ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना  महामारी :  सूचना र महत्व (भाग–२)       

२०७६ चैत, १३  
समाचार
NA

चैत १३, काठमाडौं । अहिले हामी महामारीमा छौं । त्यो प्राकृतिक प्रकोप र यो महामारीको सूचना उत्तिकै महत्वपूर्ण, जिम्मेवार र संवेदनशील हुन्छ । बढी महत्वको भएकैले त्यतिखेर र अहिले पनि नागरिकले बढी यही सूचना खोजेका थिए, छन् । अझ बढी यस्तो बेलामा सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सरकारकै हुन्छ । 

उसले आफ्ना सञ्चारमाध्यमहरुको प्रयोग गरेर नागरिकलाई यस विषयका सूचना र शिक्षा दिनुपर्ने दायित्व हुन्छ । अनि निजी क्षेत्रका सञ्चारबाट सरकारले सूचना लिन सक्दछ । यसरी इमान्दारीपूर्पक र सही सूचना लिदा र दिँदा त्यसको परिणाम पनि सकारात्मक र रचनात्मक नै निस्किन्छ ।     
     
तर कतिपय अवस्थामा सम्प्रेषण भएका सूचनाले नागरिकलाई झन भयभित गराएको पनि हुनसक्छ । हाम्रा पटक पटकका ‘कोरोनाका आशंकित यति जना उतिजना व्यक्तिलाई टेकू अस्पताल रिफर’ भनेर दिनदिनै र छिनछिनमै दिइरहेका छौं ।

ती विरामीको लक्षण सामान्य रुघाखोकी र ज्वरो आएको हुनसक्छ तर उनीहरुलाई हामी कोरोनाका आशंकित नै बनाइदिएका छौं । अनि सर्वसाधारणले त्यो आशङ्कितलाई त्यसैको संक्रमित नै बुझिबसेको छ । 

यसरी हेर्दा त उसको गणनामा धेरै मानिस यो संक्रमणका आइसके । त्यसो त यो कोरोना भन्ने भाइरस नै नआएको भए पनि यतिबेला नेपालमा मौसम परिवर्तनको समय हो र सामान्य रुघाखोकी र भाइरल ज्वरोका विरामी हुने गर्दथे । जाडो सकिएर गर्मी सुरु हुने यस मौसममा गत वर्ष र त्यसभन्दा अघि पनि यहाँ यसका धेरै विरामी हुन्थे । त्यसैले यसैलाई आशंकित भनेर नदिउँ ।     
     
अर्को कुरा कोरोना लाग्यो कि माानिस गाइहाल्छ, बाँच्दैन भन्नेजस्ता समाचार देखापर्दछन् । हुनत कुनै पनि रोगलाई कमजोर आँकलन गर्नु हुदैन । तर पनि कोरोनाको संक्रमण भएका मानिसको मृत्यु दर पनि त निकै नगण्य छ । 

यो समाचार तयार पार्दासम्म ४ लाख ७१ हजार मानिस संक्रमित भएकोमा १ लाख १५ हजार भन्दा बढी मानिस त निको भएर घर फर्र्किएका छन् । त्यस्तै अमेरिका जस्तो, यूरोपजस्ता देशहरुमा त रोग नियन्त्रण गर्न नसकेर त्यो हालत छ भने हाम्रोमा आयो भने झन् कस्तो होला भन्नेजस्ता त्रास पनि फैलाउने गरिएका समाचार छ्याप्छ्याप्ती भेटिन्छन् ।     
     
हामीले अनलाइनहरुमा या सामाजिक सञ्जालहरुमा जानी नजानी फलाना देशमा उपचारका क्रममा संक्रमित भएर यति, उति जना चिकित्सक मरे भनेर दिएका छौं । यसले हाम्रो देशमा पनि यो भाइरसको महायुद्धसँग लड्न तयार रहेर बसेका चिकित्सकहरुलाई निराश तुल्याउन सक्छ । 

फेरि यो लेखको आसय यस्तो सूचनाबाट नेपालका चिकित्सक वञ्चित हुनुपर्छ भनेर उनीहरुको अधिकारमाथि धावा बोल्ने चेष्टा पटक्कै होइन । यस्ता समाचारहरुले हाम्रा चिकित्सकलाई नभएर उनका परिवार, साथीभाइहरुलाई पो विचलित बनाइदिन्छ कि भनेर पनि सोचौं ।     
     
कसै कसैले यो महामारीको आडमा धमिलो पानीमा माछा मार्न खोजेजस्तो देखिए पनि मलुकको प्रेस सरकार र नागरिकको साथमै रहेको अनुभव छ हाल महामारीको ठूलो प्रकोपमा परेको अमेरिकी शहर न्युयोर्कमा बसेर पत्रकारिता गरिरहेका चुडामणि भट्टराईको । 

उनको सुझाव छ– नागरिक त अमेरिकामा पनि त्रसित नै छन् र यहाँका मिडियाले सान्त्वता दिएको देखिन्छ, नेपाली मिडियाले पनि सरकारलाई पहरेदारी र नागरिकलाई सान्त्वना साथसाथमै दिएको जस्तै म देख्दछु । उनले महामारीको सूचना अरु सामान्य अवस्थाको जस्तो नभएर बडो संवेदनशील हुने भएकोले सञ्चारकर्मीले सोचबिचार पुर्‍याउनुपर्ने बताए ।

डिसी नेपाल अनलाइन पोर्टलको ग्लोबल एडिटर भट्टराईले नेपाली नागरिकलाई सान्त्वना दिन नै होला नेपालीहरुको बसोबास रहेका १५ देशबाट कारोनाको अवस्थाबारे प्रत्यक्ष प्रशारणको व्यवस्था गरिरहेका छन् ।

यस्तो बेलामा आफन्तहरुमा परेको पीरमर्का कम गर्न त्यहीं बसोबास गरिरहेका नेपाली समाचारदातामार्फत लाइभ गर्ने गरिएको छ । उनीहरुले त्यहाँको अवस्थाका अतिरिक्त त्यहाँ रहेका नेपालीको अवस्थाबारे पनि जानकारी दिने गर्दछन्, जुन आवश्यक र सान्दर्भिक छ ।     
     
वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी अड्कलबाजी र निराधार हल्लालाई समाचारको आवरणमा प्रस्तुत गर्दा समाजमा भ्रम फैलिन गई अनाहकमा जनधनको नोक्सानी हुनजाने भएकोले सूचना सम्प्रेषणमा सजगता अपनाउन सुझाउँछन् ।

आफ्नो फेसबुक वालमा  उनी लेख्छन्, ‘भनिन्छ, सूचना प्रविधिको यस जमानामा जन चासोका हरेक सूचना बन्दुक सरहको धारिलो हतियार सरह हो । तर के यस्ता ‘बन्दुक’ तालीमप्राप्त हातमा मात्र छन् त आजको नेपालमा ? किमार्थ छैनन् ।’ उनी सूचना संकलन, सम्पादन/ प्रशोधन र वितरणको काम तालीमप्राप्त सञ्चारकर्मीहरुले मात्र गर्ने हो भन्छन् ।   
     
चितवनको कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका एक युवाको निधनको समाचारले समाजमा भ्रम छरेको भन्दै अधिकारीले चासो व्यक्त गरेका हुन् । पुष्टि नभएको सूचनाको आधारमा चितवनमा एक युवाको ज्यान कोरोनाले लियो भनेर प्रवाह गरिएको समाचारले जनस्तरमा भय चर्काएको उनी उल्लेख गर्छन् । 

तर सोही समाचारको सानो आकारको उपशीर्षकमा ‘कोरोना पुष्टि हुन बाँकी छ’ पनि भनिएको थियो । यसै विषयलाई वरिष्ठ पत्रकार अधिकारी लेख्छन्, ‘यो समाचारले प्रश्न उठाउँछ कि पुष्टि नहुँदैको अवस्थाको सूचनालाई समाचारको रुप दिने बाध्यता के थियो ?’    
     
यतिखेर फलानो अस्पतालमा आइसोलेसनमा रहेका विरामीको मृत्यु भयो भन्ने शीर्षकमा अनलाइनहरुमा समाचार आउन थालेका छन् । जबकि अस्पतालले आइसोलेसन कोरोना लागेको कारणले नभई सामान्य रुघाखोकीमा पनि राखेको छ ।
 

अनि अरु नै कारणले ज्वरो आएका व्यक्तिलाई पनि अस्पतालले एक्लो कोठामा राखिरहेको छ । उसको अरु नै कारणले निधन हुँदा पनि समाचारमा भने आइसोलेसनमा रहेका व्यक्तिको निधन भनेर दिने गरिएको छ । त्यसो गर्दा नागरिकमा त्रास पैदा हुने हेक्का सञ्चारकमीले राख्नुपर्छ ।     
     
सरकारले आफूले दिने सूचनाको प्रवाह गर्ने प्रणालीलाई सहज र एकीकृत बनाइदिन सके सञ्चारकर्मीलाई र त्यसले समग्र नेपाली नागरिकलाई सजिलो हुनेछ । यसका लागि मन्त्रीले पत्रकार सम्मेलन नै गर्नुपर्छ भन्ने छैन । एक अलग्गै वेबसाइट खोल्ने गर्ने र छिनछिनमा कोरोनासम्बन्धी सूचना अध्यावधिक गरेर त्यसैमा राखिदिने गर्न सकिन्छ । 

यस्तो बेलामा देशबासी सबैलाई इन्टरनेट सेवा पहूँचयोग्य बनाइदिए सबैलाई सुसूचिन हुन सजिलो पर्नेछ । जस्तो कि अमेरिकामा लगभग मिनेट मिनेटमै सिडीसी (सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन्’ को वेबसाइट अध्यावधिक हुने गरेको छ । यस महामारीसम्बन्धी सबै सूचना सबैले त्यसैबाट हेर्छन्, मिडियाले पनि त्यहींबाटै लिन्छन् ।     
     
यो वेबसाइटमा कारोनाको बारेमा जानकारी र सूचनामूलक निर्देशिका पनि राखिएको छ । त्यस्तै अरु कुनै पनि सरकारी या गैरसरकारी निकायले पनि कोरोनासम्बन्धी जानकारी राख्नुपर्यो भने सोही वेबसाइटबाट लिन्छन् र आ–आफ्ना साइटहरुमा राख्ने गर्दछन् । 

अनि त्यो सूचनाको तलपट्टि सीडीसी निर्देशिकामा आधारित भनेर लेख्ने गर्दछन् । समय समयमा राष्ट्रपतिले पनि पत्रकार सम्मेलन गर्ने गर्छन्, ह्वाइटहाउसमै । तर त्यो पत्रकार सम्मेलन उपस्थितहरुबीच दुरी कायम गरेर र ‘इन्फेक्सन’ नहुनेगरी तोकिएको स्थानमा गर्ने गरिएको छ ।     
     
यस्तो बेलामा सञ्चारमाध्यमहरुले यस महामारीबाट तुलनात्मक रुपमा बच्न अथवा नियन्त्रण गर्न सकेका देशहरुका सफलताका उदाहरणहरु पनि दिन सकिन्छ । दक्षिण कोरिया, सिंगापुर, ताइवान, जापानजस्ता देशहरुले कसरी त्यहाँको अवस्थालाई नियन्त्रणमा लिन सकेका छन् भन्ने उदाहरणहरुले हामीलाई पनि लड्न सजिलो बनाउनेछ ।
 

जस्तो कि चार दिन अघि सिएनएन टिभीले इटालीका नागरिकहरुले भाइरस प्रवेश गरेपछि पनि त्यसको बेवास्ता गर्दै पछिसम्म नै भोजहरु गर्ने, होटल रेष्टुरेन्टहरुमा जम्मा भएर खाने, समारोहहरु मनाउनेजस्ता कामलाई निरन्तरता दिइ नै रहेका कारण यस्तो विकराल रुप लिएको भनी समाचार दिएको थियो ।     
     
यस्तो बेलामा संसारको एउटा कुनाको चिकित्सक, स्वास्थ्य अधिकारी या देशले अख्तियार गरेको विधि र रणनीतिको सार्वजनिकीकरणलाई अर्को कुनाको यस्तै योद्धाले अनुशरण गर्न सक्छ, सर्वसाधारण नागरिकलाई पनि यसले सिक्न मद्दत पुर्‍याउँछ । 

यसमा उसले अझै आफ्नो दिमाग र सीप मिसाउन सक्यो भने यो अदृश्य शक्तिका विरुद्धको लडाईँमा अझै परिस्कृत प्रगति हासिल गर्न सघाउँछ । यसरी गरिने सूचना सम्प्रेषण र आदान प्रदानले नागरिकमा सचेतना त ल्याउँछ र राज्य प्रणालीलाई पनि आफ्नो रणनीतिक सफलतामा सघाउँछ ।     
     
विसं २०७२ पहिले भूकम्पमा कामगर्ने गैरसरकारी संस्थाहरुले नेपालमा ७ रेक्टरको मात्र भूकम्प आयो भने पनि सखापै हुन्छ, लाखौं मानिस मर्छन्, लाखौं घर भत्किन्छन् भन्थे । पछि त्यो भन्दा ठूलो भूकम्प आयो तर तिनले भनेजति क्षति भएन । 


अनि तिनैले भन्दै हिँडे कि– त्यत्रो ठूलो भूकम्प आउँदा पनि किन यति थोरै क्षति भयो ? त्यसैले कारोनाको क्षतिको बारेमा पनि अहिले नै अस्वाभाविक अनुमान बन्द गरौं । यसले घरभित्रै थुनिएर एकान्तबासमा बसेका नागरिकलाई थप एकांकी एवं एकोहोरो बनाउने खतरा बढाउँछ । त्यो भन्दा बढी क्षति कमगर्ने समाचार दिउँ, जसले सरकार र स्वास्थ्य अधिकारीलाई रचनात्मक सहयोग पुरयाउन सक्छ ।

नआत्तिउँ, यसको क्षति हामी डराएभन्दा धेरै नै थोरै होस् । बरु भोलिको पुस्ताका लागि पनि सम्भाव्य महामारीको नियन्त्रणका लागि ‘समाधानको सूत्र’ दिन सकौं । राससको सहयोगमा
(समाप्त)
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्