ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना प्रभाव : नलगाड र जगदुल्लाको निर्माण ठप्प    

२०७६ चैत, १४  
कर्णाली प्रदेश
Image Not Found

चैत १४, जाजरकोट । कोरोना भाइरस (कोभिड –१९) का कारण देशभर लकडाउन गरिएपछि नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणदेखि सडक निर्माणसम्मको काम रोकिएको छ ।     
     
आयोजनाका इञ्जिनीयर पदम थापाले नलगाड नदीको किनारै किनार बाँध निर्माण स्थलसम्म सडक निर्माणको काम भईरहेको तर कोरोना संक्रमणका कारण सबै मजदुरहरु काम छोडेर घर लागेपछि विस्फोटन लगायतका सबै काम रोकिएको बताए ।     
     
मुआब्जा वितरणका लागि जाजरकोटका राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, ज्योति विकास बैंकले गाउँमै गएर स्थानीयवासीको खाता खोलेर फर्के पनि लकडाउनका कारण रकम भुक्तानी गर्न भने पाएका छैनन् ।     
     
जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावितको खातामा मुआब्जा रकम जम्मा गर्ने तयारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार ४ हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुंगो लागेर काम शुरु भइसकेको थियो ।

प्रतिरोपनी रू.६ लाखका दरले मुआब्जा रकम दिने सहमतिपछि मुआव्जाको काम शुरु भएको थियो । अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुग्नै लाग्दा कोरोना भाइरसको जोखिमका कारण काम ठप्प भएको थापाले जानकारी दिए ।     
     
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।     
     
कर्णाली प्रदेशको सामरिक महत्वको आयोजनाका रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनुका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञहरूको तर्क छ ।     
     
अहिले नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत रूपमा निर्माण हुने विद्युत् उत्पादनगृहको अवस्था कमजोर वा जटिल के कस्तो छ पत्ता लगाउन सुरुङको काम चलिरहेको थियो । उता ३० महीनाभित्र निर्माणकार्य पूरा गर्ने भनी गरिएको सम्झौता सकिएर थपिएको छ महीनासम्म म्याद गुज्रिँदासमेत अझै डीपीआरको काम पूरा हुनसकेको छैन ।     
     
रोकियो जगदुल्ला जलविद्युतको मुआव्जाको काम     
     
डोल्पास्थित जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य पनि रोकिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको भए पनि लकडाउन पछि पूुरै ठप्प भएको जानकारी दिए ।

फागुन १४मा ईलबाट शुरु भएको मुआव्जाको काम दोस्रो चरणमा अर्थात् चैत १४ गते काईगाउँमा वितरण गरिने पूर्व निर्धारित कार्यक्रम रद्द भएको प्रजिअ सुनारले जानकारी दिए ।     
     
प्रजिअ सुनारले इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी रू.५ लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी रू.५ लाख १५ हजारका दरले मुआब्जा वितरणको मापदण्ड निर्धारण गरी काम शुरु गरिएको भए पनि अवस्था सामान्य नहुन्जेलसम्म सवै प्रकारका काम ठप्प भएको जानकारी दिए ।     

कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनिे भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको आयोजनाको डीपीआरको काम समेत ठप्प भएको छ । 

आयोजना प्रमुख सञ्जय सापकोटाले प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाकोे एक महीनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने तयारी रहेको तर लकडाउनका कारण पूर्ण रूपमा रोकिएको बताए  । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्