ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संसदीय समिति गलत निर्देशन सच्याऊ

२०७६ चैत, १८  
१० वर्ष अघि
NA

व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले गत सोमबार रोडा, ढुंगा बालुवाजस्ता निर्माण सामग्री निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेर मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने काम गरेको छ । समितिले त्यसै खेर गइरहेको निर्माण सामग्री निकासीबाट मुलुकलाई प्राप्त हुने लाभलाई बेवास्ता गरी सतही ढंगले वातावरण विनाश हुने भन्दै जसरी रोक लगायो त्यो अनुचित तथा अव्यावहारिक छ । अहिले सरकारलाई रोडा बालुवा, ढुंगा, निकासीबाट वार्षिक एक अर्बभन्दा बढी राजस्व प्राप्त भइरहेको छ । निकासीलाई अझ व्यवस्थित ढंगमा अगाडि बढाउने हो भने राजस्वमा वृद्धि भई मुलुुकको अर्थतन्त्रलाई ठूलो टेवा मिल्नेछ ।

केही महिनाअघि पनि सो समितिले चितवनका जंगलभित्रका होटेलहरू सञ्चालनमा रोक लगाएर सरकारलाई प्राप्त हुने राजस्वमात्र होइन, कयौंको रोजगारीसमेत खोस्ने यस्तै अव्यावहारिक निर्णय गरेको थियो जसको सर्वत्र विरोध भएको थियो । र, त्यो निर्णयको कार्यान्वयन पनि भएन । निर्माण सामग्री निकासीमा रोक लगाए लगत्तै सरकारले त्यसबाट पर्ने वातावरणलगायतका असर र सम्भावित विकल्पबारे अध्ययन गर्न समितिसमेत गठन गरेको छ । समितिका अध्यक्ष योजना आयोगका सदस्य डा.दिनेशचन्द्र देवकोटा रहेका छन् भने अर्थ, गृह, वातावरण, उद्योग वाणिज्य, वन तथा स्थानीय विकास मन्त्रालयका सचिवहरू पनि सो समितिमा रहेका छन् । निश्चय नै समितिले अध्ययन अनुसन्धान गर्ला र कुनै निष्कर्षमा पुग्ला । तर त्यसअघि नै बुझ्नुपर्ने कुरा के छ भने नेपालका विभिन्न क्षेत्रमा त्यसै खेर गइरहेका अवस्थामा निर्माण कार्यमा सहायक हुने रोडा बालुवा जस्ता प्राकृतिक स्रोत रहेका छन्, तिनलाई त्यसै खेर जान दिनु उपयुक्त होइन । 

(सम्पादकीयबाट)
वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्