ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमण रोक्न निरन्तर अनुगमन

२०७६ चैत, ११  
लेख | दृष्टिकोण
NA
author avatar डा. दिवाकर बशिष्ठ

सरकारले कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत्र ९ देखि १९ गतेसम्म बन्द गर्ने निर्णय गरेको सर्वविदितै छ । सेवा बन्द भए पनि सरकारी कर्मचारी कार्यालय जानुपर्नेछ । नेपाल भित्रिने अन्तरराष्ट्रिय उडान चैत १८ सम्म बन्द गर्ने, लामोदूरीका सवारी सञ्चालनमा रोक, सीमा नाकामा आवतजावत बन्दलगायत केही निर्णय गरेको छ । ढिला भए पनि यी काम सकारात्मक छन् । तर, अनुगमन राम्ररी नहुँदा तीमध्ये धेरै कुरा कागजमा मात्रै सीमित देखिएका छन् । 

बैंकहरूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी सुविधा दिएका छन् जुन निकै सकारात्मक छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुने भनेको छ । तर, यसको पालना कमैले गरेका छन् । उता भारतबाट दैनिक हजारौ संख्यामा नेपालीहरू भित्रिएका छन् । स्वास्थ्य जाँचको लागि मनग्य उपकरण र जनशक्ति उपलब्ध छैन । चेकजाँच गर्न राखिएका स्वस्थ्य उपकरण सुरक्षा गार्डले लिएको मेटल डिटेक्टर जस्तो मात्रै देखिन्छ । भएका उपकरणले राम्रो चेकजाँच गरेको छ छैन र नतीजा सही छ त भन्नेतर्फ पनि अनुगमन भएको छैन । 
 
सबै नेपाली यस भाइरसविरुद्ध एक जुट हुने जमर्को गरिरहँदा आवश्यक स्वास्थ्य उपकरण र क्वारेन्टाइनको भरपर्दो व्यवस्था अझै हुन सकेको छैन । विकसित देशमा उच्च प्रविधि, सरसफाइ, उपयुक्त वातावरण हुँदा पनि नियन्त्रण गर्न हम्मे परेको छ । दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । हाम्रो जस्तो गरीब, स्रोतसाधनको अभाव भएको देशमा संक्रमणले छुन थाल्यो भने अवस्था के होला ?

यसतर्फ सम्बद्ध निकाय र जनता सबै सचेत हुनुपर्ने देखिन्छ । नियमित बैठक र भाषणले मात्र समस्याको समाधान हुँदैन । यसका लागि चालिएका नीतिगत कदमहरूका अक्षरशः पालना गराउन डन्डा चलाउन कतै ढिला त भएन ? 

एकातर्फ अनेकन सामाजिक मिडियाको दुरुपयोग गर्दै छरिएका भ्रम समयमै चिर्न जरुरी छ भने अर्कोतर्फ अनुगमनलाई तीव्रता दिन जरुरी छ । हामी कुरा एउटा गर्छौं, काम अर्कै । यसले जनमानसमा अझै भ्रम पैदा हुन सक्छ । सरकारको कार्यशैली र सरकारप्रति विश्वस्त हुन नसकेका कारण सर्वसाधारणले भोलि समस्या पर्छ कि भनेर अनावश्यक रूपमा उपभोग्य सामानको जोहो गर्ने गरेको देखिन्छ ।

औषधि पसलमा गयो सुगरदेखि अनेकौं रोगका औषधि किन्नेको उतिकै भीड छ । अहिले पनि उपयुक्त मूल्यमा स्यानिटाइजर पाइँदैन । कालोबजारी गरे कडा कारबाही स्वरूप ५ वर्ष जेल र २ लाख जरीवानाका कुरा पनि जोडतोडले सुनिन थालेको छ तर कार्यान्वयन खासै छैन । 

बैक पूरै खुल्ने वा आशिंक भन्ने पनि स्पष्ट छैन । तसर्थ कतै बैंक नै बन्द हुन्छ कि भन्दै विगत केही दिनदेखि नगद निकाल्नेको भीड देखिन्छ । तर, बैंकहरूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी सुविधा दिएका छन् जुन निकै सकारात्मक छ । डिजिटल भुक्तानी निःशुल्क गरिएको छ । जुनसुकै बैकको एटीएमबाट पैसा निकाले पनि शुल्क लाग्दैन । यसले नगदरहित कारोबार बढाउने देखिन्छ । नोटबाट पनि कोरोना सर्न सक्ने भएकाले डिजिटल भुक्तानीका लागि गरिएको पहल स्वागतयोग्य छ । यही मौकामा यसलाई अझ विस्तार गर्नु जरुरी देखिन्छ । 

सरकारले कुराले भन्दा कामले जनतालाई विश्वासमा लिने र सहज आपूर्ति व्यवस्था मिलाउनेतर्फ समयमा नै सोच्नुपर्ने बेला आएको छ ।
 
हामी सबैले संकटको यस घडीमा सरकारको निर्देशन अक्षरशः पालना गर्नुको विकल्प छैन । हुन त नेपालमा अझै कोभिड १९ को लक्षण २ जनाभन्दा बढीमा देखिएको छैन भन्ने सरकारको भनाइ छ तथापि विश्वका सबैजसो मुलुकलाई यसले नछाडेको अवस्थामा नेपाललाई असर गर्दैन भन्नु दिवास्वप्ना हो भन्नुमा अत्युक्ति नहोला । तसर्थ नेपालमा पनि यो समस्या विकराल हुन सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै निम्न व्यवस्था सरकारले तत्काल मिलाउन ढिला भइसकेको छ । कोही व्यक्ति संक्रमित भएको छ छैन यकिन र भरपर्दो तथ्यांक राख्नुपर्छ र जनसाधारणलाई जानकारी गराउनुपर्छ । नेपाल र भारतको सीमाबाट अत्यावश्यक वस्तुको आयात र निर्यातबाहेक सर्वसाधारणलाई आवतजावतमा न्यूनतम २० दिन प्रतिबन्ध लगाउने ढिला भइसकेको छ । मास्क र स्यानिटाइजर सर्वसाधारणले सहजै पाउने वातावरण मिलाउनुपर्छ । हरेक नगरपालिका र गाउँपालिकामा व्यक्तिलाई क्वारेन्टाइन गर्न सक्ने व्यवस्था मिलाउनु ढिला गर्नु हुँदैन । त्यस्तै आइसोलेशनमा राख्न सकिने गरी व्यवस्था पनि गरिनुपर्छ । स्वास्थ्यकर्मीलाई उचित तालीम, उपकरण र अतिरिक्त प्रोत्साहन पनि आवश्यक छ । आवश्यक औषधिको अभाव हुन नदिन तत्काल त्यसको आयात गर्ने प्रक्रिया थालिहाल्नुपर्छ । मुख्य कुरा मानिसहरूलाई भीडभाडमा नहिँड्न र एकान्तमा बस्न अनिवार्य गरिनुपर्छ । सर्वसाधारणलाई अति गम्भीर समस्या नपरी बाहिर निक्लन दिनु हुँदैन । विनाकाम बाहिर निक्लनेलाई कारबाही नै गर्नुपरे पनि सरकार तयार हुनुपर्छ । अहिले सरकारले निषेधावधि (लकडाउन) जस्तै गरे पनि मानिसहरू बेपर्वाह भीड गरिरहेका छन् । सरकार आपैm भीडभाडयुक्त कार्यक्रम गरिरहेको छ । त्यसैले कोरोना संक्रमणबाट बच्न हाम्रो तयारी पर्याप्त देखिएको छैन । 

विज्ञहरूले साबुन पानीले पटपकटक हात धुन भनिरहेका छन् । हातलाई नाक, मुख, आँखा नछुन सचेत पारिरहेका छन् । मास्क र स्यानिटाइजरको प्रयोग गर्न आह्वान गरिरहेका छन् । तर, यी सावधानीका उपाय कमैले अपनाएको देखिन्छ । शिक्षित व्यक्तिले समेत लापर्बाही गरिरहेको देखिन्छ । मलाई केही हुँदैन भन्ने सोच नै सबैभन्दा खराब हो । त्यही सोच अहिले कतिपय नेपालीमा देखिएको छ । यस्तोमा सरकारले कडा प्रतिबन्ध लगाउनुको विकल्प देखिँदैन ।

कोरोना नियन्त्रणका लागि चीनले प्राप्त गरेको सफलताबाट हामीले सिक्नुपर्छ । त्यसै गरी कडाइका साथ मानिस मानिसबीच हुने सम्पर्क टुटाउन सक्नुपर्छ । त्यस्तै इटालीले जे गल्ती गर्दा आज भयावह समस्या भोग्दै छ त्यसबाट पनि हामीले केही सिक्नु जरुरी छ । त्यस्तै लापर्बाही गरेमा आउन सक्ने गम्भीर परिणामबारे सोचेर सचेत हुनैपर्छ । चीनले सहयोग गर्ने आशय व्यक्त गरेको सन्दर्भमा त्यहाँको अनुभव  र काम सिकेर त्यस्तै गर्न ढिला गर्नु हुँदैन । 

नेपालको १ हप्तामा ठूला अस्पताल निर्माण गर्ने न त क्षमता छ, न त इच्छाशक्ति नै । प्राविधिक जनशक्ति र प्रविधि पनि छैन । सचेतना फैलाउने र रोग लाग्न नदिनेतर्फ सजगता अपनाउने ढिला भइसकेको छ । 

लेखक बैंक तथा वित्तीय क्षेत्रका विज्ञ हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्