आफूलाई आवश्यक पर्ने रकम संकलन गर्न जारी गर्ने वित्तीय औजारलाई धितोपत्रको रूपमा केही धितोपत्र ऐनहरूमा पनि उल्लेख गरिएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार धितोपत्र भन्नाले संगठित संस्थाले जारी गरेका सेयर, स्टक, बन्ड, डिबेन्चर, सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाहरूले जारी गरेको ऋणपत्र बचतपत्र तथा बन्डलाई समेत सम्झनुपर्ने हुन्छ । धितोपत्र शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकेको अन्य धितोपत्र वा त्यस्ता धितोपत्र खरिद, विक्री वा विनिमय गर्न सक्ने अधिकार पत्रसमेतलाई जनाउने उल्लेख छ । धितोपत्रमा कारोबार गर्ने हरेक लगानीकर्ताहरू आफ्नो लगानीमाथि सधैं सचेत हरनुपर्छ । यसका लागि धितोपत्र बजार संयन्त्र, धितोपत्र बजारमा आएका अत्याधुनिक औजार, जोखिम तथा प्रतिफल, पोर्टफोलियो व्यवस्थापन, लगानीकर्ताको हक अधिकार एवं हकहितको सुरक्षासम्बन्धी व्यवस्थाका बारेमा यथेष्ठ जानकार हुनुपर्छ । साथै, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार सहभागितासम्बनधी जानकारी उपयुक्त धितोपत्र औजारको छनोट गरी लगानीका प्रतिफल सुनिश्चित गर्न सक्ने सम्बन्धमा सामान्य जानकारी एवं निष्कासनकर्ता कम्पनी, सूचीकृत कम्पनी तथा धितो व्यवसायीको विगत तथा व्यावसायिकता, भविष्यको सम्भावनासम्बन्धी प्रमुख सूचकहरूको सम्बन्धी ज्ञान लगानीकर्ताले राख्नुपर्छ ।
(गोपालकृष्ण आचार्यको लेखबाट)
वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३