ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना त्रासले व्यापार चौपट

२०७६ चैत, ११  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । कोरोना त्रासले कर्णली प्रदेशको राजधानी सुर्खेत बजार क्षेत्रको व्यापार, व्यवसाय धराशयी हुँदै गएको छ । कोरोनाकै कारण पछिल्लो १ महीनायता जिल्लाको व्यापार व्यवसाय चौपट भएको व्यवसायी बताउँछन् । भाइरस संक्रमणको डरले सर्वसाधारणको चहलपहल घटेसँगै व्यापार, व्यवसायमा मन्दी आएको व्यवसायीको भनाइ छ । 

कोरोना सर्ने डरले सर्वसाधारण बजारमा ननिस्किँदा होटल, कपडा, सुनचाँदी, अटो लगायत व्यवसायमा प्रत्यक्ष असर पुगेको छ । कोरानाले विश्वव्यापी महामारीको रूप लिएसँगै बजारमा मान्छेको चहलपहल कम हुँदा व्यवसायमा मन्दी छाएको वीरेन्द्रनगरको बडुवाल खाजाघरका सञ्चालक भगत बडुवालले बताए । ‘यो भाइरस अहिले विश्वव्यापी रूपमा फैलिँदा यसको प्रत्यक्ष असर व्यापारीलाई परेको छ,’ उनले भने, ‘व्यापार घट्दा घरभाडा तिर्नसमेत मुश्किल हुन थालेको छ ।’

अहिले सुर्खेतमा भारत तथा चीन लगायतका मुलुकबाट प्रायः विभिन्न आवश्यक माल, सामग्री आउने गरेको व्यवसायी बताउँछन् । पछिल्लो १ महीना यता कोरोना त्रासले कपडा व्यवसाय घटेको फुटपाथ कपडा व्यवसायी नन्दलाल अधिकारीले बताए । उनले कोरोनाको त्रासमा सर्वसाधारणको आवातजावत कम हुँदा व्यापारीले घाटा बेहोर्नु परिरहेको जनाए । ‘बैंकको ब्याज सम्झेर बिहानै व्यापारमा आयो दिनभरी ५०० को व्यापार मुश्किलले हुने गरेको छ,’ उनले भने, ‘घर भाडा, बैंकको ब्याज यो महीनाबाट तिर्न मुश्किल नै पर्ने भयो । सरकारले व्यापारीलाई यस्तो अवस्थामा केही राहत दिनुपर्छ ।’ 

यता सरकारले आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरे सँगै बजार सुनसान हुने गरेका छ । कोरानाको कारण होटल व्यवसायी पनि मारमा परेका छन् । वीरेन्द्रनगरमा रहेका अधिकांस होटल धरासयी नै भइसकेको होटल व्यवसायी महासंघ, कर्णाली प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले बताए । ‘ठूलो लगानीमा खोलिएका होटलहरूको त झनै बिजोग भएको छ । सरकारले कम्तीमा कोरोनाको महामारी रहुन्जेल बैंकको ब्याज मिनाहा गरिदिए व्यवसायीलाई केही राहत हुन्छ,’ उनले भने, ‘बाह्रै महीना पाहुनासँगै कार्यक्रमले भरिभराउ हुने वीरेन्द्रनगरका होटलहरू यति बेला कोरोना भाइरसको डरले सुनसान छन् । रारा जाने पर्यटकीय सिजन शुरु हुँदा पनि होटलमा बुकिङ नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।’  सिजनमै पाहुना आगमनको कमीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिनाइ भइरहेको उनको भनाइ छ । 

होटलमा कार्यक्रम एवं पाहुना कम हुन थालेपछि व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । होटलमा १५ देखि २० प्रतिशत पाहुना आउन थालेपछि चैत १ गतेदेखि लागू हुने गरी कर्मचारीलाई तलबी तथा बेतलबी बिदा दिई घर पठाएको सिद्धार्थ शनी रिसोर्टका प्रबन्धक प्रदीप न्यौपानेले जानकारी दिए । कोरोना भाइरसका कारण होटलमा पाहुुना आउन छाडेपछि कर्मचारीको काम नहुने भएकाले कर्मचारीलाई बिदा दिनु परेको बताए । उनका अनुसार देशैभर शाखा सञ्जाल रहेको सिद्धार्थ शनी रिसोर्टले आफ्ना १० जना कर्मचारीलाई बेतलबी बिदा दिएको छ । कर्णाली सरकारले विदेशी पर्यटक मात्र १ लाख भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरेको थियो । तर, विडम्बना भ्रमण वर्ष शरू भएको एक÷डेढ महीना पूरा हुन नपाउँदै कोरोना भाइरसको त्रासले कर्णालीको पर्यटन एवं होटल व्यवसाय क्षेत्रमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् । कोरोनाकै त्रासले कर्णालीमा विगत डेढ महीनादेखि पर्यटक आगमनको अवस्था शून्यजस्तै भएको छ । व्यवसायीका अनुसार करीब ८० प्रतिशत होटलका कोठा खाली छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्