ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सीमामा अलपत्रलाई स्वदेश प्रवेशको अन्तिम अनुमति

१४ दिने क्वारेन्टाइन अनिवार्य

२०७६ चैत, १२  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले भारतीय सीमानाकामा अलपत्र परेका नेपाली नागरिकलाई एक दिन स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ । पूर्वसूचना नपाएर घर फर्किंदै गरेका नेपाली नागरिक अलपत्र नपरून् भनेर अन्तिम पटकका लागि स्वेदश प्रवेश गर्न दिने निर्णय भएको अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन पछि पनि सीमानाकामा आफ्ना नागरिक अलपत्र परिरहेको गुनासो  आएपछि सरकारले मंगलवार उक्त निर्णय गरेको हो ।  

यसरी प्रवेश पाएका उनीहरूले १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । ‘पूर्व सूचनाको अभावमा पूर्व मेचीदेखि महाकालीसम्म दक्षिणी सीमामा अलपत्र परेका नेपालीका लागि परिचयपत्र प्रमाणित गरेर मंगलवार अन्तिम पटकलाई उनीहरूलाई प्रवेश दिने निर्णय भएको छ । त्यसरी प्रवेश गरेकाहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्नेछ । उनीहरूलाई प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितसाथ क्वारेन्टाइन पुर्‍याउनेछ,’ उनले भने । 

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित मुलुकबाट सुरक्षा व्यवस्था मिलाई आफू बसेको मुलुक छोड्नुपर्ने अवस्था आउन नदिन अनुरोध गरेको छ । साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफू रहेको मुलुकमा सुरक्षित र संयमित रूपमा बस्न पनि आह्वान गरेको छ ।

यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालामा कोभिड–१९ को परीक्षणको कार्य यथाशीघ्र शुरू गर्ने बताएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक परीक्षण सामग्री र तालीमको व्यवस्था गर्नेछ । ती स्थानहरूमा परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाइमार्गबाट काठमाडौं ल्याई परीक्षण गरिने भएको छ । 

यसैबीच सरकारले कोरोना संक्रमणविरुद्ध रकम संकलन र वितरणलाई एकद्वार प्रणालीमा लैजाने निर्णय गरेको छ । कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्‍याउन नेपाल सरकारले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ स्थापना गरिसकेकोले छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषमा अनिवार्य रूपमा जम्मा गर्न सरकारले आह्वान गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्