ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यकामा ग्यास वितरण सहज

२०७६ चैत, १०  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एलपी ग्यास उद्योग संघले आइतवारदेखि विशेष डिलरमार्फत काठमाडौं उपत्यकामा ग्यास विक्रीवितरण थालेको छ । काठमाडौं उपत्यकाबाहिर पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेकाले त्यहाँ पनि विशेष डिलरमार्फत ग्यास वितरण गरिने एलपी ग्यास उद्योग संघले बताएको छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं उपत्यकाका २२ ओटा उद्योगले अतिरिक्त विक्री केन्द्र स्थापना गरी विक्री वितरण शुरू गरिएको हो । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सहज रूपमा वितरण गरिएको उनले बताए । बजारको स्थिति हेरेर ३ / ४ दिनसम्म यसरी नै विक्री गरिने उनले जानकारी दिए ।

‘हाल काठमाडौं उपत्यकाभित्र ग्यासको माग बढी भएको हुँदा हामीले विशेष डिलरमार्फत विक्री शुरू गरेका हौं । तराईका जिल्लाहरूमा समेत ग्यासको अभाव भएका कुराहरू आइरहेका हुनाले उपत्यका बाहिर पनि यही तरिकाले वितरण गर्नेछौं,’ उनले भने ।

नेपाल आयल निगमका निर्देशक दीपक बरालका अनुसार यसरी वितरण गरिएका ठाउँहरूमा ग्यास नपाएर खाली हात कोही पनि फर्कनु परेको छैन । उपत्यका बाहिर पनि अभाव भएको अवस्थामा यही प्रक्रिया अपनाएर ग्यास वितरण गरिने उनले बताए । आइतवार दिनभरिमा २२ ओटा डिलरहरूबाट २५ सय सिलिण्डर विक्री गरिएको छ । यो खासै ठूलो परिणाम नभएकाले बाहिर हल्ला भएजति अभाव नभएको उनले दाबी गरे । ग्यासको माग बढेका कारण आयल निगमले थप १५ हजार टन ग्यास माग गरेको बताएको छ ।

आइतवार विक्री गरिएका डिपोहरूमा लाइनमा बसेजति सबैले सहज रूपमा ग्यास पाएको बताइएको छ । बीएमसी कर्नर बालाजुका सञ्चालक सुरेन्द्र श्रेष्ठका अनुसार लाइनमा बसेजति सबै उपभोक्ताले ग्यास पाएका छन् । एक व्यक्तिलाई एउटा सिलिन्डर ग्यास वितरण गरिएको उनले बताए । यसरी खोलिएका विशेष डिलरहरूबाट आफूहरूले सहज रूपमा ग्यास पाएको अनाम नगर स्टोर अनाम नगरमा ग्यास किन्न आएका कृष्ण श्रेष्ठले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्