ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन प्रभाव : उद्योग तथा कार्यालय बन्द हुँदा घट्यो विद्युत् खपत

२०७६ चैत, १३  
समाचार
NA

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेसँगै विद्युत् खपत ह्वात्तै घटेको छ । नेपालमा विद्युत् खपतको ठूलो हिस्सा ओगट्ने उद्योग/कलकारखाना अहिले बन्द हुँदा खपतमा कमी आएको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार सामान्य समयमा मुलुकभरको विद्युत् खपत १२०० मेगावाट थियो । यो मंगलवार घटेर ९४५ मेगावाटमा सीमित भएको छ । प्राधिकरणका अनुसार मंगलवार राति विद्युत्को माग ४८३ मेगावाटसम्म झरेको थियो । बुधवार बिहान पनि विद्युत्को माग अझै घटेर ४४६ मेगावाटसम्म आइपुगेको प्राधिकरणको भनाइ छ । बुधवारको औसत विद्युत् माग ६२८ मेगावाट रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

काठमाडौं उपत्यकामा सबैभन्दा विद्युत् खपत हुन्थ्यो । तर, काठमाडौंबाट लाखौंको संख्यामा मानिस आ–आफ्नो जिल्ला  गएकाले यहाँ पनि विद्युत् माग ह्वात्तै घटेको छ । काठमाडौंमा लकडाउन हुनुअघि विद्युत्को अधिकतम माग ३५० मेगावाटको हाराहारीमा थियो । तर, मंगलवार यो २९० मेगावाटमा सीमित भएको थियो । काठमाडौं उपत्यकामा मंगलवार बिहान विद्युत्को माग १०३ मेगावाट र राति ११७ मेगावाट रहेको प्राधिरकणको भनाइ छ । यस्तै, बुधवार बिहान १०४ मेगावाट र  मध्याह्नमा १८२ मेगावाट रहेको बताइएको छ ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भएकाले खपत घटेको बताए । ‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि शुरू भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वात्तै घटेको हो,’ उनले भने, ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्यासको अभावमा भएमा इन्डक्शन चूलो लगायत विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’ 

लकडाउनको बेला भए पनि कुनै कारणवश कुनै स्थानमा केही बेर विद्युत् अवरोध भए त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गरिने उनको भनाइ छ । यसका लागि आवश्यक कर्मचारी चौबीसै घण्टा तयारी अवस्थामा रहेको उनले बताए । 

विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट पिक समयमा मात्र करीब १५० मेगावाटसम्म विद्युत् ल्याइएको छ । बिहीवार बेलुकादेखि भने ५० मेगावाट मात्रै विद्युत् ल्याइने प्राधिकरणको योजना छ । घिसिङले राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत््गृह बन्द गर्नुपर्ने अवस्था आएको पनि जानकारी दिए । 

कोरोना भाइरसका कारण ग्यास अभाव हुने हल्ला पनि थियो । केही समयसम्म ग्यासको अभाव पनि थियो । यस अवस्थामा मानिसले विद्युतीय चूलो प्रयोग गर्ने प्राधिकरणको अपेक्षा थियो । तर, आम सर्वसाधारणले विद्युतीय चूलो प्रयोग नगरेर ग्यास नै प्रयोग गर्नाले पनि विद्युत् खपत घटेको प्राधिरकणको भनाइ छ । 

प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्बाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ । अहिले नेपालको विद्युत् उत्पादन ६११ मेगावाट छ । त्यसले नपुग्ने बिजुली भारतबाट आयात गरिँदै आएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्