arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विकासको सैद्धान्तिक बहस

२०७६ पौष, २५  
तीतो मीठो
Image Not Found
मदन लम्साल
author avatar मदन लम्साल

नेपालका ठूला राजनीतिक दलहरू यसबेला देशलाई समृद्धिको बाटोमा कसरी डोर्‍याउने भनेर गम्भीर सैद्धान्तिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस १४औं महाधिवेशनका लागि महासंग्रामको तयारीमा व्यस्त छ । त्यसका लागि आवश्यक लाठी, मुग्रा, भाला आदि सबै तम्तयार छन् । क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा र विभागको संख्या घटबढ गर्ने र नगराउने बहसले गर्दा महाधिवेशन गर्न महाक्रान्ति नै गर्नुपर्ने जस्तो देखिएको छ ।

यता नेकपामा पनि कहिले कार्यकारी अध्यक्षता कसले गर्ने, एमसीसीको अनुदान लिने कि नलिने वा प्रदेश ३ को राजधानी हेटौंडा राख्ने वा अन्तै भन्नेजस्ता विवादले देशलाई समृद्धिको बाटोमा डोर्‍याउन पार्टीभित्र क्षणिक बाधा परेजस्तो मात्र देखिए पनि समाजवादको बाटोमा देशलाई घिस्याउन आवश्यक हँसिया, हथौडा पनि तयार हुँदै होलान् । ठूला दलहरूका सतहमा देखिने यी र यस्ता तयारीहरू वास्तवमा भित्री रूपमा भने देश विकास गर्नकै लागि भैरहेका हुन् भनेर खुलेरै भन्न सकिन्छ । यी तयारीहरू विवाद होइनन्, बरु यो त गहन सैद्धान्तिक छलफल, चिन्तन र मनन हुन् देशका खातिर । 

हुन पनि विगत २०४७ सालयता नेपाली ठूला राजनीतिक दलहरूबाट यस्ता गहन सैद्धान्तिक छलफल नेपाली जनताले सुन्दै आइरहेकै छन् र यसमा रमाइरहेकै पनि छन् । त्यसैले दलहरूका प्रत्येक बैठकमा वा मन्त्री/प्रधानमन्त्रीका प्रत्येक भाषणमा समृद्धि, विकास, स्वच्छ सुशासन, नागरिक अधिकार आदि कुरा कहिल्यै छुट्दैनन् । तर यस्ता सैद्धान्तिक कुरा  नबुझ्नेहरु भने देशमा झन् ठूलो समस्या पो ल्याउने हो कि भन्दै त्रसित छन् । 

हास्य कलाकारहरूले बोलेका कुरालाई चैं मानिसहरूले गम्भीरतापूर्वक लिन थालेका छन् । तर मन्त्री, नेताले बोलेका कुरालाई भने हास्य कलाकारले बोलेजस्तो मनोरञ्जनको रूपमा पो लिन थालेका छन् बा ! यो के भएको होला मानिसहरूलाई । सबै मानिस शीर्षाशनमा बसेर पो हेर्न थाले कि क्या हो हँ ?

किनकि हास्य कलाकारहरूले बोलेका कुरालाई चैं मानिसहरूले गम्भीरतापूर्वक लिन थालेका छन् । तर मन्त्री, नेताले बोलेका कुरालाई भने हास्य कलाकारले बोलेजस्तो मनोरञ्जनको रूपमा पो लिन थालेका छन् बा ! यो के भएको होला मानिसहरूलाई । सबै मानिस शीर्षाशनमा बसेर पो हेर्न थाले कि क्या हो हँ ? अर्थात् मानिसहरूले सबै कुरा उल्टो पो देख्न थाले कि क्या हो हँ ? त्यै भएर जब–जब मन्त्री, नेताहरूले समृद्धि र सुशासनको कुरा गर्छन्, बडो डर पो लाग्न थालेको छ । किनकि जे कुरामा पनि सोचेको भन्दा नतीजा त्यसको ठीक उल्टो देखिन थालेको छ । त्यै भएर ‘बरु हामीलाई गरीबी र कुशासन देऊ, धेरैभन्दा धेरै दुशासनहरू देऊ, हाम्रो भाग्यमा कति समृद्धि र सुशासन मात्रै लेखिरहन्छौ भगवान् ! अलिकति त दया गर !’ भन्नुपर्ला जस्तो भएको छ । हुन पनि सरकार आदर्शको कुरा गर्छ, स्वच्छता, इमानदारीको कुरा गर्छ । तर नेताहरूको पेट बढ्दै जान्छ ।

उनीहरू महलमा बस्नुपर्ने बाध्यतामा पर्दै जान्छन् । विरोध सामन्ती, पूँजीवादी व्यवस्थाको हुन्छ, तर व्यवहार तिनै उपयोगितावादी, उपभोगवादी र भोगवादीमा पुग्छ । कुरा त्याग, देशका लागि समर्पणको हुन्छ । तर व्यवहारमा पदका लागि पार्टीसमेत फुटाउनेमा पुग्छ । कुरा जनताको गरीबी घटाउने हुन्छ, तर व्यवहारमा डाडुपन्यूँ हातमा हुनेहरूको गरीबी चैं हट्छ, देशमा गरीबी बढ्छ । होइन यो के भइरहेको छ ? कसले यस्तो परिस्थिति सृजना गर्दिरहेको छ ? बिचरा ! नेताजीहरू त देशका लागि यति अहोरात्र खटिरहनु नै भएको छ त । तर नतीजा उल्टो उल्टोतिर गइरहे जस्तो देखिन्छ ।

नेताजीहरू विदेशीलाई नेपालमा लगानी गर भनेर भन्या भन्यै हुनुहुन्छ । तर विदेशीहरू लगानी ल्याउने कुरै गर्दैनन् । जनतालाई राम्रो होस् भनेर सरकारले विधेयकमाथि विधेयक ल्याएको ल्यायै छ । सरकारले राम्रो सोचेर ल्याउँछ । तर मानिसहरूले त्यसको ठीक उल्टो बुझ्छन् वा उल्टो अर्थ लगाउँछन् ।

उदाहरणका लागि, देशमा गालीगलौजको संस्कृति बढेको भन्ठानेर सरकारले हालै सूचना प्रविधि विधेयक संसद्मा पेश गर्‍यो । तर पत्रकारहरू यसको विरोधमा जताततै हारगुहार गरिरहेका छन् । विधेयक कति राम्रो छ भन्ने धेरै पत्रकारलाई थाहै छैन जस्तो छ । शायद उनीहरूले विधेयक राम्रोसँग पढेकै छैनन् । जस्तै, विधेयकमा कसैलाई पिटेमा भन्दा गाली गरेमा धेरै जरीवाना गर्ने प्रावधान छ । सरकारले सीधै ‘कसैले तिमीलाई सामाजिक सञ्जालमा गाली गर्‍यो भने सीधै चुटे हुन्छ, जरीवाना कम पर्छ’ भन्न खोजेको हो । यत्ति कुरा पनि नबुझ्ने केपत्रकार ?

वास्तवमा यो सूचना प्रविधि ऐन नल्याई नहुने कुरा हो । किनभने उता अमेरिकामा पनि ट्रम्पलाई ‘फेक न्यूज’हरूले दुःख दिएका कारण सामाजिक सञ्जाललाई नै ठीक पार्नुपर्छ भनिरहेकै छन् । नेपालमा पनि अहिले मूलधारका मिडिया भनेकै सामाजिक सञ्जाल नै त हुन्, कमसेकम दुई तिहाईको सरकारलाई यस्तै लाग्छ । अब मानिसहरू दुई तिहाईको सरकारले पेल्यो भन्छन् । अनि कल्ले पेल्छ त ? अल्पमतले पेल्ने हो त ? पेल्ने नै दुई तिहाई भएपछि हो । यति सानो कुरा त बुझ्नैपर्ने हो । प्रधानमन्त्रीले पटक–पटक भन्ने गर्नुभएको छ, ‘गणतन्त्र र गरीबी सँगसँगै जान सक्तैन’ भनेर । यसको मतलब अब देशमा गरीबी रहिरहे पनि गणतन्त्र चैं रातो बग्गीमा जसरी पनि अगाडि नै बढिरहन्छ !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्