ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतसँग सिमाना जोडिएका स्थानीय तहको क्वारेन्टाइन भरिभराउ

२०७६ चैत, १८  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

चैत १९, कपिलवस्तु (चन्द्रौटा) । भारतसँग सिमाना जोडिएका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ भएका छन् । 

भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि अहिले शय्याको अभाव हुन थालेको छ । भारतीय सीमासँग जोडिएका कपिलवस्तुको बिजयनगर गाउँपालिकाले ११७ शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाइनमा भारतबाट आएका १०३ जना राखिएको गाउँपालिकाले जानकारी दिएको छ । खुला सिमानाका कारण भारतबाट भागेर आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भइरहेको बताइएको छ ।

जवावैराठ, डालपुर, ठाकुरापुर लगायत विभिन्न नाका नाकाबाट थुप्रै नेपालीहरु आउने आउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताए । शुरुमा १६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको थियो तर भारतबाट आउने नेपालीहरुको संख्यामा वृद्धि भएपछि शय्याको संख्या बढाइएको उनले बताए । 

अहिले गाउँपालिकास्थित ३ ओटा माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ठाउँको अभाव हुँदा विद्यालयलाई प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । क्वारेन्टाइनमा बस्ने सबै जनाको निःशुल्क खाने व्यवस्था मिलाइएको गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै जिल्लाको शुद्धोधन गाउँपालिकाले निर्माण गरेको ६० शय्याको क्वारेन्टाइनमा ४९ जना रहेका छन् । महाराजगञ्ज नगरपालिकाले तयार पारेको ८० शय्यामा ७० जना रहेका छन् । शिवराज नगरपालिकाले निर्माण गरेको १९ शय्यामा १५ जना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । दैनिक रुपमा क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेकाले शय्या थप गर्ने योजना रहेको उनले बताए । 

‘क्वारेन्टाइनमा अधिकांश भारतबाट फर्किएर आएका नागरिक छन्, अब नगरका अन्य तीन ठाउँमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा छौँ’ पौडेलले भने, ‘क्वारेन्टाइनमा बसेका सबैको अवस्था सामान्य छ ।’

सीमासँग जोडिएको कृष्णनगर नगरपालिकाले पनि क्वारेन्टाइनमा शय्याको संख्या बढाउने तयारी गरेको छ । अहिले सबै वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको र भारतबाट फर्किएर आउने सबै नेपालीलाई सुरक्षित तरिकाबाट उनीहरुलाई आफ्नो जिल्लामा पठाइएको नगरप्रमुख रजतप्रताप शाहले बताए । 

जिल्लाका १० स्थानीय तहमा ५०६ शय्याको क्वारेन्टाइन निर्माण भएका छन् । मंगलवारसम्म ३७३ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । जिल्लामा ८ ओटा आइसोलेशन कक्ष बनाइएको छ । क्वारेन्टाइनमा बसेको कसैलाई पनि आइसोलेशन कक्षमा राख्ने अवस्था नआएको प्रजिअ पौडेलले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्