arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्मचारी कार्यसम्पादन मूल्यांकनका विसंगति

२०७६ पौष, २४  
लेख | दृष्टिकोण
NA
author avatar डा.दिवाकर वशिष्ठ

कुनै कर्मचारी वा समूहको कार्य विवरण सम्बन्धमा भएका सबल तथा दुर्बल पक्षहरूको वैज्ञानिक विवरण कार्यसम्पादन मूल्यांकन हो । तर एउटा प्रश्न उठ्छ, नेपालमा सार्वजनिक तथा निजीक्षेत्रले व्यवस्थित र वैज्ञानिक कार्यसम्पादन मूल्यांकन गर्दछ ?

कार्यसम्पादन मूल्यांकन भनेको सुम्पिएको कार्य राम्रोसँग सम्पादन भएको छ कि छैन भनी जाँच गर्नु हो । साथै कर्मचारीको व्यक्तिगत गुण, योग्यता, क्षमता, तथा सम्भावना समेतको मापन गर्ने वैज्ञानिक विधि हो यो । कर्मचारीलाई प्रदान गरिएको जिम्मेवारीमा उसले निकालेको परिणामका आधारमा यो कार्य गरिन्छ । यो प्रक्रियाले कर्मचारीको कामप्रतिको अभिरुचि, उत्पादकत्व र श्रृजनशीलतामा सहयोग गर्छ । 

नेपालको सार्वजनिक क्षेत्रको कर्मचारी प्रशासन र निजी क्षेत्रतर्फ समेत हेर्दा विभिन्न विसंगतिले जरो गाडेको छ । निजीक्षेत्रमा परिवारवादले प्रश्रय पाएको छ भने सार्वजनिक क्षेत्रमा फाइल बढुवाको आधार मात्र बनाइएको पाइन्छ । 

कार्यसम्पादन मूल्यांकनको उद्देश्य तलबवृद्धि, पदोन्नति, प्रशिक्षण एवं विकासको अवसर हो । कार्य प्रेरणा, दण्ड तथा सजायको निर्धारण, सरुवाको एवं जिम्मेवारी हेरफेर आदिका लागि पनि कार्यसम्पादन गरिन्छ । तर नेपालमा न त सम्बन्धित संस्थाको कम्पनीको मानव संसाधन विभागले बनाएको नियमको पालना छ, न योग्यता र दक्षता हेरिन्छ ।

‘यो मानिसलाई बढुवा गरेर वा यसको उन्नति हुँदा मलाई के फाइदा, मैले यसको बढुवा गर्दा कुनै मन्त्री वा सचिव वा अन्यलाई खुशी पार्न सक्छु’ भन्ने अभिप्रायले कार्यसम्पादन गरिन्छ । राजनीतिक पहुँच भए बढुवा हुने अन्यथा नहुने अवस्थाले नेपालका कर्मचारीको कार्यसम्पादन मूल्यांकन विसंगतिको चपेटामा परेको छ । 

कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दा संगठनको उद्देश्य, उसका कार्य तथा परिणाममा जोड दिइनुपर्छ । बहुपक्षीय पृष्ठपोषण तथा स्वमूल्यांकन, वित्तीय मापनहरूमा ध्यान दिनुपर्नेमा हचुवाको भरमा तेरो र मेरो भन्ने तर हाम्रो र राम्रो नभन्ने पद्धतिको बाहुल्य छ ।

स्वदेश तथा विदेश तालीम आदिमा पक्षपात हुनु यसकै परिणाम हो । विदेशमा कुनै तालीममा कर्मचारी मनोनयन गर्दा मन्त्री र सचिवको हानथाप हुने गरेका घटनाहरू ताजा नै छन् । यसले कर्मचारीमा एकातर्फ वितृष्णा फैलाएको छ भने अर्कोतर्फ उत्प्रेरणामा कमी आई समग्र प्रशासनिक क्षेत्र तथा संघसंस्थाको उत्पादकत्वमा कमी आएको छ ।

नेपालमा कार्यसम्पादन मूल्यांकनका समस्या हेर्ने हो भने यसको चाङ नै छ । कर्मचारीले गरेको कामको विवरण नै हुँदैन । वस्तुनिष्ठ मूल्यांकन हुँदैन । राजनीतिक प्रभाव हाबी छ । कर्मचारी युनियनको प्रभाव छ । बढुवाका लागि मात्र कार्यसम्पादन मूल्यांकन गर्ने पद्धति भएकाले सेवाग्राहीको पृष्ठपोषणलाई उपेक्षा गरिएको छ ।

त्यस्तै मूल्यांकनकर्तामा दक्षताको कमी पनि देखिन्छ । स्पष्ट नीतिको अभावले पनि कार्यसम्पादन मूल्यांकन प्रभावित हुने गरेको हो भन्न सकिन्छ । जबसम्म नेतृत्ववर्ग कर्मचारी प्रिय बन्न सक्दैन, तबसम्म उनीहरूबाट काम लिन सकिँदैन । त्यसैले ढिलासुस्ती हुने गरेको हो । समयमा योजना नसकिने, निर्माण कार्य अधुरो रहने, जनताले सुविधा नपाउने र सरकार भएको अनुभूति पनि नहुने अवस्था आएको हो भन्ने देखिन्छ । 

कार्यसम्पादन मूल्यांकन उत्पादकत्व, प्रभावकारिता र दक्षताको मूल्यांकन भएको हुँदा यस्तो कार्यमा निष्पक्षता र पारदर्शिता हुनुपर्दछ, नातावाद र कृपावादलाई प्रश्रय दिनु हुँदैन । तर नेपालमा कार्यसम्पादन मूल्यांकनको वैज्ञानिक अभिलेख छैन ।

कार्यसम्पादन मूल्यांकनमा प्रयोग गरिने विधि परम्परागत नै छ । उद्देश्यमूलक व्यवस्थापन, ३६० डिग्री मूल्यांकन पद्धति आदि आधुनिक पद्धतिको प्रयोग हुन सकेको छैन । नेतृत्व र कर्मचारीको बीचमा साथै उच्च तह र निम्न तहको बीचमा समन्वयको कमी छ । नियमित भेटघाट छैन । यसका लागि कार्यालय बैठक, कार्यालय प्रमुखको ढोका सबैका लागि खुला हुनुपर्छ । यी सबै नहुँदा कर्मचारीको मूल्यांकन पद्धति अधिकांश रूपमा हचुवाको भरमा हुने गरेको छ ।

कतिपय कार्यालयमा त महीनौंसम्म आप्mना कर्मचारीको नाम पनि कार्यालय प्रमुखलाई थाहै हुँदैन । काम कम गर्ने वा नगर्ने व्यक्ति बढुवा हुने, विदेश तथा स्वदेशको तालीमको अवसर पाउने तर राम्रो कार्य गर्ने व्यक्ति दशौं वर्ष पनि एकै तहमा बस्नुपर्ने अवस्था पनि छ । यसबाट कर्मचारीमा मनोवैज्ञानिक असर पर्छ । उनीहरूमा उदासीनता र हिंसात्मक प्रवृत्ति देखापर्न सक्छ ।

कार्यालयको सूचनाको चुहावट, लागूपदार्थ तथा दुव्र्यसन, कार्यालय प्रमुख तथा कार्यालयको बारेमा समाचार माध्यममा जथाभावी गालीगलौज गर्ने जस्ता विकृति पनि यसले जन्माउँछ ।

आफ्नो क्षमता र ज्ञानको भरपूर प्रयोग नगर्ने, कार्यालयको कार्यभन्दा युनियनको गतिविधिमा बढी अभिप्रेरित हुने, अनुशासन र नैतिकताको उल्लंघन गर्ने जस्तो प्रवृत्ति हालका दिनमा मौलाउनुको प्रमुख कारण सही कार्यसम्पादन मूल्यांकनको अभाव पनि हो । त्यसैले यी समस्याको समाधानका लागि सम्बन्धित निकायले बेलैमा कर्मचारीको वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्छ र नातावाद तथा कृपावादलाई हटाउनुपर्छ । कर्मचारीको कार्यविवरण तयार गर्ने, ग्राहकको पृष्ठपोषण लिने, ३६० डिग्री मूल्यांकन पद्धति अर्थात् एक कर्मचारीको मूल्यांकन गर्दा सबै सरोकार पक्षसँग सोधनी गर्ने व्यवस्था हुनुपर्छ । दण्डसजाय र पुरस्कारको विश्वासिलो व्यवस्था गर्नुपर्छ । कर्मचारीको कार्यसम्पादन सम्बन्धी व्यक्तिगत अभिलेखलाई दुरुस्त राख्ने, कार्यसम्पादन मूल्यांकनको कार्यतालिका र योजना बनाउने, कार्यसम्पादन मूल्यांकनकर्तालाई उचित तालीमको व्यवस्था गर्ने आदि कार्य गर्न ढिला भइसकेको छ ।

नियमित सुपरिवेक्षण र अनुगमन बढाउन पनि उत्तिकै आवश्यक छ । शैक्षिक योग्यता, ज्येष्ठता आदिमा दिइने अंक सार्वजनिक गरिनुपर्छ । यसरी निष्पक्ष मूल्यांकन प्रणालीको विकास गर्न सके निश्चय पनि कर्मचारी बढी अभिप्रेरित भई तत्काल नतीजामुखी कार्य हुन सक्छ ।

सेवाग्राहीले छिटो छरितो र गुणस्तरीय सेवा पाउनेछन् । व्यवस्थापन र कर्मचारी एवं सरकारबीचको सम्बन्ध समेत आगामी दिनमा सुमधुर भई सुशासनको क्षेत्रमा सुधार आउन सक्छ । (लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् )
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्