ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खाद्यवस्तु होम डेलिभरीको व्यवस्था मिलाइँदै 

सरकारी खाद्यान्नका लागि टोलफ्री नम्बर 

२०७६ चैत, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लकडाउनका बेलामा खाद्यान्न आपूर्ति व्यवस्था सहज बनाउन सरकारले होम डेलिभरी व्यवस्थाका लागि पहल थालेको छ । 

यसका लागि ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारीसाधनलाई अनुमति दिने निर्णय कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको छ । 

त्यस्तै सरकार आफैले पनि कुनै टोलबाट खाद्यान्न मगाए सम्बद्ध टोलमै आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउन अवधिमा काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तु घरैसम्म पुर्‍याउन दुई दर्जनभन्दा बढी मिनीट्रकको व्यवस्था गरिएको जानकारी दिए । ‘कतै अत्यावश्यक सामान पाइएन भने टोल फ्रि नम्बर ११३७ मा फोन गर्नुहोस् सामान घरमै पुर्‍याउँछौं,’ उनले भने । बजारमै निस्किएर सामान किन्नुभन्दा सकेसम्म अनलाइन अर्डर गर्न उनले आग्रह गरे । 

त्यसै गरी औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्न दिने निर्णय गरेको छ । तर, यस्ता सवारीसाधनले यात्रु ओसारपसार गर्न भने पाउने छैनन् । 

औषधि उत्पादन, ग्यास बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बद्ध उत्पादक संस्थाले सवारीसाधनको व्यवस्था गर्ने र यसका लागि गृह मन्त्रालयले अनुमति दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूललगायत अन्य खाद्यवस्तु विक्रीवितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय पनि उच्चस्तरीय समन्वय समितिले गरेको छ । 

यसैबीच गृह मन्त्रालयले अत्यावश्यक सामग्री खरीद, विक्री र ढुवानी गर्न दिन निर्देशन दिएपछि बुधवार काठमाडौं उपत्यकामा अत्यावश्यक सामग्रीका केही पसल खुला रहे । लकडाउनका बेला यस्ता सामग्रीको आपूर्तिमा समस्या देखिएको गुनासो बढेपछि सरकारले अत्यावश्यक वस्तुको पसल खुला राख्न निर्देशन दिएको हो । निर्देशनपछि ठूला विक्रेता, तरकारी तथा फलफूल पसल केही समयका लागि खुला रहेका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण हित विभागका अनुसार राजधानीमा बुधवार केही ठाउँमा सुपरमार्केट, बिगमार्ट र भाटभटेनी केही समयका लागि खुला गरिएको हो । त्यसबाहेक नेपाल खाद्य संस्थानको विक्री केन्द्रले भक्तपुरको सूर्य विनायक, ललितपुरको लगनखेल र नक्खु, काठमाडौंका रामशाहपथ, थापाथलीलगायत ठाउँबाट दैनिक उपभोग्य सामान विक्री गरेको उनले बताए । उनका अनुसार यी ठाउँबाट हाललाई उपभोक्ताले फोन गरेर सामान मगाउनसमेत सक्नेछन् । 

ठूला विक्रेता पसलसँगै कालिमाटीको फलफूल तथा तरकारी बजार पनि खुला रह्यो । बजारका प्रवक्ता विनय श्रेष्ठका अनुसार बिहान २ बजेदेखि ७ बजेसम्म फलफूल तथा तरकारी बजार खुला गरिनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्