ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जोखिम बढेपछि सौराहाका होटल बन्द  

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पनि रोक        

२०७६ चैत, १०  
वाग्मती प्रदेश
Image Not Found

चैत १०, चितवन । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् ।     
     
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको उनले जानकारी दिए ।     

पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । सो भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।     

यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुंगा शयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । उनले सो भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए । 

सौराहाको थारु सांस्कृतिक संग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्