arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि र पशुपालनको क्षेत्रमा बृहत् योजना ल्याएका छौं

२०७६ पौष, २४  
अन्तरवार्ता
Image Not Found
अरुण गाउँपालिका अध्यक्ष, गजेन्द्र बहादुर कार्की

स्थानीय तहको निर्वाचनपछि भोजपुरको अरुण गाउँपालिकाले विकास निर्माणलाई गति दिएको छ । आफूहरूले जनताको चाहना र आवश्यकता अनुसारका काम प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्की बताउँछन् । गाउँपालिकाले सडक, खानेपानी, विद्युत् लगायत पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा पनि योजनाबद्ध ढंगले काम गरेको उनको भनाइ छ । प्रस्तुत छ, गाउँपालिकामा सञ्चालित विकासका कार्यक्रम, कार्यप्रगति, आगामी योजना जस्ता विषयमा आर्थिक अभियानका भोजपुर संवाददाता गणेश विष्टले गाउँपालिका प्रमुख कार्कीसँग गरेको कुराकानीको सार :

तपाईं अध्यक्षमा निर्वाचित भएर आएपछि गाउँपालिकामा कस्ता काम गर्नुभयो ?
समृद्ध गाउँपालिका बनाउने मेरो उद्देश्य हो । जिल्लाकै नमूना गाउँपालिका बनाउने उद्देश्यले काम गरिरहेका छौं । हामी निर्वाचित भएर आएपछि जनताको मुख्य आवश्यकतामा ध्यान दिएका छौं । सोही अनुसार विकासका काम अघि बढाएका छौं । सबै स्थानीयवासीमा खानेपानीको पहुँच पुर्‍याउन लागिपरेका छौं । अहिलेसम्म ९० प्रतिशत जनताको घरमा खानेपानी पुर्‍याएका छौ । गाउँपालिकामा खानेपानी विकराल समस्या देखेपछि कतिपय व्यक्तिगत सुविधा लिन सकिनँ । राज्यले गाडी किन्न दिएको पैसा जनतालाई खानेपानी पुर्‍याउने काममा खर्च गरेँ ।

अर्काे, हाम्रो गाउँपालिकाले सुत्केरी भेट्ने कार्यक्रम राखेको छ । गाउँपालिकाभित्र सुत्केरी भएकी महिलाको घरमा पुग्ने गरेका छौं । आवश्यकता अनुसार पौष्टिक पदार्थ, खाद्यान्न लगायत सामग्री सहयोग गर्छौं । त्यो भनेको सम्बन्धित परिवारको आर्थिक अवस्था बुझ्ने प्रयास पनि हो ।

आर्थिक अवस्था कमजोर भएकालाई थप खानेकुरा र उपचार गर्न नसक्नेलाई उपचारको व्यवस्था पनि गरेका छौं । आर्थिक अवस्था कमजोर भएका सुत्केरी महिलालाई काठमाडौंसम्म पुर्‍याएर उपचार गरेका छौं । गाउँपालिकाका सबै वडालाई गाउँपालिकासँग जोड्न सडक निर्माण भइरहेको छ । पुराना सडकको स्तरोन्नति तथा नयाँ सडक विस्तारको काम अघि बढेको छ । त्यस्तै सामाजिक क्षेत्र र राजनीतिमा योगदान पुर्‍याउने व्यक्तिलाई कदरपत्र सहित सम्मान गर्ने विशेष योजना ल्याएका छौं ।

गाउँपालिकाले गत आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रमा के कस्ता काम गर्‍यो ?
खानेपानी आयोजनाको काम गरियो । यस अन्तर्गत खानेपानीको मुहान सफाइ तथा संरक्षण गर्ने, नयाँ मुहानको खोजी गर्ने, मुहान नभएका ठाउँमा डीप बोरिङ प्रणालीमार्पmत पानी निकाल्ने र वितरणको काम भएका छन् । सबै वडामा सडक सञ्जाल पुर्‍याएका छौं । ठूला मालवाहक गाडी जान सक्नेगरी सडकको स्तरोन्नति गरेका छौं । कतिपय ठाउँमा विद्युतीकरणको काम पनि अघि बढाएका छौं ।

कृषि तथा पशुपालनको क्षेत्रमा कस्ता योजना ल्याउनु भएको छ ?
कृषि तथा पशुपालनको क्षेत्रमा हामीले बृहत् योजना ल्याएका छौं । गाउँपालिकालाई दूध र जुसमा आत्मर्निभर बनाउने लक्ष्यका साथ काम अघि बढाएका छौं । यो गाउँपालिकामा घाँस प्रशस्त मात्रामा पाइने भएकाले पशुपालन प्रवद्र्धनको सम्भावना बढी छ । त्यसैले कृषकलाई उन्नत जातका गाई अनुदानमा उपलब्ध गराउने र उत्पादित दूध संकलन केन्द्रको व्यवस्था गर्ने योजना अघि सारेका छौं । कृषिका अन्य कार्यक्रम सञ्चालनको अवधारणा पनि छ । गाउँपालिकामा सुन्तला, कागती, अलैंची, उखु लगायत फलफूल उत्पादन हुन्छ । यसको व्यावसायिकता विकास र प्रवर्द्धनका लागि योजना ल्याएका छौं । फलफूलखेती विस्तारका लागि विभिन्न जातको फलफूलका बिरुवा वितरण गरेका छौं । गाईपालन शीर्षकमा यो वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं ।

शिक्षा क्षेत्रको विकासमा कसरी काम गरिरहनु भएको छ ?
शिक्षाको केन्द्रीय नीतिमै समस्या छ । त्यसमा पनि सुधार गर्नुपर्छ । प्रत्येक विद्यालयका शिक्षकलाई १० देखि ४ बजेसम्म अनिवार्य बस्न निर्देशन गरिएको छ । शिक्षकको सरुवामा पनि विद्यालयको अवस्था हेरेर मात्र अनुमति दिने गरेका छौं । अहिले विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय घेराबार, भवन निर्माण तथा मर्मत गर्ने लगायत काम भइरहेका छन् । शैक्षिक क्षेत्रको विकासका लागि सरोकारवाला पक्षसँग अन्तरक्रिया पनि गर्दै आएका छौं । आगामी दिनमा शिक्षकलाई प्रविधिमैत्री तालीम दिने योजना छ । शैक्षिक गुणस्तर सुधारका लागि विस्तृत योजना बनाएर अघि बढ्ने योजनामा छौं । यो वर्ष गरीब तथा विपन्न चारजना विद्यार्थीलाई स्नातक तह निःशुल्क पढाइदिने निर्णय गरेका छौं ।

स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा के कस्ता काम भएका छन् ?
गाउँपालिकाले रोजगारीका लागि खास कुनै व्यवस्था गर्न सकेको छैन । शीपमूलक तालीम सञ्चालन गरे पनि रोजगारी दिन सकिएको छैन । तर बृहत् कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरेर रोजगारीको सृजना गर्ने योजनामा छौं । स्वास्थ्यको क्षेत्रमा यो गाउँपालिकामा खासै समस्या छैन । सबै स्वास्थ्य संस्थामा विशेषज्ञ तथा डाक्टरको व्यवस्था छ । स्वास्थ्य संस्थामा मात्र नभएर गाउँघरमै पुगेर समेत बिरामीको उपचार गर्ने प्रबन्ध मिलाएका छौं । त्यस्तै सरकारले उपलब्ध गराउने बाहेकका केही आवश्यक औषधि गाउँपालिकाले नै खरीद गरेर स्थानीयलाई सेवा दिँदै आएको छ । गाउँपालिका बासिन्दालाई सहजै स्वास्थ्य सेवा दिलाउन बृहत् स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छौं ।

विकास बजेट कार्यान्वयनमा समस्या तथा चुनौती के के छन् ?
जनताको अपेक्षा धेरै छन् । सो अनुसार कतिपय काम गर्न सकेका छैनौं । यसमा विकास बजेटको कमी नै मुख्य समस्या हो । केन्द्र र प्रदेश सरकारले पनि कमै मात्र बजेट दिएका छन् । त्यो पनि समस्याको रूपमा रहेको छ । समयमा काम सक्न म आफै पनि अनुगमनमा गएको छु । प्रदेश तथा केन्द्र सरकारका बाहेक सबै योजना समयमै सम्पन्न भएका छन् । प्रदेश तथा केन्द्र सरकारका योजना भने फरक प्रक्रियाबाट सञ्चालन हुने भएकाले केही समस्या देखिएको छ ।

गाउँपालिकाले ल्याएका विशेष योजना केही छन् ?
गाउँपालिकाले विपन्न, गरीब तथा पीछाडिएका कुनै पनि व्यक्तिका लागि मासिक ५०० रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ । अज्ञानका कारण पहिले उमेर घटाएर नागरिकता बनाएका र सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित वृद्धवृद्धालाई पनि भत्ता दिने गरेका छौं । गाउँपालिकाका स्वयंसेविकालाई प्रोत्साहन स्वरूप १ हजार ३५९ रुपैयाँ भत्ता दिने व्यवस्था मिलाइएको छ । गरीब तथा विपन्नलाई जुत्ता समेत प्रदान गरेका छौं । यो सबै गर्नुको उद्देश्य कुनै पनि जनता आधारभूत सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने हो ।

गाउँपालिकाका अन्य योजना के के छन् ?
नयाँ योजाना केही छैन । पर्यटनको क्षत्रमा योजना बनाएर काम गर्नु छ । निर्माणाधीन सडकको स्तरोन्नति, सबैको घरमा खानेपानीको व्यवस्था र विद्युत् विस्तारको काम प्रथामिकताका गर्नेछौं । गाउँपालिकालाई जुसको पकेट बनाएर यसबाट स्थानीयको जीवनस्तर उकास्ने महत्वाकांक्षी लक्ष्य पनि छ । त्यस्तै, धनकुटा र भोजपुरको सिमानामा पर्ने लेगुवामा भव्य प्रवेशद्वार बनाउने काम आगामी योजनामा राखेका छौं । कृषकलाई बाँदर, दुम्सी लगायत जनावरले दुःख दिएकाले यसको नियन्त्रणमा पनि काम गर्नेछौं । गाउँपालिकाको तल्लो क्षेत्रमा कृषकलाई आत्मर्निभर बनाउन माछापालन प्रवद्र्धनको काम पनि अघि बढाउँदै छौं । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्