arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रोस्टेट ग्रन्थी बढ्नु क्यान्सरको लक्षण पनि हुन सक्छ

२०७६ पौष, २५  
अन्तरवार्ता
Image Not Found
डा. जगदीशलाल वैद्य, वरिष्ठ युरोलोजी विशेषज्ञ, बीएन्डबी अस्पताल

हाइड्रोसिल हुँदा सामान्यतया अण्डकोष बटारिएर सुन्निने लक्षण देखिन्छ । हाइड्रोसिल समस्या नभए पनि कतिपय जटिल रोगको लक्षण पनि यस्तै देखिने वरिष्ठ युरोलोजी विशेषज्ञ डा. जगदीशलाल वैद्य बताउँछन् । यस्तो लक्षण देखिए र सो हाइड्रोसिलको लक्षण नभएमा ६ घण्टाभित्र शल्यक्रिया गरिसक्नुपर्ने उनको भनाइ छ । प्रस्तुत छ, पिसाबसम्बन्धी समस्या, लक्षण, उपचार लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईंले डा. वैद्यसँग गरेको कुराकानीको सार :

पिसाबसम्बन्धी रोगहरू के के हुन् ?
नेफ्रोलोजी र युरोलोजी गरी पिसाबसम्बन्धी रोग मुख्यतः दुई किसिमको हुन्छ । युरोलोजी सम्बन्धी पिसाबको रोग जन्मजात हुन्छ भने नेफ्रोलोजीसम्बन्धी पिसाबको रोग जुनसुकै उमेरमा पनि हुन सक्छ । पिसाब नलीको टुप्पोभन्दा तल वा माथिबाट पिसाब बग्ने, पिसाबथैली पेटबाहिर देखिने, छोरा हो वा छोरी भनी लिंग छुट्ट्याउन नसकिने गरी युरोलोजीसम्बन्धी विभिन्न प्रकारका जन्मजात पिसाबरोग हुन्छन् । यस्तै, सक्रिय उमेर मानिने २० देखि ४० वर्षको उमेरमा मिर्गौला वा पिसाब नलीमा ढुंगा देखिन सक्छ । सामान्यतया उमेर बढ्दै जाँदा पुरुषको प्रोस्टेट ग्रन्थी बढ्दै जान्छ । तर कतिपय अवस्थामा प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा पिसाब रोकिने, मिर्गौला, पिसाब नली, प्रोस्टेट क्यान्सर देखिने लगायत युरोलोजी सम्बन्धी समस्या देखिन सक्छन् ।

महिलामा देखिने पिसाबसम्बन्धी रोग के के हुन् ?
महिलामा सानैदेखि पिसाबमा संक्रमण देखिन सक्छ । विवाहपछि पिसाबसम्बन्धी समस्या झनै बढी देखिन्छ । अर्थात् सक्रिय यौनावस्थाका उमेरमा महिलामा पिसाबको समस्या बढी देखिन सक्छ । यस्तो अवस्थामा पिसाब पोल्निे, रोकिने लगायत लक्षण देखिन्छन् । महीनावारी रोकिएपछि पनि महिलामा पिसाबसम्बन्धी समस्या आउन सक्छ ।

लक्षण देखिन छाडेपछि पनि रोगका कीटाणु सक्रिय हुन सक्छन् ?
पिसाबसम्बन्धी रोग लाग्दा पिसाबमा रगत देखिने, पिसाब पोल्ने, पीप बग्ने लगायत विभिन्न लक्षण देखिन्छन् । कतिपय अवस्थामा यस्ता लक्षण स्वतः देखिन छाड्छन् । तर एकपटक समस्या आएर लक्षण देखिन रोकिएको छ भने कतिपय अवस्थामा पिसाबनली र पिसाबथैलीमा क्यान्सर देखिन सक्छ ।

पिसाबसम्बन्धी रोगबाट बच्न के गर्नुपर्छ ?
पिसाबसम्बन्धी जन्मजात रोगको मुख्य उपचार विधि शल्यक्रिया नै हो । जन्मजात पिसाबरोगको शल्यक्रिया डेढ वर्षको उमेरदेखि नै गर्न सकिन्छ । धूमपानले पिसाबसम्बन्धी रोग देखिने सम्भावना उच्च हुन्छ । धूमपान गर्नुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ, खानपिनमा ध्यान दिनुपर्छ र केही लक्षण देखिएमा डाक्टरसँग परामर्श गर्नुपर्छ ।

पिसाबसम्बन्धी रोगको उपचार पद्धति के हुन्छ ?
मिर्गौलाको क्यान्सर, प्रोस्टेट ग्रन्थी र पिसाबसम्बन्धी जन्मजात रोगको उपचार पद्धति शल्यक्रिया नै हो । पिसाब नलीभन्दा तल वा माथिबाट पिसाब बग्दछ भने प्लास्टिक सर्जरी गर्नुपर्छ । बच्चको पेटबाहिरबाट पिसाबथैली देखिन्छ भने त्यो थैली काटेर आन्द्राको पिसाब थैली बनाएर शल्यक्रिया गर्न सकिन्छ, अथवा पाइपको सहायताले पनि त्यसलाई निकाल्न सकिन्छ । पिसाबसम्बन्धी जन्मजात रोगमध्ये लिंग छुट्ट्याउन नसकिने समस्या सबैभन्दा जटिल हुने गर्छ । कुनै कुनै बच्चा डिम्बाशय, अण्डकोष र पाठेघर तीनओटै अंग लिएर जन्मिन सक्छन् । डेढ वर्षदेखि नै यसको शल्यक्रिया गरेर ती बच्चालाई केटा वा केटी जे पनि बनाउन सकिने भए पनि पछि उक्त बच्चामा केटा वा केटी कसको गुण देखिन्छ भनेर यसै भन्न सकिन्न । त्यसकारण सामान्यतया बच्चा १२/१४ वर्ष नपुगी यस्तो शल्यक्रिया गर्नुहुँदैन ।

बच्चा ठूलो भएर कसको जस्तो गुण देखाउँछ, त्यहीअनुसार शल्यक्रिया गर्नु राम्रो हुन्छ । यस्तै, पानीको कमीले मिर्गौला र पिसाबनलीमा देखिने पत्थरलाई चिरेर पनि निकाल्न सकिन्छ । पछिल्लो समय मेशिनले वा प्वाल पारेर लिंगबाट यन्त्र घुसाएर पनि यसको सहज शल्यक्रिया गर्न सकिने भइसकेको छ । पुरुषको उमेर बढ्दै जाँदा प्रोस्टेट ग्रन्थी बढ्नु सामान्य भए पनि केही मानिसमा यसले क्यान्सरको समस्या देखिन सक्ने भएकाले यसबारे समयमै सचेत हुनुपर्छ । 

पिसाबसम्बन्धी कुन रोग सबैभन्दा जटिल हुन्छ ?
पिसाबसम्बन्धी रोग देखिएमा डाक्टरसँग परामर्श गरिहाल्नुपर्छ । समयमै यसको उपचार गर्नुपर्छ, शल्यक्रिया गर्नुपर्ने देखिएमा ढिलो गर्नुहुँदैन । युरोलोजीसम्बन्धी रोगमा पुरुषमा अण्डकोष बटारिने समस्या जटिल मानिन्छ । यसरी अण्डकोष बटारिँदा बेस्सरी दुख्ने र सुन्निने गर्छ । यस्तो लक्षण देखिएमा ३ घण्टाभित्र अस्पताल पुगाएर ६ घण्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । सामान्यतया यस्तो लक्षण देखिँदा हाइड्रोसिल हो कि भनेर चुप बस्ने प्रवृत्ति पाइन्छ । हाइड्रोसिल समस्या होइन, तर यस्तो समस्या देखिँदैमा त्यो हाइड्रोसिल नहुन सक्छ । यस्तो लक्षण देखिएमा र त्यो हाइड्रोसिल नभएर जटिल प्रकृतिको रोग भएमा यथाशक्य छिटो शल्यक्रिया गरिसक्नुपर्छ ।

प्रोस्टेट क्यान्सर के हो ?
पुरुषको प्रजनन अंगमा देखिने क्यान्सर प्रोस्टेट क्यान्सर हो । सामान्यतया उमेर बढ्दै जाँदा प्रोस्टेट बढ्दै जान्छ । प्रोस्टेट बढ्दा र प्रोस्टेटमा क्यान्सर हुँदा एउटै प्रकारका लक्षण देखिन्छन् । कतिपयले प्रोस्टेट बढेको ठानेर क्यान्सर पालेर बसेका हुन सक्छन्, यसबारे समयमै सचेत हुनुपर्छ ।

पिसाबसम्बन्धी रोगको उपचार कति सुलभ छ ?
आजकाल मेडिकल उपकरणमा धेरै विकास भइसकेको छ । सूक्ष्म तरीकाले ठूलो शल्यक्रिया गर्न सकिन्छ । संसारभर धेरै खर्चिलो उपचारमध्ये पिसाबरोग सम्बन्धी उपचार पनि हो । उपकरण प्रयोग गर्न जान्ने जनशक्ति उत्पादन गर्न खर्च र समय धेरै लाग्ने, उपकरण महँगो हुने हुँदा यसको उपचार पनि खर्चिलो नै छ । तर नेपालमा भने पिसाबसम्बन्धी रोगको उपचारबाट कोही वञ्चित हुनुपर्ने अवस्था छैन । निजी अस्पतालमा केही महँगो भए पनि सरकारी अस्पतालमा यसको उपचार निःशुल्क हुन्छ ।

पिसाबसम्बन्धी रोगको वर्तमान अवस्था कस्तो छ ?
म यो क्षेत्रमा आउँदा ४० वर्षअघि पिसाबसम्बन्धी समस्या भएका बच्चाको शल्यक्रिया हप्तामा दुईओटा हुन्थ्यो । अहिले यस्तो रोग धेरै घटेको छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा वर्षमा एक÷दुई जना बच्चा मात्र देखिने गरेका छन् । त्यतिबेला पोषण र पानीको कमीले बच्चामा पिसाबसम्बन्धी रोग अधिक हुने गथ्र्यो । बच्चामा यस्तो समस्या घटेको देखिए पनि वृद्धहरूमा प्रोस्टेटको कारण देखिने पिसाबसम्बन्धी रोग बढ्दै गएको छ ।

खानपिनमा ध्यान दिई बेला बेला डाक्टरसँग परामर्श लिने गरेमा यसलाई कम गर्न सकिन्छ । पिसाबसम्बन्धी रोगको उपचार समयमै भएन भने जटिल समस्या देखिन सक्छ । त्यसैले समस्या देखिएपछि परामर्श लिने, समयमै उपचार गर्ने विषयमा सबैलाई सचेत हुन आग्रह गर्दछु । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्