ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हवाई भाडा घट्यो

२०७६ चैत, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल सरकारको अनुरोधपछि नेपाली वायुसेवा कम्पनीहरूले आन्तरिक ट्रंक रूटको अधिकतम सीमाको हवाई भाडादर ४० प्रतिशतसम्मले घटाएका छन् । आइतवार बिहान सम्पन्न वायुसेवा सञ्चालक संघको बैठकको निर्णयअनुसार कम्पनीहरूले अधिकतम सीमाको भाडादर घटाएका हुन् । 

आइतवारसम्म बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्सले हवाई भाडाको अधिकतम सीमा घटाएका छन् । बुद्ध एयर र यती एयरलाइन्सले आइतवार सूचना जारी गर्दै काठमाडौंदेखि पोखरा, विराटनगरलगायत गन्तव्यको अधिकतम भाडादर घटाएको जानकारी दिएका छन् । 

श्री एयरलाइन्सले भने शनिवार नै सूचना जारी गर्दै भाडादर घटाएको हो । कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिलाई दृष्टिगत गर्दै हवाई भाडा घटाइएको उनीहरूको भनाइ छ ।

कोरोना भाइरसको बढ्दो प्रकोपलाई लक्षित गर्दै सरकारले चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी यातायातमा रोक लगाएको छ । सार्वजनिक यातायात रोकिएपछि घर फर्कने एक मात्र माध्यम नै हवाई यात्रा भएको छ । वायुसेवा कम्पनीहरूले सोही अवस्थालाई दृष्टिगत गर्दै सार्वजनिक यातायात बन्द हुने अवधि अर्थात् चैत २१ गतेसम्मका लागि भडामा छूट दिने भएका हुन् ।

कोरोना भाइरसका कारण यात्रु घटेर घाटा भएको अवस्थामा पनि सरकारले कुनै राहत नदिएको वायुसेवा कम्पनीहरूको गुनासो छ ।  कम्पनीको कुल खर्चमा ४० प्रतिशत खर्च हवाई इन्धनमै हुने बताउँदै बुद्ध एयरले विज्ञप्तिमार्फत आपत्ति व्यक्त गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनमा चर्काे मुनाफा नलिई विक्री गरेमा हवाई भाडा घट्न सक्ने बुद्ध एयरको भनाइ छ । 

कोरोनाका कारण विदेशी पर्यटक नआउँदा यात्रु घटेपछि वायुसेवा कम्पनीहरूले केही दिन अगाडिसम्म हवाई भाडा सस्तो बनाएका थिए । अहिले कोरोनाको त्रासले काठमाडौंबाट फर्किने यात्रुको संख्या बढ्दै गएको छ । सरकारले सोमवारदेखि लामो दूरीको सार्वजनिक यातायातमा रोक लगाएपछि हवाई यात्रुको चाप बढ्दा कम्पनीहरूले पुरानै भाडादर लिन शुरू गरेका थिए । 

अकस्मात् हवाई भाडा बढाएपछि चौतर्फी विरोध भएका थियोे । त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिवार वायुसेवा सञ्चालकहरूलाई हवाई भाडाको अधिकतम सीमा घटाउन अनुरोध गरेका थिए । शनिवारको उक्त छलफलमा हवाई भाडा पुनर्विचार गर्न प्रतिबद्धता व्यक्त गरेका सञ्चालकहरूले आइतवार नै यस्तो निर्णय गरेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्