ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना भाइरसविरुद्धको लडाइँ 

भुत्ते मौद्रिक र वित्तीय हतियारको प्रयोग

२०७६ चैत, १८  
लेख | दृष्टिकोण
NA
author avatar प्रकाश भण्डारी

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएर ‘विषव्याधि’को रूप धारण गरेसँगै त्यससँग लड्न र त्यसको प्रभाव न्यूनीकरणका लागि अहिले विश्वव्यापी रूपमा नै विभिन्न मौद्रिक तथा वित्तीय उपकरणहरूलाई हतियारका रूपमा प्रयोग गर्न थालिएको छ ।

अहिले विश्वका धेरै मुलुकले वित्तीय तथा मौद्रिक उपकरणहरूलाई कोरोनाविरुद्ध लड्न आफ्नै प्रकारले उपयोगमा ल्याएका छन् ।

यसै सन्दर्भमा कतिपय राष्ट्रले आकस्मिक रूपमा भोग्नुपरेको प्रतिकूल परिस्थितिसँग लडाइँ गर्न मद्दत पुगोस् भनेर विश्व बैंकले १२ अर्ब डलरको सहयोग कोष सञ्चालन गर्ने जानकारी दिएको छ । विशेष गरी विकासशील राष्ट्रहरूमा आवश्यक पर्ने जनस्वास्थ्य प्रणालीमा सुधारदेखि लिएर समग्र अर्थतन्त्र माथि नै पर्ने जोखिम र नकारात्मक प्रभाव कम गर्ने कार्यक्रमहरूका लागि समेत उक्त कोषबाट रकम प्रदान गर्न सकिने उसले बताएको छ । 

यसैगरी अन्तरराष्ट्रिय मुद्राकोषले पनि ५० अर्ब डलर बराबरको यस्तै प्रकारको आकस्मिक सहायता कोष खडा गरेको छ र त्यसमध्ये पनि अति आवश्यक पर्ने अतिगरीब मुलुकहरूले निब्र्याजी रूपमा द्रुत प्रक्रियाबाट प्राप्त गर्ने गरी उसले १० अर्ब डलर छुट्याएको छ ।

अन्तरराष्ट्रिय स्तरका निकायहरूले गरेका यी व्यवस्थाका अतिरिक्त अहिले विश्वका धेरै मुलुकले पनि वित्तीय तथा मौद्रिक उपकरणलाई कोरोनाविरुद्ध लड्नका लागि आफ्नै प्रकारले उपयोगमा ल्याएका छन् ।

अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्वलाई पच्छ्याउँदै अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्व बैंक अफ अस्ट्रेलियाले पनि करीब ३ अर्ब डलर वित्तीय क्षेत्रमा प्रवाहित गरेको छ भने न्यूजील्यान्डको केन्द्रीय बैंकले चाहिँ ब्याजदरलाई तीन चौथाइले घटाउने निर्णय गरेको छ । दक्षिण कोरियाको केन्द्रीय बैंकले पनि आप्mनो ब्याजदरमा ५० आधार अंक घटाएको छ ।

यूरोपेली केन्द्रीय बैंकले चाहिँ ब्याजदर कटौती गर्नुका साथै बैंकहरूलाई दिइने पुनर्कर्जा र मध्यम तथा साना उद्योगहरूलाई प्राथमिकतामा राख्ने गरी मौद्रिक हतियार चलाएको छ । यसले ‘काउन्टर साइक्लिकल बफर’का रूपमा छुट्याउनुपर्ने २ प्रतिशतको अतिरिक्त पूँजीको प्रावधान हटाएर तरलताको अवस्थालाई सहज बनाउन मद्दत गरेको छ । यी प्रबन्धले कर्जायोग्य रकमको उपलब्धता बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । भारतको केन्दीय बैंक रिजर्व बैंक अफ इन्डियादेखि लिएर पाकिस्तानको स्टेट बैंक अफ पाकिस्तानसम्मले कोरोना प्रकोपविरुद्धको लडाइँ लड्न यस्तै धेरै प्रकारका मौद्रिक उपकरणहरू सार्वजनिक गरिसकेका छन् ।

विश्वका धेरै केन्द्रीय बैंकहरूको सक्रियताको आलोकमा नेपाल राष्ट्र बैंकले पनि आफ्ना हतियारहरू सार्वजनिक गरेको छ । उसले विद्युतीय कारोबारमा जोड दिन अनुरोध गर्नुका साथै आम जनताको वित्तीय आवश्यकता नबिथोलियोस् भनेर सम्पूर्ण बैंकहरूलाई सीमित बैंकिङ कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । यतिमात्र होइन, दैनिक आवश्यकीय वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रयोजनका लागि ड्राप्mट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबारहरू सञ्चालन हुने व्यवस्था मिलाउन पनि उसले बैंकहरूलाई निर्देशन दिएको छ ।

यसअतिरिक्त कोभिड–१९ को प्रभाव न्यून गर्न भनी केन्द्रीय बैंकले थप निर्देशनहरू पनि जारी गरेको छ । यी कतिपय निर्णयको उद्देश्य सर्वसाधारणलाई पर्न सक्ने मौद्रिक आवश्यकतालाई सहज रूपले पूर्ति गराउन मद्दत गर्ने नै देखिन्छ । अनिवार्य नगद मौज्दातको विद्यमान दरलाई घटाएर होस् वा बैंकहरूलाई प्रदान गरिने कर्जाको ब्याजदर घटाएर होस्, राष्ट्र बैंकले बैंकहरूमा कर्जायोग्य रकमको सहजतालाई नै प्रोत्साहन गरेको छ । काउन्टर साइक्लिकल बफरबापत राख्नुपर्ने २ प्रतिशतका अतिरिक्त पूँजीको प्रावधान हटाएर पनि राष्ट्र बैंकले कर्जायोग्य रकम बढाउने नै उद्देश्य राखेको पाइन्छ । यसबाहेक स्वास्थ्योपचार सम्बन्धी वस्तु तथा उपकरण, औषधि र खाद्यान्नलगायत कार्यका लागि कर्जा माग भएमा ५ दिनभित्र उपलब्ध गराउन पनि उसले निर्देशन दिएको छ । समग्रमा भन्नु पर्दा कोरोनासँगको युद्ध लड्ने क्रममा रकमको अभावका कारण हुनसक्ने अप्ठ्यरोलाई यो निर्देशनले सहजीकरण गर्न खोजेको देखिन्छ ।

पहिलाको मन्दी आर्थिक कारणले नै उब्जिएको थियो भने अहिले कोरोनाजस्तो विश्वव्याधिका कारण मन्दी आएको र त्यो विश्वव्याधि अहिलेसम्म शमन नभएको परिप्रेक्ष्यमा त्यसले पार्ने बहुआयामिक प्रभावहरू अहिले नै आकलन गर्नु त्यति सम्भव छैन ।

कोरोना प्रकोपको प्रभावलाई दृष्टिगत गर्दै गरिएका भनिएका कतिपय व्यवस्थाचाहिँ कोरोनाभन्दा पनि विद्यमान बन्दाबन्दीको प्रतिकूल परिस्थितिजन्य प्रभावबाट पर्न सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रेरित मान्न सकिन्छ । ऋणीको साँवा तथा ब्याज तिर्ने समय थप्ने कुरा होस् या बैंकले नोक्सानीबापत छुट्याउनुपर्ने रकम होस्, त्यसमा दिइएका सहुलियतहरूले पक्कै पनि अहिलेको बन्दाबन्दीजस्तो विषम परिस्थितिजन्य संकटलाई केही हदसम्म भए पनि निवारण गर्न मद्दत नै पुर्‍याउँछ । यी सबै त कोरोनाजन्य आर्थिक संकट शमन गर्ने रणनीतिजस्ता देखिए । यहाँ अब अहं प्रश्न खडा हुन्छ– के यी सबै उपायहरूले कोरोना प्रकोप नियन्त्रणमा लेशमात्र पनि सकारात्मक भूमिका निर्वाह गर्लान् त ? यसको उत्तर खोज्नुपूर्व अहिले कोरोनाग्रस्त देशहरूको अवस्था नियाल्नु जरुरी हुन आउँछ । 

अहिले जनस्वास्थ्यको दृष्टिले बलियो मानिएका संयुक्त राज्य अमेरिकादेखि यूरोपका एकसे एक देशहरूमा समेत कोरोना नियन्त्रण कहिले हुने हो यकिनसँग भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा निजीक्षेत्रलाई बलियो बनाउन र अप्ठ्यारो परेका उद्योग तथा व्यक्तिहरूलाई अस्तित्व रक्षा गर्ने प्रयोजनका लागि त्यस्ता प्रयास केही उपादेयपूर्ण हुन सक्ला तर प्रकोप नियन्त्रणकै लागि भने यस्ता घोषणा अधुरा र अपूर्ण हुने कुरामा कुनै सन्देह छैन ।

फेरि, नेपालमा जस्तै बन्दाबन्दी तथा प्रकोपजन्य कारणले गर्दा रोजगारी गुमाउने तथा आर्जन गर्न नपाउनेहरूका लागि यस्ता सहुलियतपूर्ण नीति तथा मौद्रिक उपकरणहरू लाभदायी त हुन्छन् नै तर यी कोरोना नियन्त्रणसँग प्रत्यक्ष रूपले सम्बद्ध नभई तज्जन्य सहायक समस्याहरू समाधान गर्ने कुरामा मात्र केन्द्रित हुने भएकाले यी उपाय र हतियारहरू भुत्ते साबित हुने कुरा निर्विवाद छ ।

एक किसिमले हेर्दा अहिले विश्व समुदाय वर्तमान विश्वव्यापी आर्थिक मन्दीलाई पनि सन् २००८–९ ताका भएको मन्दी जस्तै ठानी सोहीअनुरूप मौद्रिक तथा वित्तीय उपकरणहरूमार्फत त्यसको समाधानमा लागेको जस्तो देखिएको छ । तर, त्यो बेलाको मन्दी आर्थिक कारणले नै उब्जिएको थियो भने अहिले कोरोनाजस्तो विश्वव्याधिको कारण मन्दी आएको र त्यो विश्वव्याधि अहिलेसम्म शमन नभएको परिप्रेक्ष्यमा त्यसले पार्ने बहुआयामिक प्रभावहरू अहिले नै आकलन गर्नु त्यति सम्भव छैन । यस्तो अवस्थामा अहिले प्रयोग गरिएका मौद्रिक एवम् वित्तीय उपकरण रूपी हतियारहरू विश्वव्यापी आर्थिक मन्दी हटाउन पर्याप्त नहुन सक्छन् । सबैले मनन गरौं, अहिलेको आर्थिक मन्दीको समस्याको एकमात्र समाधान कोरोना प्रकोप नियन्त्रणका लागि प्रभावकारी रूपमा सञ्चालन गरिने जनस्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रमहरूमा मात्र निर्भर छ । 

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्