ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यकाका गाईफार्ममा दानाको अभाव  

२०७६ चैत, १३  
समाचार
Image Not Found

चैत  १३, काठमाडौै । राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो ।     
     
 पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आएका नम्रता राउत कहाँ बुधवार नै पराल सकिएको छ । पराल काटेर बनाएको भुसा लकडाउन हुनुअघि एक बोरा रू. ४५० मा पाइन्थ्यो ।

अहिले रु ६०० मा पनि पाउन छाडेको छ । केहीले एक बोरा भुसा रू.१ हजारमा समेत किन्ने गरेका छन्, त्यो पनि पाईदैन् ।     
   

बुधवार छ बोरा भुसा ल्याएकी थिएँ, आजै सकिने अवस्था छ, अब गाईलाई के खुवाउने ?’, राउतले पीडा सुनाइन्  । उनको फार्ममा २५ गाई छन् । गाई कसरी बचाउने भन्ने चिन्ताले राउतलाई सताएको छ ।     
     
 यस्तै काठमाडौं महानगरपालिका–२९ अनामनगरमा २१ गाई पालिरहनुभएका भोजराज कार्कीको पनि राउतको जस्तै अवस्था भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट ल्याउने गरिएको दाना तीन दिनदेखि बन्दका कारण ल्याउन नसकिएको उनले बताए । ‘तराईबाट पराल समेत ल्याउन नसक्दा अब के गर्ने भन्ने पिरलो भएको छ’, कार्कीले भने ।

दानाको अभाव भएपछि उनले राजधानीका विभन्न तरकारी बजारबाट बासी तरकारी किनेर खुवाउने गरेको कार्कीले बताए ।     
   

 ‘अहिले तरकारी बजार सबै बन्द छन्, गाईलाई खुवाउने जोहो गर्न अब कुनै विकल्प छैन’, उनले भने । कार्कीको फार्ममा अनामनगर, घट्टेकुलो, बानेश्वरलगायत ठाउँबाट सर्वसाधारण दैनिक बिहान र बेलुका दूध किन्न आउने गरेका थिए । ती सबै अब आउन छाडेको कार्कीले बताए ।     
     
 यसैगरी चांगुनारायण नगरपालिका–९ सरस्वतीखेलमा ‘हाम्रो डेरी तथा कृषि फार्म हाउस’ चलाउँदै आएका दीपक बुढाथोकीले दाना र भुसाको मूल्य अत्यधिक वृद्धि भएपछि गाईपालन गर्न समस्या भएको बताए । यो समस्या उनको मात्र होइन, राजधानीका तीन ओटै जिल्लामा रहेका सयौं गाई, बाख्रा र भैंसी फार्म सञ्चालकको हो ।     
     
 लकडाउनका कारण दाना आपूर्ति गर्न असहज भएपछि गाईवस्तु बचाउन उनीहरुलाई समस्या भएको छ । बुधबार सरकारले कुखुराको दाना बोक्ने सवारीसाधनलाई निर्वाध रुपमा चलाउन दिने निर्णय गरेको थियो । 

यस्तै व्यवस्था आफूहरुको हकमा पनि गर्नुपर्ने गाई, भैंसी र बाख्रापालन गर्ने किसान तथा व्यवसायीको माग छ ।     
     
 कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नीतिगतरूपमा गाईवस्तुका लागि दाना ढुवानी गर्न समस्या नभएको बताए । 
‘दाना ढुवानी गर्न सरकारले छुट दिएको छ, रोकेको छैन’, उनले भने । 

दानाबाहेक पराल, घाँस, भुसालगायत वस्तु ढुवानीका लागि सवारी साधनलाई सञ्चालन गर्न छूट दिने विषयमा स्थानीय प्रशासनका तर्फबाट केही समस्या आएको सुन्नमा आएको र यसबारे गृह मन्त्रालयसित छलफल गरिने उनले बताए ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्