arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपभोक्तामार्फत नगरको विकास गर्दै छौं

२०७६ पौष, २१  
अन्तरवार्ता
Image Not Found

स्वर्गद्वारी नगरपालिका रोल्पा र दाङ जिल्लासँग जोडिएको छ । जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको प्रवेशविन्दु मानिने भिंग्री नगरपालिको प्रमुख क्षेत्र हो । कृषि, पशुपालन, मसलाबाली र पर्यटनको ठूलो सम्भावना रहेको यस नगरपालिकाका अधिकांश भूभाग दुर्गम छन् । सोही कारण विकास निर्माणमा पछि परिरहेका बेला स्थानीय तहको निर्वाचनपछि यसले गति लिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाय बताउँछन् । प्रस्तुत छ, नगरको विकास निर्माण, योजना लगायत विषयमा आर्थिक अभियानका प्यूठान संवाददाता राजेश जीसीले नगर प्रमुख रोकायसँग गरेको कुराकारीको सार :

तपाईं जनप्रतिनिधि भएर आएपछि नगरपालिकाको विकासका लागि केमा प्राथमिकता दिनुभयो ?
विशेषगरी यो नगरपालिकामा भौगोलिक कठिनाइ छ । यही कारण अत्यावश्यक पूर्वाधारको समेत विकास भइसकेको छैन । त्यसैले पहिलो वर्ष सडकलाई प्राथमिकतामा राख्यौं । नगरपालिकाका जनताको माग पनि सडक नै थियो । सडक विकासको मेरुदण्ड समेत भएकाले यसको विकासमा जोड दिएका हौं । नगरका सबै वडालाई नगरपालिकाको केन्द्रसँग जोड्नेगरी सडक पुर्‍याएका छौं । त्यसैगरी शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि धेरै काम गरेका छौं ।

तपाईंहरू आउनुअघि र अहिले नगरमा खास फरक के पाउनु भएको छ ?
२० वर्षसम्म जनप्रतिनिधि नहुँदा विकास निर्माणमा पछि परेका थियौं । त्यति बेला जनताले विकासको अनुभव गर्न पाएका थिएनन् । निकै दुःख खेप्नुपर्ने अवस्था थियो । तर अहिले यसमा धेरै परिवर्तन आएका छन् । स्थानीय तहको निर्वाचन भएपछि विकासका कामले गति लिएको छ । जनताको आवश्यकता र चाहना अनुसारका काम गर्नुलाई हामीले आफ्नो जिम्मेवारी ठानेका छौं । सोही अनुसार काम पनि गर्दै आएका छौं । पहिला सबै ठाउँमा सडक सञ्जाल पुगेको थिएन । त्यसैगरी विद्यालयमा पर्याप्त शिक्षक हुँदैनथे । तर अहिले यो समस्या समाधान भएको छ । कृषिक्षेत्रमा पनि सुधार भएका छन् । खासमा भन्नुपर्दा हामीले जनताले महसूस गर्नेगरी काम गरेका छौं ।

नगरपालिकाले सञ्चालन गरेका गरेका मुख्य काम के के हुन् ?
हामीले गतवर्ष ४१६ घरधुरीमा खरको छाना विस्थापित गर्‍यौं । यस वर्ष करीब ७०० घरमा जस्तापाता वितरण गर्नेगरी काम अगाडि बढाएका छौं । ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेका छौं, जसकारण खानेपानीको समस्या समाधान हुँदै छ । त्यस्तै उज्यालो नगर अभियान पनि सञ्चालनमा छ । विद्युत् सेवा नपुगेका जनताको घरमा सौर्य प्रणालीमार्फत भए पनि विद्युतीकरण गर्दै छौं । यस वर्ष नगरका १ र २ नं वडामा पूर्ण रूपमा विद्युतीकरण गर्नेछौं । शून्य ‘होम डेलिभरी’ कार्यक्रम पनि ल्याएका छौं । यसले घरमै सुत्केरी हुनुपर्ने अवस्था अन्त्य गर्नेछ । यसअघि घरमै सुत्केरी हुँदा आमा–शिशुको मृत्युदर बढी थियो । त्यस्तै यस वर्षदेखि ‘उपमेयर कोेसेली’ कार्यक्रम ल्याएका छौं । यसअन्तर्गत सुत्केरी महिलालाई उपहार दिने गरिएको छ । उनीहरूको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ घरमै पुग्न व्यवस्था गरेका छौं । यस्तै नगरका तीन वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

विकास निर्माणको काम गर्दा कस्ता खालका समस्या र चुनौती देखिँदा रहेछन् ?
खासमा नगरको विकासका काम गर्दा धेरै समस्या आउँछन् । नेताले निर्वाचनका बेला जनतालाई धेरै आश देखाए र जनताले पनि हामीलाई निर्वाचित गरे । हामीले निर्वाचनका समयमा जनताको समस्या रातारात पुरा हुने सपना देखायौं । जनताको आवश्यकता पनि बढ्दै गए । हामीसँग जनताको आशा पूरा गर्ने स्रोत र साधन कम भयो, जसकारण विकास निर्माणका काम गर्न गाह्रो हुँदो रहेछ । जबसम्म हामीले हाम्रो मानसकिता परिवर्तन गर्न सक्दैनौं, तबसम्म सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा हुन सक्दैन । पहिले वर्षमा १२–१५ दिन जनश्रमदान गर्थ्यौं । विकास निर्माणमा सबैको चासो हुन्थ्यो । तर अहिले राज्यले लगानी गरेको छ । त्यसको संरक्षणमा जनताले चासो दिन छाडेको देखिन्छ ।

नगरपालिकाले कम आयस्रोत भएका जनताको जीवनस्तर उकास्न के गरिरहेको छ ?
निम्न वर्गको जीवनस्तर उकास्नु हाम्रो नगरपालिकामा पनि ठूलो चुनौतीको रूपमा छ । हाम्रो मानसिकता यस्तो भएको छ कि लेखेर, कर्सीमा बसेर मात्र जागीरे भइन्छ भन्ने ठान्छौं, जुन यो बिल्कुलै गतल छ । हामीले गत वर्षमात्र जनतालाई स्वरोजगार बनाउन कृषि तथा पशुपालन क्षेत्रमा ठूलो धनराशी अनुदान दियौं । हामीले बाख्रापालन पकेट क्षेत्र, फलफुल पकेट क्षेत्र, मसलाबाली पकेट क्षेत्रका लागि ६५ लाख रुपैयाँ अनुदान वितरण गरेका छौं । नगरपालिकाले बेरोजगार र गरीबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न उनीहरूलाई कृषि, पशुपालन लगायत क्षेत्रमा प्रोत्साहन गरिरहेको छ । व्यावसायिक रूपमा बाख्रापालन गर्नेलाई ५० हजार, १ लाख र डेढ लाख रुपैयाँ अनुदान दिएका छौं ।

नगरमा जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी छ । यसको विकास र प्रवर्द्धनका लागि के गर्दै हुनुहुन्छ ?
पर्यटक भित्र्याउन सर्वप्रथम पर्यटकीय स्थलमा पूर्वाधार आवश्यक पर्छ । जबसम्म हामी पर्यटकीय भौतिक पूर्वाधार तयार गर्दैनौं, तबसम्म पर्यटक भित्रिँदैनन् । पर्यटक बस्ने, खाने व्यवस्था हुनुपर्‍यो । पर्यटकलाई सम्मान, राम्रो बोली व्यवहार गर्नुपर्छ । अर्को कुरा, स्वर्गद्वारीको विकासका लागि नगरपालिकाले काम गरिरहेको छ । यसको विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गरिरहेका छौं । स्वर्गद्वारी मन्दिरमा पानीको अभाव छ । त्यसैगरी आवाससहितको भवनको निर्माणको काम अगाडि बढाएका छौं । पर्यटकको व्यवस्थापनमा केही समस्या देखापरेको छ । सार्वजनिक शौचालय छैनन् । साउन महीनामा सयौं गाडीमा हजारौं भारतीय पर्यटक आउने गरेका छन् । पर्यटकलाई निकै सस्तोमा गुणस्तरीय सेवा पुग्नेगरी योजना बनाउँदै छौं । केही समयमै सार्वजनिक शौचालय बनाउँदै छौं । पर्यटकको बसाइ जतिसक्दो लम्ब्याउने गरी नगरपालिकाले ठोस योजना ल्याउनेछ । भिंग्री स्वर्गद्वारीको आधारबिन्दु भएकाले पनि यसको प्रवर्द्धनमा विशेष जोड दिएर अघि बढ्दै छौं । स्वर्गद्वारीसँगै जोडिएका नगरका अन्य पर्यटकीय स्थलको पनि विकास र प्रवद्र्धन गर्नु जरुरी छ । सारीको प्राकृतिक भू–बनोटलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न डीपीआर तयार भइसकेको छ । स्वर्गद्वारी विमानस्थलको आवश्यक प्रक्रिया अघि बढ्दै छ । दहचौरमा शान्तिपार्क निर्माण गदै छौं । स्वर्गद्वारीसँगै जोडिएका पर्यटकीय स्थलको विकास पनि गर्दै जाने हाम्रो लक्ष्य छ । यस वर्ष १ करोड रुपैयाँको लागतमा पर्यटकीय सूचना पार्क निर्माण गरिरहेका छौं । त्यसैगरी स्वर्गद्वारी परिक्रमा मार्ग निर्माण गर्दै छौं ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नगरपालिकाले के गर्दै छ ?
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष २०२० मनाउँदै छ । सोही अनुरूप हामीले पनि पर्यटक भिœयाउन नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गरेका छौं । नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर भौतिक पूर्वाधार निर्माण गरेका हौं । यहाँ आउने पर्यटकलाई बस्न र खानाका लागि होमस्टे सञ्चालन गरेका छौं भने सडकको दायाँ–बायाँ पर्यटकीय स्थलका तस्वीरहरू राख्ने तयारी गरेका छौं ।

नगरपालिकाले विकास निर्माण कसरी अघि बढाएको छ ?
विगत वर्षमा हामीले टेन्डरमार्फत विकासका काम गर्‍यौं । टेन्डरमार्फत गर्दा ठेकेदारहरू मिल्ने र जतिको टेन्डर निकालिएको छ, त्यतिमै टेन्डर सकार्ने, तर कम अति कम लागतमा काम सक्ने प्रवृत्ति देखियो । यसले गर्दा काममा गुणस्तर देखिएन । साथै काम सम्पन्न नगरी कागजमा मात्र सम्पन्न भएको देखाउने गरियो । त्यसैले यस वर्ष केही ठूला बाहेक अन्य साना योजना उपभोक्तामार्फत गराउने तयारी गरेका छौं । उपभोक्तामार्फत काम गर्दा छिट्टै कामको प्रगति देखिने र गुणस्तरीय पनि हुने भएकाले यस वर्ष कमै मात्र योजना टेन्डरमार्फत गर्नेछौं ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्