसानका पीडा सुन्दा यो मानवीय समस्या नै हो भन्ने देखिन्छ । उद्योगीहरूलाई कारबाही अन्य जे गर्ने हो त्यो थाती राखेर तत्काल किसानलाई राहत दिनुपर्छ । किसानहरूले भीख मागेका होइनन्, आफ्नो पसिनाको मूल्य मागेका हुन् । न्याय मागेका हुन् । तर, मजदूरको र किसानको पक्षमा लड्ने भनेर मत पाएर बनेको सरकार उनीहरूको पीडाप्रति पग्लिएको देखिएन । 

ऋण गरेर उखुखेती गरेका किसानहरू अहिले मर्नु न बाँच्नुको दोसाँधमा परेका छन् । उखु किसानले यो वर्षमात्र यस्ता समस्या भोग्नुपरेको होइन । हरेक वर्ष उखु काट्ने समयमा यस्तै समस्या आउने गर्छ । उखु किसानका नाममा खुलेका संगठनले पनि किसानको समस्यामा चासो दिएको पाइँदैन । किसानको नेता भन्नेहरू जब राजनीतिक दलका नेता वा कार्यकर्ता बन्छन् तिनले किसानको हित गर्दैनन् । कुनै पदका लागि मोलमोलाई मात्रै गर्छन् भन्ने अहिले प्रमाणित भएको छ । 

भारतमा किसानहरूले आत्महत्या गरेको समाचार आउँथ्यो । अब नेपालमा पनि यस्तै समस्या नआउला भन्न सकिँदैन । समाजवादको कुरा गरेर नथाक्ने सैद्धान्तिक कुरा गरेर आफूलाई महान् देखाउने नेताहरूले वास्तविक समस्यामा भने मुखै नखोल्नु गम्भीर समस्या हो । त्यसैले किसानलाई फस्ल्याङफुस्सुलुङ पारेर सधैं दुःख दिइरहने नीति अब लिइनु हुँदैन । 

दिनेश त्रिपाठी, नयाँ बानेश्वर, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्