ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अत्यावश्यक वस्तुको आयातमा बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

२०७६ चैत, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित व्यवस्था मिलाउन, ड्राफ्ट, टिर्टी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन  गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेप स्वीकार गर्न तथा ‘घ’ वर्गका वित्तीय संस्थालाई समेत स्थानीय प्रशासनसँग समन्वय गरी काउन्टरमार्फत सम्भव भएसम्म कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले वुधबार ९ बुँदे परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । एटीएम मेशिनमा पर्याप्त नगद राख्न र सोको सुरक्षाका लागि निगरानी गर्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । लकडाउनका बेला नगदको अभाव हुन नदिन उक्त निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई विद्युतीय कारोबारलाई प्राथमिकता र प्रोत्साहन दिन भनिएको छ । ‘बैंकहरूले स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा केही शाखा खोली न्यूनतम कर्मचारीबाट बैंकिङ कारोबार गराउनुपर्नेछ,’ उनले भने, ‘औषधि र उपकरण आयात गर्न प्रतीतपत्र खोल्नुपर्ने भएकाले पनि बैंक खोल्नुपरेको हो ।’

बैंकहरुले खुल्ने शाखाहरूको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफनो वेबसाइटमा राख्नुपर्नेछ । साथै, बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्नेगरी खुल्ने शाखाको विवरण टाँस्नुपर्नेछ । शाखाबाट प्रदान हुने वा शाखा बन्द रहेको अवस्थामा ग्राहकले बैंकिङ सेवा पाउने अन्य शाखाको सम्बन्धमा सूचना दिन सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बरसहितको विवरण शाखाको मूल ढोकामा टाँस्न निर्देशन  दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङलाई पनि सहज बनाइएको छ । अब बैंकले यस्तो रिपोर्टिङ कार्यालय खुलेको ७ कार्यदिनभित्र गर्न पाउने भएका छन् । 

एटीएम नभएका शाखा खुला : बैंकर्स संघ
नेपाल बैंकर्स संघले एटीएम नभएका शाखा कार्यालय दिउँसो दुई घण्टाका लागि खोल्ने जानकारी दिएको छ । एटीएम नभएका शाखा बिहान ११ बजेदेखि १ बजेसम्म खोल्ने निर्णय गरेको संघले बताएको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरेर केही समय कार्यालय खोलेर बैंकिङ सेवा दिइनेछ । ‘नगद आवश्यक परेका ग्राहकका लागि बैंकले एटीएममा पर्याप्त नगदको व्यवस्था गरेका छन् ।

अभाव हुन दिएका छैनन् । यसैले एटीएम बुथ नभएका ठाउँमा मात्र शाखा खोल्न भनिएको हो,’ उनले स्पष्ट पारे । लकडाउनको अवस्थामा पनि बैंकहरूले एलसी, ग्यारेन्टी, ट्रेजरीजस्ता सेवा मुख्य कार्यालय र तोकिएको शाखाबाट दिने व्यवस्था गर्ने संघले निर्णय गरेको छ । बैंकले यसअघिदेखि नै कर्मचारीको सुरक्षाका लागि मास्क, स्यानिटाइजरको व्यवस्था गर्दै आएको छ । थोरै कर्मचारीबाट कार्यालयमा काम गर्न पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्