ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनकुटामा क्वारेन्टाइन र हेल्प डेस्क स्थापना गरिँदै

२०७६ चैत, ११  
प्रदेश ०१
Image Not Found

ईश्वर थापा

धनकुटा । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम रोक्न पूर्वतयारीस्वरूप धनकुटामा क्वारेन्टाइन स्थापना गरिने भएको छ । धनकुटा नगरपालिका–६ अमलेटारस्थित औद्योगिक ग्रामलाई क्वारेन्टाइन बनाइने भएको हो । वर्षौंदेखि खाली रहेको उक्त ग्राममा क्वारेन्टाइन राख्न दैवी प्रकोप उद्धार समिति व्यवस्थापनको तयारीमा जुटेको छ । 

सरकारी तथा गैरसरकारी सरोकारवाला निकायको समन्वयमा क्वारेन्टाइन स्थापना गरिने बताइएको छ । क्वारेन्टाइनमा तत्काल १५ जनासम्म बिरामीलाई राख्ने व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए ।

‘संक्रमणको जोखिम उच्च भएकाले खाली रहेको औद्योगिक ग्रामलाई क्वारेन्टाइन बनाइने निर्णय गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी बिमलीले भने, ‘संक्रमणकालीन अवस्थामा कोही बिरामी भए वा संक्रमित भए, तत्काललाई त्यहीँ राखिनेछ, पछि संख्या बढे अन्यत्र व्यावस्थापन गर्नेछौं ।’ धनकुटा प्रवेशको मुख्य नाका भेडेटारमा पहिलो चरणमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गरिने भएको छ । बजारमा ‘फिंगर गन’को अभाव भएकाले स्यानिटाइजर मात्रै राखेर भए पनि हेल्प डेस्क राखिने उनले बताए । पहिलो चरणमा धनकुटाको प्रमुख नाका भेडेटारमा हेल्प डेस्क स्थापना गर्ने र सातैओटा तहका नाकामा क्रमशः स्थापना गर्दै जाने तयारी थालिएको उनले जानकारी दिए ।

यस्तै रोगको त्रास व्यापक भइरहेको बेला उपभोग्य वस्तुमा व्यापारीबाट हुन सक्ने ठगी रोक्न अनुगमन तीव्र बनाइने प्रमुख जिल्ला अधिकारी बिमलीले बताए । ‘कोरोना संक्रमणबाट सम्भावित जोखिमको बहानामा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव हुन नदिन बजार अनुगमन चुस्ता पारिनेछ,’ उनले भने । जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा बजारमा औषधि तथा दैनिक उपभोग्य सामग्रीको अवस्थाबारे तथ्यांक लिन शुरू गरेको जानकारी उनले दिए ।

यसैबीच, कोभिड–१९ को बिरामीको आएमा उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस जोखिमप्रति उच्च सतर्कता अपनाउने क्रममा आइसोलेसन वार्ड स्थापना गरिएको हो । जिल्लामा शंकास्पद बिरामी पाइएमा प्रारम्भिक जाँचका लागि आइसोलसन वार्डमा राख्न जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्मा बताए । जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमण भएको बिरामी फेला परेका छैनन् । अस्पतालमा रहेका आल्मुनियमका बेडहरूलाई प्रयोगमा ल्याएर आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको उनले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्