ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘अत्यावश्यक वस्तु उत्पादक उद्योग सञ्चालनमा राख्नू’

२०७६ चैत, १२  
समाचार
NA


काठमाडौं (अस) । सरकारले अत्यावश्यक वस्तुका उद्योग सञ्चालन गर्न आग्रह गरेसँगै निजीक्षेत्रका उद्योगी÷व्यवसायीका तीन ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शले आफू मातहतका सबै सदस्यलाई अत्यावश्यक सामग्री उत्पादन तथा वितरण गर्ने उद्योग नियमित सञ्चालन गर्न अनुरोध गरेका छन् । 

सोमवार महासंघ र परिसंघले विज्ञप्ति निकाल्दै अत्यावश्यक सामग्रीको उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न अनुरोध गरेको हो । चेम्बरले पनि आफू मातहतका व्यवसायी, संघ र उद्योगलाई यस्ता उद्योग नियमित सञ्चालन गर्न अपिल गरिसकेको बताएको छ । ‘हामीले अत्यावश्यक उद्योग सञ्चालका लागि आफू मातहतका उद्योगी/व्यवसायीलाई अनुरोध गरिसकेका छौं र त्यहीअनुसार यस्ता उद्योग नियमित सञ्चालन हुन्छन्,’ चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

विश्व महामारीको रूपमा देखिएको कोरोना भाइरस नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सरकारले मंगलवारदेखि एक साता देश लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसबीचमा सरकारले अत्यावश्यक सामग्रीको अभाव नहुन दिन निजीक्षेत्रलाई आग्रह गरेकोमा निजीक्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो  । 

यी संगठनले औषधि तथा स्वास्थ्य सेवा, खाद्य पदार्थ, दूधजन्य पदार्थ र पिउने पानीसँग सम्बन्धित उद्योग बन्द नगर्न आग्रह गरेका छन् । यस्तै इन्टरनेट, सुरक्षा तथा सफाइ, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याससँग सम्बन्धित उद्योगमा पनि सुरक्षाका सबै उपाय अपनाएर यथावत सञ्चालन गर्न यी संगठनले आफूअन्तर्गतका उद्योगीलाई आग्रह गरेका हुन् ।

अत्यावश्यक बाहेक बाँकी सबै उद्योगलाई लकडाउन अवधिभर बन्द गरी कर्मचारीलाई बिदा दिन यी संगठनले अनुरोध गरेका छन् । अत्यावश्यक उद्योग/व्यवसाय सञ्चालनमा कुनै वाधा नपुर्‍याउन सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्