ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सरकार र प्रहरीबीच समन्वय नहुँदा खाद्यान्न पसल सञ्चालन गर्न समस्या

कालिमाटीमा तरकारी कुहियो, बजारमा अभाव

२०७६ चैत, १७  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउनको घोषणा गरे पनि खाद्यान्नलगायत अत्यावश्यक पसलहरू खोल्न दिने निर्णय भएको थियो । तर, सरकारी अधिकारी र प्रहरी प्रशासनबीच समन्वय नहुँदा पसल सञ्चालनमा अवरोध पुगेको हो । 

पसलबाट सामान विक्री गर्न पनि समस्या भएको व्यापारीहरूले गुनासो गरेका छन् । सरकारले खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालन गर्न दिने निर्णय गरे पनि सरकार र प्रहरी प्रशासनबीच समन्वयको अभावले गर्दा व्यापारीहरूलाई पसल खोल्नमा समस्या सृजना भएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

व्यापारीहरूलाई आफ्नो घरबाट पसलसम्म जान पनि समस्या भएको छ । बिहानबेलुका १÷२ घण्टा पसल खोलेर उपभोक्तालाई सेवा दिए पनि प्रहरी आएर तत्काल बन्द गराइदिने भएकाले व्यापारी र उपभोक्ता दुवैले समस्या भोग्नुको परेको उनले बताए । ‘सरकारले पसल खोल्न आग्रह गर्छ तर प्रहरी प्रशासनले आएर बन्द गर भन्छ कसको कुरा मान्ने ? उनीहरूबीच आफैभित्र समन्वय हुन सकेको छैन,’ उनले भने ।

यस्तो समस्या सरोकारवाला निकायमा गुनासो गरे पनि त्यसको सुनुवाइ नभएको उनी बताउँछन् । यस्तो बेलामा जथाभावी चर्को मूल्य असुल्ने कार्य नगर्न व्यापारीहरूलाई आग्रह गरेको र यदि लिएको पाइएमा त्यस्ता व्यापारीहरूमाथि कारबाही गरिने उनले जानकारी दिए ।

उपभोक्तालाई दैनिक उपभोग्य सामग्री किन्न सहज बनाउने उद्देश्यले नेपाल सरकारले खाद्य संस्थानमार्फत होम डेलिभरी सेवा सञ्चालनमा ल्याउने भने पनि हालसम्म यसबारे काम अगाडि बढेको छैन ।

आपूर्ति सहज बनाउन नसक्दा उपभोक्तालाई अत्यावश्यक खाद्यान्नलगायत वस्तु किन्न समस्या भएको छ । यद्यपि भाटभटेनी, बिगमार्टलगायत केही ठूला व्यापारिक केन्द्रहरूले अनलाइन डेलिभरीको व्यवस्था गरेका छन् । तर, सानोतिनो किनमेल गर्ने उपभोक्तालाई अनलाइन डेलिभरी नदिने भएकाले सामान्य उपभोक्ता समस्यामा परेका छन् । 

खाद्य तथा व्यापार कम्पनीका कार्यकारी निर्देशक नेत्र सुवेदीले खाद्यान्न सकिएर समस्यामा परेकाहरूको फोन आएमा सम्बीन्धत वडाका जनप्रतिनिधिहरूको समन्वयमा भ्यानमार्फत घरमै सामान डेलिभरी गरिरहेको बताए । हाल अनलाइनबाट सेवा दिन एप निर्माणको काम भइनसकेकाले फोनबाट नै सेवा सुचारू गरिएको उनको भनाइ थियो ।

साथै, स्थानीय तहमा अत्यावश्यक ठाउँको पहिचान गरी स्थानीय निकाय, प्रहरी प्रशासन र व्यवसायीहरूको समन्वयमा पसल सञ्चालन गर्नुपर्ने उनले बताए । एप निर्माण भइसकेपछि फुडमान्डु, भाटभटेनी, बिगमार्टलगायत सस्थासँग मिलेर काम गरिने पनि उनकोे कथन थियो ।

हाल सरकारले बिदाको दिनबाहेक अन्य दिनमा उपत्यकाका विभिन्न ठाउँ भक्तपुरको सूर्य विनायक, काठमाडौंमा रामशाहपथ र थापाथली तथा ललितपुरको नक्खु विक्री केन्द्रबाट सेवा दिइरहेको छ । लगनखेल विक्री केन्द्र सञ्चालनमा आउने तयारीमा छ । यसबाहेक उपत्यकाबाहिरका जिल्लाका शहरहरूमा पनि यही तरीकाबाट काम भएको उनले बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार गृह र आपूर्ति मन्त्रालयले खाद्यान्न पसल बन्द छैनन् भने पनि प्रहरीले बन्द गर्दै हिँडेको छ । खाद्यवस्तुको आपूर्तिका लागि यी निकायबीच समन्वय हुनु जरुरी रहेको उनले बताए ।

थोक विक्रेताहरूले खुद्रा विक्रेताहरूलाई सामान ढुवानी गर्न नसक्दा बजारमा अभाव हुने अवस्था आइसकेको भन्दै निश्चित समय तोकेर सामानको ढुवान र विक्री गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । स्थानीय सरकार, प्रहरी प्रशासन, आपूर्ति विभागको सहकार्यमा उपभोक्ताहरूलाई घरनजीकैको पसलबाट सामान किन्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा समेत व्यापारी र उपभोक्ताहरूलाई आवतजावतमा समस्या हुँदा बजारमा आयात भएको तरकारी कुहिन थालेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।

खुद्रा पसलहरू नखुल्दा कालीमाटीको तरकारी नविक्ने भएकाले तरकारी सड्न थालेको उनले बताएका छन् । खुद्रापसल नखुल्दा उपभोक्ताले तरकारी खान नपाएको अवस्था छ । तर, कालीमाटीमा भने तरकारी विक्री हुन नसकेर सड्न थालेको उनले जानकारी दिए ।

यद्यपि लकडाउन भएदेखि कालीमाटीमा भित्रिने तरकारीको परिमाणमा भने केही गिरावट आएको कालीमाटी फलफूल तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए ।

यसअघि सामान्य अवस्थामा दैनिक ८/९ सय टनसम्म तरकारी आयात हुने कालीमाटी बजारमा बुधवार ४ सय ७० टन, बिहीवार २६० टन, शुक्रवार ६९० टन र शनिवार दिउँसोसम्म २४३ टन तरकारी आयात भएको बजार बिकास समितिले बताएको छ ।

देश बाहिरबाट तरकारी ल्याउने गाडीलाई कालीमाटी बजारमा निषेध

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारदेखि देश बाहिरबाट तरकारी बोकेर आउने गाडीहरूलाई बजारभित्र प्रवेश गर्नमा रोक लगाउने निर्णय गरेको छ ।

कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार हालका लागि देश बाहिरबाट तरकारीको अर्डर नगर्ने निर्णय विकास समितिले गरेको छ । व्यापारीहरूले अटेर गरी तरकारी आयात गरेमा त्यस्ता गाडी र चालक दुवैलाई बजारमा प्रवेश निषेध गरिनेछ ।

मंगलवारदेखि नै लागू हुने गरी थोक कारोबारलाई बिहान २ देखि ७ बजे र खुद्रा कारोबारका लागि बेलुका ५ देखि ७ बजे समय निर्धारण गरिएको छ । यसअघि बिहानको समयमा मात्र बजार खुल्दा थोक तथा खुद्रा कारोबार एकैचोटि हुँदा भीडभाड बढेकाले यस्तो निर्णय गरिएको श्रेष्ठले बताए ।

अबदेखि तरकारी बजारभित्र मोटरसाइकल पार्किङ पनि निषेध गरिएको छ । ग्राहकले तरकारी बजारबाहिर नै आप्mना दुईपांग्रे सवारी पार्किङ गर्नु पर्नेछ । अबदेखि थोक कारोबार गर्दा जेजस्तो अवस्थामा प्याकेजिङ भएर आएको छ सोही अवस्थामा प्याकेज नखोली विक्री गर्नुपर्ने निर्णय बजार समितिले गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्