ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राहुघाट जलविद्युत् आयोजनाको भवन निर्माण गर्न ९ वर्ष लागेपछि.....

२०७६ चैत, १०  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, म्याग्दी । म्याग्दीमा निर्माणाधीन एउटा जलविद्युत् आयोजनाको कार्यालय भवन निर्माण गर्न नै नौ वर्ष लागेको छ । कार्यालय भवन निर्माण गर्न नौ वर्ष लागेपछि जलविद्युत् आयोजनाको  सम्पूर्ण  निर्माण कार्य सम्पन्न हुन कति वर्ष लाग्ला भनेर जिल्लामा आलोचना हुन थालेको छ ।

स्थानीय रघुगंगा गाउँपालिका –३ पिप्लेमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाकोे कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० ओटा भवन निर्माण शुरु गरेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरेको हो । 

गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग विसं २०६७ कात्तिक ४ गते रू.११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो । १८ महीनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई ओटा कम्पनीको आन्तरिक द्वन्द्वले ढिलासुस्ति भएपछि विसं २०७५ कात्तिक ९ गते रद्द गरेको थियो ।

निर्माण कम्पनीले अधकल्चो बनाएर छोडेको भवन सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पुरा गरिएको रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए ।

रू.१ करोड २७ लाखमा सम्झौता गरेको जम्बुदिप कन्ट्रक्सनले तीन ओटा र रू.७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुई ओटा भवन सकेर हस्तान्तरण गरेका हुन् । जम्बुदिपले लक्ष्य भन्दा एक महीना अघिनै काम सकेको थियो । रू.१ करोड ३५ लाख लागतमा १÷१ तले दुई ओटा स्टोर र क्यान्टीन भवन निर्माणको ठेक्का मूल्यांकनको चरणमा रहेको उनले बताए ।

भवन निर्माणमा ढिलाई हुदाँ रघुगंगा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौबाट सञ्चालन गरिएको थियो । आयोजनाको सुरुङ, विद्युतगृह र बाँध निर्माणको काम तिब्र गतिमा अघि बढेको छ ।

विसं २०७४ मंसिर ५ गते रू.६ अर्बमा सम्झौता गरेको भारतीय जेपी एसोशियट्सले सिभिल निर्माणको कामलाई तिब्रताका साथ अघि बढाएको बताएको छ । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महीनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ । ठेक्का अवधि ४५ महीना रहेको छ ।

घुमाउनेताल देखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ । पहुँचमार्गमा नाली र पर्खाल निर्माण भइरहेको छ । बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगंगा नदीमाथि बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पिप्लेको तिल्केनीचौरमा विद्युतगृह बन्नेछ । अधेरीखोलाको अडिट २ को ३०० मिटर सुरुङ खनिसकिएको छ । 

अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने उक्त आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित विसं २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए ) गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्