ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कालीमाटी तरकारी बजारमा तरकारी आयात घट्यो

२०७६ चैत, १४  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । लकडाउनका कारण राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आयात र विक्री घटेको छ ।  

सामान्य अवस्थामा दैनिक ८/९ सय टनसम्म तरकारी आयात हुने कालीमाटी थोक बजारमा लकडाउन पछिका दिनमा आयात घट्दो छ । मंगलवार साढे ५ सय टन, बुधवार ४ सय ७० टन र बिहीवार बेलुकासम्ममा मात्र २६० टन तरकारी आयात भएको बजार विकास समितिले बताएको छ ।

कालीमाटीसहित काठमाडौंका अन्य ठूला तरकारी बजारमा विक्री न्यून रहेको व्यापारीहरू बताउँछन् । बल्खु तरकारी बजारमा अहिले कारोबार ठप्प जस्तै छ । काठमाडौं बाहिरबाट तरकारी आउन सकेको छैन भने बिहानको समयमा १/२ घण्टा जति बजार खुले पनि प्रशासनले आएर बन्द गराइदिने गरेको बल्खु तरकारी बजार विकास समितिका प्रबन्ध निर्देशक नेल्शन श्रेष्ठले बताए ।

तरकारी जस्तो आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अवरोध आएपछि कालीमाटी बजार दैनिक ७ घण्टा खोल्ने बारेमा छलफल शुरू भएको छ । प्रहरीको सुरक्षा समन्वयमा दैनिक ७ घण्टासम्म तरकारी बजार सञ्चालन गर्न प्रशासनले आग्रह गरेको र त्यसबारेमा छलफल भएको कालिमाटी तरकारी बजार समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए । 

उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तु तरकारीको अभाव हुन नदिन दैनिक बिहान ३ देखि ७ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म बजार खोल्न र व्यापारीहरूलाई बजारसम्म सजिलै आउन सकिने व्यवस्था मिलाइने बारेमा छलफल थालिएको श्रेष्ठको भनाइ छ । 

श्रेष्ठका अनुसार तरकारी बजार खुला नै भए पनि व्यापारी र यहाँ आउने ग्राहकहरूलाई भने बजारसम्म पुग्नै समस्या छ । ‘यहँका व्यापारीहरू र दैनिक रूपमा तरकारी किन्न आउने खुद्रा व्यापारीहरूलाई पासको व्यवस्था मिलाउनुपर्छ’, उनले भने । नजीकमा घर भएका व्यापारी र ग्राहकहरूलाई तरकारी किन्न आउन सम्भव भए पनि टाढाकालाई बजारसम्म आउन लकडाउनका कारण समस्या भएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्