ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनलाई नागरिकको साथ

२०७६ चैत, ११  
सम्पादकीय
NA

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । ढिलै भए पनि सरकारको यो निर्णय महत्त्वपूर्ण छ । सीमा नाकाबाट आवतजावत बन्द गर्ने, लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने, कोरोना संक्रमणका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न लगाउनेलगायत निर्णय यसअघि नै भएका छन् । तर, सरकारले गरेका निर्णयहरू पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । 

सरकारी तयारी अपर्याप्त र ढिला भइरहेको देखिन्छ । यस्तोमा लक डाउनलाई प्रभावकारी बनाउन सरकार र नागरिक सबैको समान भूमिका आवश्यक छ ।

सरकारले कोरोना संक्रमण फैलन नदिन तथा संक्रमण भइहालेमा उपचार गर्न केही तयारी शुरू गरेको छ । क्वारेन्टाइन स्थल बनाउनेदेखि कोरोना भाइरस परीक्षण गराउन सहज बनाउनेसम्मका निर्णय भएका छन् । तर, सरकारले हरेक दिन नयाँनयाँ निर्णय गरेसँगै त्यसले अन्योल र भ्रम थपेको अवस्था पनि छ । सीमा नाकाबाट आवतजावत बन्द गर्ने निर्णय गरियो । तर, सीमामा नेपाल भित्रिने नेपालीको संख्या बढेपछि तिनलाई भित्रिन दिने भनियो । अझ, क्वारेन्टाइनमा राख्ने भनियो तर क्वारेन्टाइनबाट भाग्नेलाई के गर्ने सरकारले केही तयारी गर्न सकेन । क्वारेन्टाइनबाट भागेको समाचार आइरहेको छ । यसले सरकारी तयारी अपर्याप्त र ढिला भइरहेको देखिन्छ । यस्तोमा लक डाउनलाई प्रभावकारी बनाउन सरकार र नागरिक सबैको समान भूमिका आवश्यक छ । 

कोरोना संक्रमणको उपचारका लागि अत्यावश्यक उपकरणहरूको अभाव छ भनेर चिकित्सकहरूले बारम्बार भनिरहेका छन् । तर, सरकारले प्रोत्साहन भत्ता थपेर मनोबल बढाउने प्रयास गरेको छ । जबसम्म कोरोना संक्रमण विरुद्धको अभियानमा अग्रपंक्तिमा बस्नेलाई आवश्यक सुरक्षाका उपकरणको बन्दोबस्त गरिँदैन समस्या झनै उग्र हुने निश्चित छ । उपचारमा संलग्न चिकित्सक नै संक्रमित हुँदा त्यसले निम्त्याउने संक्रमण झनै भयावह हुनेछ । अत्यावश्यक परीक्षण कीट, भेन्टिलेटर, पीपीई, उपचारका लागि अन्य देशले प्रयोग गरेका औषधि, मास्क, भाइरस निष्क्रिय पार्न छरिने स्प्रेलगायत वस्तु द्रुत विधिबाट तत्काल मगाउनुपर्ने अवस्था छ । 

त्यसैले सरकारले संक्रमण रोक्न र उपचारका लागि जेजति निर्णय गरेको छ, तिनलाई कार्यान्वयनमा लैजान र अनुगमन गर्न पनि सरकारले भ्याएको देखि“दैन । यसै पनि नेपालको सार्वजनिक प्रशासनका कार्यान्वयन क्षमता कमजोर छ । यस्तोमा प्रत्येक दिन भएका नयाँनयाँ निर्णयअनुसार उसले काम गर्न सक्छ भन्न सकिँदैन । सरकारले कार्यान्वयनका लागि समेत विशेष ध्यान दिनुपर्ने बखत मानिसको आवतजावत रोक्न नै खटिनुपर्ने अवस्था देखिएको छ । नागरिकहरूले सरकारी आग्रह राम्ररी पालना गरिरहेको देखिँदैन । 

कोरोना संक्रमण रोक्न विश्वभरि देखिएको सबैभन्दा प्रभावकारी उपाय भनेको मानिसहरू बीच सम्पर्क हुन नदिने नै हो । यसका लागि मानिसहरूलाई घरभित्रै राखिराख्नुपर्ने हुन्छ । यही प्रयोजनका लागि सरकारले अहिले मानिसका हिँडडुलमा रोक लगाएको हो । अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । अझ विभिन्न शुल्क बुझाउने म्याद गुज्रिएमा जरीवाना नलिने समेत घोषणा गरिएको छ । तैपनि मानिसहरूको आवतजावत रोकिएको छैन । अहिले कतिपय जिल्लाले लक डाउन गरिसकेका छन् । यस्तो अवस्थामा सरकारले पूरै देशलाई नै लक डाउन गर्ने घोषणा गरेको छ । सरकारलाई कोरोनाविरुद्ध काम गर्न दिन नागरिकले पनि उसका निर्णयलाई साथ दिनु आवश्यक छ । त्यसैले लक डाउनलाई सफल पार्न नागरिकले पनि सरकारी आग्रह पालना गर्नुको विकल्प छैन । 

लकडाउन गरिँदा सरकारले आफ्नो ध्यान कोरोना उपचारमा आफूलाई केन्द्रित गर्न भ्याउँछ । अहिले संक्रमण रोक्ने सबैभन्दा ठूलो चुनौती त छँदै छ, साथै अर्थतन्त्रलाई जोगाउन पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ । यस्तोमा सरकारले कडा लक डाउन गर्दा यी दुवै चुनौती सामना गर्न पक्कै केही सहज हुने देखिन्छ । कोरोना संक्रमण रोक्न यही नै उपाय अनिवार्य हो भन्ने निर्विवाद भएकाले लक डाउनको निर्णयलाई नागरिकको साथ जरुरी हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्