ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पोल्ट्री क्षेत्रको दैनिक नोक्सानी २२ करोड

२०७६ चैत, १९  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । देशव्यापी लकडाउनका कारण अहिले नेपालको समग्र पोल्ट्री उद्योग क्षेत्रमा दैनिक करीब २२ करोडको नोक्सानी हुन थालेको छ । नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख, ब्रोइलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड र पोल्ट्रीका लागि चाहिने दाना कच्चापदार्थ आदिमा ५० लाख गरी हरेक दिन २१ करोड ९५ लाखको नोक्सानी भइरहेको छ । 

वार्षिक रूपमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ८० अर्ब बराबरको योगदान गर्ने पोल्ट्री उद्योग धराशयी हुने अवस्थामा पुगेको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले बताए ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरी उद्योग संघले ब्रोइलर, लेयर्स, र कलरब्रोइलर आदि गरेर १ हप्तामा करीब ४० लाख नयाँ चल्ला उत्पादन गर्छ । ‘अहिले ढुवानी समस्याका कारण किसानहरूले खोरमा तयार भइसकेका कुखुरा बेच्न नसक्दा नयाँ चल्ला हालेनन् जसका कारण नयाँ उत्पादन भएका करीब ४० लाख चल्लालाई खाल्डो खनेर गाडिएको छ,’ उनले भने । अब लकडाउनको अवधि विचार गरेर मात्र नयाँ चल्ला उत्पादन गर्ने उनले बताए । अबको करीब डेढ महीनापछि बजारमा कुखुराको मासु खोजेर पनि नभेटाउने अवस्था आउने उनको दाबी छ ।

सामान्य अवस्थामा देशभरि दैनिक रूपमा ५ लाख किलो मासु खपत हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासु खपत हुने गर्छ । तर, अहिले यो अनुपातमा ६० प्रतिशतले घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्रीजन्य वस्तुको ढुवानी तथा विक्रीवितरणमा रोक नलगाउने निणर्य गरे पनि प्रहरी प्रशासनले मासु पसलहरू खोल्न नदिएको गुनासो उनले गरे । 

सरकारका निकायहरूबीच समन्वयको अभाव भएकाले पनि व्यवसायीहरूले नोक्सानी बेहोर्नु परेको उनले बताए । मासु पसल नखुल्दा, तयारी कुखुरा खोरमै बन्द हुन पुगे जसले गर्दा दैनिक रूपमा करोडौंको क्षति भइरहेको उनले जानकारी दिए ।

लकडाउनका कारण अहिले कृषिक्षेत्रमा धेरै असर परेको क्षेत्र पोल्ट्री उद्योग नै भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले दाबी गरे । ‘उपभोक्ताको बुझाइ मासु खाएमा कोरोना लाग्छ भन्ने भएकाले यसको उपभोग नै घटेको छ,’ उनले भने । मन्त्रालयले स्थानीय निकायसँगको सहकार्यमा क्षतिको विवरण संकलन गर्ने तयारी गरिरहेको उनले बताए । लकडाउन कहिलेसम्म रहने भन्ने अनिश्चित भएकाले राहतका प्याकेज ल्याउन पनि समय लाग्ने उनले बताए ।

लकडाउनका कारण कारोबार घटेको पशुसेवा विभागका वंशी शर्माले बताए । लकडाउनपश्चात् क्षतिको लगत संकलन गरिने र राहतका कामहरू अगाडि बढ्ने उनले जानकारी दिए ।

दूधको विक्री २५ प्रतिशतमात्र
लकडाउनको असर दूध उत्पादन, विक्री तथा खपतमा समेत परेको छ । अहिले उत्पादक, वितरक र उपभोक्ता सबै लकडाउनमा रहेका कारण विक्री घटेर २५ प्रतिशतमा सीमित हुन पुगेको छ ।

नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दहालका अनुसार होटल र रेस्टुराँमा विक्री गर्ने विक्रेताहरूको दूध विक्रीको अवस्था निकै कमजोर छ । तर, प्याकेट विक्री भने भइरहेको छ । कात्तिकदेखि माघ महीनासम्म दूध उत्पादन बढी हुने र खपत कम हुने भएकाले त्यस बेलामा उद्योगीहरूले पाउडर उत्पादन गरी स्टक बढाउँछन् । 

वैशाखदेखि असोजसम्म उत्पादन कम हुन्छ जसले गर्दा फागुनदेखि वैशाखसम्ममा आफूसँग भएको स्टक सिध्याउने बेला हो । तर, अहिले दूध विक्री नहुँदा स्टक बढ्न थाल्दा दूध उत्पादक किसान र डेरी दुवै समस्यामा रहेको उनले बताए ।

अहिले दूधको विक्री करीब २५ प्रतिशतले मात्र भइरहेको राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्तले जानकारी दिए । कोरोनाका कारण नेपालको दुग्ध उद्योग क्षेत्रमा केकति असर र क्षति भएको छ त्यसको विवरण संकलनको काम शुरू भइसकेकाले त्यसैका आधारमा सरकारले राहत तथा सहयोगका प्याकेज ल्याउने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्