ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वाथ्यकर्मीलाई सुरक्षित राखौं

२०७६ चैत, १४  
सम्पादकीय
NA

सरकारले ३ दिनभित्र चीनबाट कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि आवश्यक उपकरण र अन्य सामग्री आयात गर्ने भएको छ । शनिवारसम्ममा चीनको क्वाङचाओबाट ती सामग्री काठमाडौं ल्याइपुर्‍याउने तथा आइतवारबाट वितरण गर्ने तयारी सरकारको छ ।

सरकारको ध्यान अब पीपीईलगायत स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउने र उपचारका लागि स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण बनाउनेमा जानैपर्छ ।

सरकारले आह्वान गरेको लकडाउनलाई नागरिकहरूले राम्ररी पालना गरे । एकाध घटनाबाहेक मुलुकभर लकडाउन प्रभावकारी नै देखिएको छ ।

अहिले विदेश र राजधानी काठमाडौंबाट पनि मानिसहरू गाउँमा पुगेका छन् । यसले कोरोना आशंकितहरूको संख्या विस्तारै बढ्ने देखाउँछ । कोरोनाको आशंकामा मानिसहरू परीक्षणका लागि अस्पतालमा जाँदा पीपीई जस्ता व्यक्तिगत सुरक्षा सामग्री स्वास्थ्यकर्मीका लागि नहुँदा उपचारबाट वञ्चित हुनुपरेका समाचार पनि बाहिर आएका छन् ।

यस्तो अवस्थामा सरकारको ध्यान अब पीपीईलगायत स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउने र उपचारका लागि स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण बनाउनेमा जानैपर्छ ।

त्यस्तो त, कोरोना भाइरसको संक्रमण फैलन शुरू नहुँदै विज्ञहरूले पूर्वतयारीमा ढिला भइरहेकोतर्फ सचेत पार्दा पनि सरकारले आवश्यक उपकरणहरू आयात गर्न किन तयारी गरेन भन्ने प्रश्न उठेको छ ।

चीनबाहिर कोरोना भाइरसको संक्रमण फैलन थालेसँगै नेपालमा पनि यसको महामारी हुने सम्भावना सरकारले समेत आकलन नगरेको होइन ।

ढिलै भए पनि पछिल्लो समय सरकारी कदमहरू स्वागतयोग्य छन् । तर, कोरोनाका संक्रमित देखापर्न थालेपछि भने सरकारी तयारी खासै नभएको प्रतीत हुन थालेको छ । कोरोना संक्रमितको जाँचदेखि उपचारसम्ममा संलग्न कर्मचारीका लागि सबैभन्दा आवश्यक व्यक्तिगत सुरक्षा उपकरणको अभाव अहिले टड्कारो देखिएको छ । त्यसैले कोरोना भाइरसका आशंकित व्यक्तिहरू आउँदा अस्पतालहरूले परीक्षण गर्न सकेका छैनन् । टेकुस्थित ट्रपिकल अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी जोखिमपूर्ण अवस्थामा रहेको समाचार आइरहेको छ । उनीहरू आफै आतंकित भएको अवस्थामा बिरामीको उपचार गर्न पक्कै समस्या आउन सक्छ । ती आफै संक्रमित हुने सम्भावना उच्च छ । कोरोना संक्रमणको उच्च जोखिमका रहेका ती स्वास्थ्यकर्मीलाई जोगाउनु पहिलो कर्तव्य हुन आउँछ ।

लकडाउनले संक्रमण फैलन रोक्न मद्दत गर्छ तर कोरोना रोकथामका लागि यो मात्र पर्याप्त छैन । नेपालको परीक्षण पर्याप्त नभएकाले कतिपय संक्रमितहरूको पहिचान हुन सकेको छैन, जसले गर्दा यो भित्रभित्रै भुसको आगोझैं सल्किरहेको हुन सक्छ । यसो हुँदा परीक्षणका लागि आवश्यक कीट र सुरक्षा उपकरणको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ । सरकारले बेलैमा यी सामग्रीको जोहो गर्न प्रयास गरेको भए अहिले स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार हुन्थ्यो ।

संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको संख्या हेर्दा अहिले दैनिक हजारौं व्यक्तिको कोरोना भाइरस परीक्षण हुनुपर्ने हो । हालसम्म ६ सयजनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । संक्रमितको न्यून संख्या भए पनि कोरोना भाइरसको महामारीका लागि खतरा नै हो । यसबाट स्वास्थ्यकर्मीहरू नै सबैभन्दा पहिला प्रभावित हुन सक्छन् । आइसोलेशन भनिए पनि त्यो संक्रमण रोक्न सक्ने खालको छ कि छैन भन्ने स्पष्ट छैन ।

कोरोना संक्रमितको उपचारका लागि खट्ने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय छ । तर, संकटको यो घडीमा भत्ताभन्दा पनि सुरक्षाको उपाय पहिलो प्राथमिकतामा पर्नुपर्ने हो । हो, अबका केही दिनमा नै सुरक्षाका उपकरणमात्रै होइन परीक्षण र उपचारका लागि आवश्यक उपकरण आइपुग्नेछन् । तर, तिनको वितरण पनि सही ढंगले हुनुपर्छ । सबैभन्दा बढी आवश्यकता कसलाई छ, को बढी जोखिममा परेको छ तिनले यस्ता उपकरण पहिलोपटक पाउनुपर्छ । प्रयोगशालामा काम गर्ने जनशक्ति, उपचारमा संलग्न चिकित्सक आदिलाई ती उपकरण उपलब्ध गराउनु भनेको उनीहरूको मनोबल उच्च बनाउनु हो ।

अग्रपंक्तिमा बसेर काम गर्ने मानिसलाई सुरक्षित पार्न आवश्यक सामान जोहो गर्न बारम्बार आग्रह गर्दा पनि सरकारले तयार छौं भन्ने जवाफ दिएको थियो । तर, अहिले परिस्थिति हेर्दा त्यो भएको पाइँदैन । स्वास्थ्यकर्मी मात्र होइन, सुरक्षाकर्मी पनि कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटेका छन् । संक्रमणका आशंकित व्यक्तिहरूको खोजी र तिनलाई अस्पताल पुर्‍याउनेलगायत काममा समेत उनीहरूलाई परिचालित गर्नुपर्ने हुन्छ । त्यसो हु“दा अग्रपंक्तिका रहने सबैका लागि सुरक्षाको बलियो व्यवस्था तत्काल गरिनु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्