ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बढ्यो शेयर, तेल र सुनको भाउ

फेडले ल्यायो असिमित परिमाणात्मक खुकुलोपना 

२०७६ चैत, ११  
अन्तरराष्ट्रिय
NA

चैत ११, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले असिमित परिमाणात्मक खुकुलोपना (क्वाण्टिटेटिभ इजिङ) ल्याएको छ । कोरोना भाइरसले आर्थिक गतिविधि र वित्तीय बजारमा उत्पन्न गराएको झट्का सिमित पार्न बैंकले उपायहरुको व्यापक शृङ्खला नै ल्याएको हो ।

सोमवार न्यूयोर्कमा शेयर बजार खोल्नु अघि कर्जा दर न्यून स्तरमा राख्न र शेयर बजारलाई टेवा दिन बैंकले असिमित परिमाणमा ट्रेजरी, ऋणपत्र र धितोमा आधारित शेयर किन्ने अप्रत्याशित घोषणा गर्‍यो ।

यसमा कम्पनीका साथै राज्य र स्थानीय सरकारमा कर्जा प्रवाह सुनिश्चित गर्न बैंकले अन्य योजना पनि छ । महामारीबाट अर्थतन्त्रलाई टेवा दिन अमेरिकी नीतिनिर्माताहरूले ल्याउने भनेको खर्बौ डलरको योजना रोकिएकै बेलामा फेडले यस्तो अपरम्परागत कदम चालेको छ ।

प्याकेजमा संस्थागत ऋणपत्र बजारमा हस्तक्षेप, व्यवसायिक सम्पत्तिद्वारा समर्थित धितो र एक्सचेञ्ज–ट्रेडेड फन्ड (ईटीएफ) खरिद छ । कंग्रेसले बाटो खोलिदियो भने साना व्यवसायहरुलाई टेवा दिन ठूलो आकारको प्रत्यक्ष कर्जा कार्यक्रम पनि आउनेछ । यस योजनाबाट फेडले बजारमा ४० खर्ब डलरको तरलता प्रवाह गर्न सक्ने अमेरिकी अर्थमन्त्री स्टिभन मनुशिनले बताएका छन् । 

असिमित परिमाणात्मक खुकुलोपना कार्यक्रमबाहेक अर्थमन्त्रालयको एक्सचेञ्ज स्टेबलाइजेशन फन्ड (ईएसएफ) समर्थित नयाँ आपतकालीन उपायलले कुल ३ खर्ब डलर प्रवाह गर्नेछ ।
 कंग्रेसले पारित गर्‍यो भने भविष्यमा ईएसएफमा थप रकम खन्याउन मिल्ने बताइएको छ ।

ठूला रोजगारदातालाई टेवा दिन फेडले थप २ ओटा कार्यक्रम ल्याएको छ । फेडको पछिल्लो कदमले त्रस्त बनेका लगानीकर्तालाई केही राहत मिलेको छ । 

मंगलवार एशिया र यूरोपेली शेयर बजारमा सुधार आएको छ । बजार बन्द हुँदा जापानमा निक्केई २२५७ दशमलव १३ प्रतिशतले बढेको छ । दक्षिण कोरियामा कोस्पी पनि ८ दशमलव ६ प्रतिशत माथि आएर बन्द भयो । 

हङकङमा हाङशेङ-४ दशमलव ४ प्रतिशतले बढ्दा चीनमा शाङहाई कम्पोजिट२ दशमलव ३४ प्रतिशत माथि उक्लियो । अष्ट्रेलियामा एएसएक्स–२००, ४ दशमलव १७ प्रतिशतले बढ्दा सिंगापुर, थाइल्याण्ड, ताइवान, भारतलगायत यस क्षेत्रका सबै बजार हरियोमै आएर बन्द भए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ः४५ बजे यूरोपेली बजार पनि हरियोमै थियो । 

बेलायतमा फुट्सी–१००, २ दशमलव ८ प्रतिशतले बढ्दा फ्रान्समा क्याक४० र जर्मनीमा डीएएक्स पनि क्रमशः ४ दशमलव ४३ प्रतिशत र ५ दशमलव ८९ प्रतिशत माथि आएका थिए । अमेरिकी शेयर बजार पनि मंगलवार हरियोमा आउन सक्ने शेयर फयूचरले देखाएका छन् ।शेयर बजारमा देखिएको यो प्रवृत्तिले लामो समयसम्म निरन्तरता भने नपाउने चेतावनी विज्ञहरुले दिएका छन् । 

मंगलवार तेलको भाउ पनि बढेको छ । ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ३ दशमलव ९ प्रतिशतले बढेर प्रतिब्यारेल २८ डलर शून्य ८ सेन्टमा पुगेको छ । वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ दशमलव १ प्रतिशतका वृद्धिसहित प्रतिब्यारेल २४ डलर ५६ सेन्टमा आएको थियो ।फेडले अभूतपूर्व उपायको घोषणागरेसँगै अमेरिकी डलर कमजोर बनेपछि डलरमा किनबेच हुने तेलको भाउ बढेको हो । 

उक्त दिनको कारोबारमा बहुमूल्य धातु सुनको भाउ पनि उकालो लागेको छ । स्पट गोल्डको भाउ प्रतिऔंस करीब साढे २ प्रतिशतले बढी १ हजार ६०८ डलर ९४ सेन्टको उच्च बिन्दुसम्म पु्गेको थियो । 

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारदेखि नै सुनको भाउ उकालो लागेको थियो । मंगलवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचक शून्य दशमलव ५ प्रतिशतले घटी १०१ दशमलव ५२ अंकमा पुगेको थियो । सोमवारको उच्च बिन्दुबाट यो १ प्रतिशतभन्दा धेरै घटिसकेको छ । एजेन्सीहरुको सहयोगमा 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्