ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना  महामारी : सूचना र महत्व (भाग–१)       

२०७६ चैत, १३  
समाचार
NA

चैत १३, काठमाडौं । ‘संकटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन्, त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सूत्र’ बनेर बसिरहन्छन् ।’ 

समकालीन विश्वका एकजना प्रखर चिन्तक युभल नोहा हरारीले फाइनान्सियल टाइम्समा हालै लेखेको लेखमा यो विचार राखेका छन् । ‘कोरोना भाइरसपछिको विश्व’ शीर्षकको यो लेख कोरोना भाइरसका विरुद्ध कसरी लड्ने र त्यसपछिको विश्वका लागि यो लडाईंबाट कस्तो थिति बसाल्ने भन्नेमा बढी केन्द्रित छ । 
     
उनी लेख्छन्,  ‘कुनै विन्दुमा गएर अहिलेको यो तुफान पक्कै थामिनेछ । मानवजाति पक्कै जीवित रहनेछन् । हामीमध्येका धेरै जना बाँची नै रहने छौं, तर हामीले आगामी पुस्ताका लागि एउटा फरक संसार छोडेर जानेवाला छौं ।’     
     
हरारीले भनेजस्तै यो ‘कोभिड–१९’ नाम दिइएको नोवल कोरोना भाइरसले हाल विश्वव्यापी उत्पन्न गरेको महासंकट समाधानको सूत्रको खोजीमा यतिखेर यो सिंगो धर्ती लागेको छ । यो  समाचार तयार पार्दासम्म संसारका १८९ देशका नागरिकमाथि यो भाइरसले धावा बोलिरहेको छ । 

यस भाइरसले यी देशका २१ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने अरु ४ लाख ७१ हजार मानिसलाई संक्रमित तुल्याइदिएको छ । यसमध्ये १४ हजारभन्दा बढी मानिस गम्भीर स्वास्थ्य अवस्थाका साथ अस्पतालको शय्यामा छन् । प्राणघातक स्वरुपमा यो भाइरस यतिखेर विश्वका प्राय : सबै महादेशमा चाहार्न पुगेको देखिएको छ ।     
     
यसैको त्रासदीमा विश्व यतिखेर ‘लकडाउन’ भएर घरभित्रै थुनिएको छ । सदैव हतारमै देखिने युरोप र अमेरिका अहिले बडो फुर्सदमा छ । यो महामारीबाट बच्न एशियाका कैयौं देश पनि लकडाउनमा छन् । महामारीका विरुद्ध लड्न विश्व समुदाय नै अहिले घरैमा एकान्तबासमा छ । यो अकल्पनीय संकट र महामारीलाई पार लगाउने सूचना अहिले विश्वले खोजिरहेको छ ।     
     
माथि हरारीले भनेजस्तै विश्व समुदायले यतिखेर सम्पूर्ण अस्त्र प्रयोग गरेर नदेखिने यस शत्रुविरुद्ध लड्ने ‘समाधानको सूत्र’ खोजिरहेको छ । र त्यो सूत्र पनि मानिसका काम गर्ने तौरतरिकाबाटै प्राप्त हुने र आगामी पुस्ताका लागि पछिसम्मै समाधानको सूत्रका रुपमा बसिरहने छ ।
 

लेखको आसय छ– अहिले संकटमा परेको विश्वले यो संकट हटाउन अपनाउने कार्यशैली र तौरतरिका नै महत्वपूर्ण हो र जुन आगामी पुस्ताका लागि पनि समाधानको सूत्र भएर बस्ने छ । त्यसैले पनि शत्रुका विरुद्ध लड्न सही तरिका अपनाउनु जरुरी छ ।     
     
हालका लागि यो नदेखिने शत्रुका विरुद्ध लड्न हामीले जस्तो तरिका अपनाउने छौं त्यो नै आगामी दिनमा यस्तैखाले अरु पनि सम्भावित शत्रुहरुका विरुद्ध लड्ने अस्त्र बन्नेछ । 

त्यसैले हामीले अनुशरण गर्ने कार्यशैली उपचार पद्दतिसँग मात्र सीमित नरहेर यो तौरतरिकामा सरकारी अधिकारीका रणनीति, विदेशनीति, प्रविधिको प्रयोग, महामारीका बेला राज्य या निजी क्षेत्रले दिने सेवा, सूचनाको सम्प्रेषण, सञ्चारमाध्यमहरुको प्रयोग र तिनले उत्पादन गर्ने समाचार ‘कन्टेन्ट्’, एकले अर्को देशलाई गर्ने र हेर्ने व्यवहार आदि धेरै पर्नसक्छन् ।     
     
महामारीमा सूचना     
     
सूचना नै मानिसको शक्ति हो । पहिलेजस्तो धेरै क्षेत्रफलयुक्त जमीन (जस्तै बेलायती साम्राज्य), ठूलो सैन्य संख्या तथा ठूल्ठूला हतियारलाई शक्ति मान्ने चलन अहिले छैन । त्यसैले पहिले बेलायत, रुस तथा पश्चिमाहरु शक्तिशाली राष्ट्रमा कहलिन्थे । तर अहिले त्यस्तो छैन । ती देश अहिलेको ‘शक्तिशाली’ राष्ट्रको सूचीमा नपर्न सक्छन् ।

जुन देशसँग सूचना छ, ज्ञानमा आधारित सूचना छ त्यो नै अहिलेको शक्तिशाली हुन्छ । अहिले अमेरिका, संयुक्त राष्ट्रसंघले विश्वकै सूचना राखेर बसेका छन् त्यसैले उनीहरु शक्तिशाली छन् । 

अहिलेको विश्वले शक्तिको मापन सूचनामै गर्ने गर्दछ । जस्तो कि अमेरिकाले पनि सेना र हतियार लगाएर खोज्दा नभेटिएका ओसामा विन लादेन, सद्दाम हुसेनलाई खोज्न सूचना नै प्रयोग गरेको थियो र उ आफ्नो ‘मिसन’ मा सफल भएको थियो । जसरी धेरै सूचना थाहा पाउने अथवा सुसूचित मानिस समाजमा अरुभन्दा अघि नै हुन्छ विश्वको मोडेल पनि त्यही हो ।     
     
सूचनाको परिभाषा नागरिकको मौलिक अधिकारसँग मात्र सीमित छैन व्यक्तिको जनजीविकामा पनि जोडिएको छ । त्यसैले त भन्ने गरिन्छ– ‘सूचना खान त मिल्दैन, तर सूचना पाएन भने मानिस भौकै मर्न सक्छ ।’ यो कुराको पुष्टि अर्थशास्त्रका नोबेल पुरस्कार विजेता प्रख्यात अर्थशास्त्री अमत्र्य सेनले पनि गर्न खोजेका छन् । 

उनले ‘सूचना पाउने देशका नागरिक भन्दा सूचना नपाउने देशका नागरिक तुलनात्मक रुपमा बढी भोकमरीमा परेका छन्’ भनेका छन् । उनको परिभाषमा सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर जिउने विधिसँग जोडिएको मानिसको स्रोत र अवसर पनि हो । 

त्यसैले सूचनाबाट नागरिक वन्चित हुनु भनेको उसका सबैखाले अधिकारहरुमा ताला लाग्नु हो । यसरी सूचना नागरिकको आर्थिक अधिकारसँग जोडिएको छ ।     
     
यति महत्वपूर्ण सूचनाको महामारी र प्राकृतिक विपत्तिको समयमा अझबढी महत्व छ । सामान्य समयको भन्दा यस्तो समयको सूचना बढी संवेदनशील हुन्छ । यस्तो बेलाको हरेक सूचनाले हरेक मानिसको जीवन बोकेको हुन्छ । 

अहिले संसारका मानिसले कोरोनाबारेको मात्र सूचना खोजिरहेको छ, त्यही सूचनाभित्र उसले आफ्नो जीवन खोजिरहेको छ । अहिले संसारका व्यावसायिक अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने हो भने मानिसले यतिबेला खोजिरहेको सूचना भनेको कारोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने नै हो ।

त्यसैले त प्रत्येक देशका सञ्चारमाध्यमले पनि यो बाहेकका अरु समाचारलाई प्राथमिकतामा राखेका छैनन् । यही सूचना सम्प्रेषणको प्रवृत्ति नेपालमा पनि देखिन्छ । सञ्चारका जानकारहरु अहिलेको प्राणघातक भाइरसलाई परास्त गर्न विश्वभर सूचनाको व्यापकता र आदानप्रदानको आवश्यकता देखाउँछन् । 

हामी यतिखेर सूचना बाहेकको अर्को कुनै शक्तिले लड्दैछैनौं । कोरोना नामको यो अदृश्य शत्रु विरुद्ध लड्न अहिलेको विश्वको शक्ति (धन दौलत, हतियार, आणविक शस्त्रास्त्र) आदि केहीले सकेको छैन । मात्र बच्ने सूचना चाहिएको छ ।     
     
यसरी अहिलेको महामारीका विरुद्ध लड्न उपलब्ध सहज र सजिलो स्रोत र सुविधा नै सूचना हो । कहाँबाट के नयाँ कुराको आविष्कार भयो र त्यो अदृश्य सत्रुलाई कसरी परास्त गर्न सकिन्छ, निस्तेज पार्न सकिन्छ भन्ने सूचनाकै खोजीमा पर्खिएको छ अहिलेको विश्व । 

अनि सञ्चारकर्मीहरुले महामारीका विरुद्ध मानवलाई सुविस्ता हुने सूचना सम्पे्रषण गर्न सकेका छौं कि हाम्रा सन्देशको प्रस्तुतिले उल्टै भाइरस सक्रिय हुनेगरी मलजल पुगेको छ भनेर हेर्नुपर्ने भएको छ । 

हाम्रा सूचना सम्प्रेषणले महामारीको नियन्त्रणात्मक र निदानात्मक विधिहरुलाई कत्तिको सघाएका छन् भनेर पनि हेर्नुपर्ने अवस्था छ । किनभने माथि हरारीले भनेजस्तै हामीले अहिले यो सङ्कटका बेलामा बसालेको थिति नै भोलिको पुस्तालाई सम्भावित यस्तै महामारीका विरुद्ध लड्ने अस्त्रका रुपमा हामी छोडेर जाँदैछौं । त्यसैले हामीले अहिले गलत सिकायौं भने त्यसले भोलिको पुस्ताले हामीलेभन्दा झन्बढी दुःख पाउला भनेर अहिल्यै सोचौं ।     
     
केही वर्षअघि इन्डोनेसियामा गएको सुनामीपछि एशियाली देशका समुद्री तटीय क्षेत्रमा सुनामी आउने खतराको भविश्यवाणी त्यहाँका मौसम विज्ञहरुले गरेपछि त्यहाँबस्ने भारतको मुम्बईका एकजना मछुवाका छोराले फोनमा आफ्नो बुबालाई खबर गरे ।

त्यसपछि उनका बुबा र त्यहाँ रहेका सयौँ मछुवा समयमै सुरक्षित स्थानमा पुग्न सके र ज्यान बाँच्यो । त्यसैकारण पनि हाल कुनै सामुद्रिक देशमा भूकम्प गयोभने त्यसपछि सुनामीको खतरा छ कि छैन भनेर समाचार दिने गरिएको छ ।

यसले मानिसलाई सामुद्रिक तटबाट बच्न सजिलो भएको छ । यसरी प्राकृतिक विपत्ति र महामारीका समयमा दिइएका सूचनाले हजारौं, लाखौं मानिसको ज्यान बचेका उदाहरणहरु खोजीपसे संसारमा धेरै भेटिन्छन् ।     
     
कोरोनाको सूचना र नेपाल     
     

हामीले प्राकृतिक विपत्तिको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गर्ने अनुभव हासिल गरेका छौं । हामी आफै संलग्न भएको र प्रत्यक्षदर्शी रहेको यसको एक उत्तम उदाहरण विसं २०७२ को भूकम्प हो ।
 त्यससमय नेपाल सरकारसँग प्रेस साथैमा थियो देशवासीलाई समाचारका माध्यमबाट सान्त्वना दिन । र कतिपय समयमा प्रेसले सरकारलाई डोराएको, बाटो देखाएको र कुनैबेला पहरेदारीको भूमिकामा थियो । नागरिकले कता धेरै उद्वार र राहात पाए, कता थोरै पाए या पाएनन् भन्ने विषयमा प्रेसले सरकारका कामलाई चनाखो भएर पछ्याएको थियो । 


त्यस्तै क्षति तथा जोखिम कम गरी नागरिकको ज्यान बचाउन के गर्न सकिन्छ भन्ने बारेका सूचना खोजी खोजी प्रेसले नागरिकलाई पस्किएको थियो । त्यसबाट नागरिक बढी लाभान्वित भएका र सञ्चारमाध्यमलाई पछ्याएका पनि थिए । राससको सहयोगमा
क्रमश :   
     
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्