ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्ज महानगरका विद्यालयमा क्वारेन्टाइन बनाइने

२०७६ चैत, ११  
प्रदेश ०२
NA

वीरगञ्ज (अस) । पर्साको वीरगञ्ज महानगरपालिकाले प्रदान गर्दै आएको सेवा २ हप्ताका लागि बन्द गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मंगलवारदेखि अत्यावश्यक  बाहेकका सबै सेवा बन्द गरिएको महानगरको सूचनामा उल्लेख छ । 

यसैबीच कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयलाई क्वारेन्टाइनका  रूपमा प्रयोग गरिने भएको छ । महानगरले सोमवार नै सूचना निकालेर संक्रमण फैलिएमा शंकास्पद बिरामीको उपचारका लागि विद्यालय भवन उपयोग गरिने बताएको हो ।

माध्यमिक स्तरका विद्यालयमा यस्तो पूर्वाधार राख्ने तयारी महानगरले गरेको हो । वीरगञ्जमा यस्ता १८ ओटा सामुदायिक र ५९ ओटा संस्थागत विद्यालय रहेको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । ‘जुनसुकै बेला त्यस्ता भवन प्रयोगमा ल्याउनुपर्नेे हुनाले नगर क्षेत्रका विद्यालय तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,’ राउतले भने । विद्यालयलाई क्वारेन्टाइन वार्डको रूपमा प्रयोगमा ल्याउन मिल्ने गरी तयार राख्न र सम्पर्कमा रहन विद्यालयका प्राधानाध्यापकलाई सूचित गरिएको महानगरले बताएको छ । 

यस्तै, वीरगञ्ज नगर क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका पसल र व्यवसाय बन्द गर्न वीरगञ्ज महानगरले अपील गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखीमलाई ध्यानमा राखेर महानगरले सोमवार यस्तो अपील गरेको नगर प्रमुख विजयकुमार सरावगीले बताए । 

औषधि, किराना, दूध, तरकारी र फफूल पसलबाहेकका व्यवसाय बन्द गर्न भनिएको छ । ‘यस्ता पसलमा पालैपालो खरीद विक्रीको व्यवस्था मिलाउन र ग्राहकको भीड नगर्न पनि सूचित गरिएको छ,’ प्रमुख विजयकुमार सरावगीले भने । 

दूध बोक्ने ढुवानीका साधन, दमकल, एम्बुलेन्स र अस्पताल सेवाबाहेकका अन्य सवारी र ढुवानीका साधन सञ्चालन नगर्न पनि महानगरले अनुरोध गरेको छ ।

महानगरले ३ जनाभन्दा बढी मानिस भेला नहुन भनेको छ । अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न महानगरले सूचित गरेको छ । आ–आफ्नो घरमा बस्न अनुरोध गर्दै अत्यावश्कीय काम परेमा घरबाट एकजनामात्र बाहिर निस्किन महानगरको आग्रह छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्