arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पराधीन अर्थतन्त्रको कारक : कुरा धेरै, काम थोरै

२०७६ पौष, २७  
लेख | दृष्टिकोण
NA
author avatar डा. दिवाकर बशिष्ठ

भौगोलिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले विश्वसामु नेपालको पहिचान भए पनि आर्थिक विकासमा निकै पछि छ । छिमेकी समकक्षी मुलुकहरूको दाँजोमा नेपालको अर्थतन्त्र खस्केको छ । विगत २७ वर्षदेखि मुलुक राजनीतिक अस्थिरतामा रहेको छ । आर्थिक सुधार तथा स्थायित्वका लागि धेरै प्रयत्न भए तापनि स्थायी सरकार र संयन्त्रको कुशल व्यवस्थापनको अभाव देखिन्छ । पर्याप्त प्राकृतिक स्रोतको उपलब्धता र आर्थिक समृद्धिको सम्भावना हुँदाहुँदै पनि छिमेकी मुलुकको निगाहमा मुलुकको अर्थतन्त्र रहनु पक्कै पनि राम्रो पक्ष होइन । स्थिर सरकार भए मुलुक समृद्ध हुन्छ भन्ने कुरामा बादल मडारिन थालेको छ । कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी, जंगल आदिको उचित व्यवस्थापन हुन नसक्दा देशको कुल गार्हस्थ्य उत्पादन घटिरहेको छ । दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुसमेतमा आयातमा निर्भर हुनु परेको छ । विचार नपुराई गरिएका नीतिगत निर्णय हप्ता दिन नहुँदै फिर्ता लिने चलन व्यापक रूपमा अगाडि बढेकाले पनि कुरा धेरै काम थोरै भन्ने नाराले जरा गाडेको छ । बजारमा कृतिम अभाव, महंगी, कालोबजारी हट्न सकेको छैन । मूल्य वृद्धिले जीवन कष्टकर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७५/७६ को ११ महीनामा व्यापारघाटा १७ दशमलव २ प्रतिशतले वृद्धि भई रू. १२११ अर्ब ९६ करोड पुगेको छ । यसैगरी, सो अवधिमा चालू खाता घाटा रू. २४८ अर्ब ७२ करोड रहेको छ । आयातमा भएको विस्तारका कारण चालु खाता घाटा उच्च रहन गएको छ । शोधनान्तर स्थिति रू. ९० अर्ब ८३ करोडले घाटामा छ । जति व्यापारघाटा बढ्छ उति नै परनिर्भरता बढ्छ । नेपालको अर्थतन्त्रलाई परनिर्भर बनाउनमा निम्न कारण मुख्य रूपमा जिम्मेवार छन् : 

भारतसँगको विद्यमान व्यापारघाटा कम गर्न स्वदेशी लगानी र उद्योगलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनतर्फ अभिप्रेरित गर्नुपर्छ । 

कृषिलाई अर्थतन्त्रको आधार भन्ने तर यसको विकासमा सिन्को नभाँच्ने, बिचौलियाको बिगबिगीका कारण किसानले उचित मूल्य नपाउनु, नेपालमा चामल, पिठो, खानेतेल, फलफूल, तरकारी, दाल गेडागुडी, माछा, मासुलगायत भारतबाट आयात हुनु । यसबाट नेपाली दिनप्रतिदिन परनिर्भर भइरहेका छन् । नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर छ ।

जलस्रोतको दोस्रो धनी मुलुक नेपाल भारतबाट विद्यत् आयात गर्न बाध्य छ । कृषिलाई मौलिक पेशाका रूपमा नअपनाउनाले उत्पादकत्व ह्रास आएको छ । दैनिक हजारौंको संख्यामा विदेशिने युवाका कारण दक्ष जनशक्तिको अभावमा उद्यमशीलताको विकास हुन सकेको छैन । नेपालको भौगोलिक विविधताका कारण जंगल र जडीबुटीलाई प्रशोधन गरी निर्यात गर्न सक्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि उचित योजना र सरोकारवालाहरूबीच समन्वय हुन नसक्दा उचित लाभ प्राप्त हुन सकेको छैन । 

पर्यटकीय स्थलहरूको प्रचारप्रसारको अभावमा यस क्षेत्रबाट लिन सकिने प्रत्यक्ष लाभ लिन सकिएको छैन । व्यावसायिक शिक्षालाई कम प्राथमिकतामा राखिएका कारण उद्यमशीलता छायामा परेको छ । देशमा राजनीतिक संक्रमण बढ्नु, लगानीमैत्री वातावरण बन्न नसक्नु, युवा शक्ति विदेश पलायन हुनु, विप्रेषणमा अर्थतन्त्र निर्भर हुनु, व्यापारघाटा दिन प्रतिदिन बढिरहनुले परनिर्भरता बढाइरहेको छ । 

अधिक भारतकेन्द्रित व्यापारका कारण नेपालको अर्थतन्त्र दिनप्रतिदिन परनिर्भर बन्दै गएको छ । सबैतिर खुला सिमाना हुनुका कारण पनि व्यापारमा तुलनात्मक लाभ लिन सकिएको छैन । यसमा भारत मात्र दोषी नभई नेपालको कमजोर विदेश नीति, अदूरदर्शी निर्णय, आत्मनिर्भरतातर्फ अग्रसर हुने इच्छाशक्तिको अभाव आदिले गर्दा पनि परनिर्भरता बढेको देखिन्छ । स्वाधीन अर्थतन्त्रको नारा भाषणमा मात्र सीमित छ । संघीय र प्रान्तीय राज्यमा सांसद, कर्मचारी र मन्त्रीहरू पाल्न देशलाई धौधौ परिरहेको छ । हामी पदमा जान नपाउँदै कुरा र योजना धेरै बनाउँछौं । तर, कामदार र कर्मचारीसँगको आपसी सहमति र सहभागितालाई पदमा गएको दोस्रो दिनदेखि भुल्न थाल्छौं । यसबाट स्थायी सरकारका रूपमा रहेको कर्मचारी टाढिँदै जान्छ, अन्ततोगत्वा उनीहरूबाट सरकारलाई गर्नुपर्ने सहयोगमा कमीको संकेत देखापर्छ । यसतर्फ नेताहरूले राम्रोसँग अध्ययन गरी बेलैमा कार्यशैली बदल्नुपर्ने देखिन्छ । 

नेपाललाई आत्मनिर्भर बनाउन सुशासनमा सुधार, आर्थिक समानतामा जोड, भारतसँगको खुला सिमाना नियन्त्रण, भारूसँगको स्थिर विनिमयदरमा परिवर्तन, वातावरणीय संरक्षण, गैरबजेटरी खर्चमा कमी र पूँजी पलायन रोक्न आवश्यक छ । सार्कमा आबद्ध छिमेकी राष्ट्रहरूसँगको व्यापारमा देखिएका अवरोध हटाएर बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत देशसँगे व्यापार विस्तार गर्दै जानुपर्छ । भूपरिवेष्टित मुलुकलाई प्राप्त अधिकार र सुविधा सुनिश्चित गर्न आवश्यक कानूनी, राजनीतिक तथा कूटनैतिक पहलसमेत गर्नु अपरिहार्य छ । भारतसँगको विद्यमान व्यापारघाटा कम गर्न स्वदेशी लगानी र उद्योगलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनतर्फ अभिप्रेरित गर्नुपर्छ । कृषिजन्य पदार्थको उत्पादन र नगदेबाली उत्पादनमा जोड दिनुपर्छ । कृषिक्षेत्रमा मौसमी निर्भरता कम गर्न सिँचाइ सुविधा विस्तार, कृषि उपजको बजारीकरण तथा कृषियोग्य जमीन खण्डीकरण नियन्त्रण गरी कृषिक्षेत्रको उत्पादकत्व वृद्धि गर्नुपर्ने देखिन्छ ।
 औद्योगिक पूर्वाधारको विकास, उपलब्ध क्षमताको अधिकतम उपयोग,  प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि तथा लगानीमैत्री वातावरणे सृजना गरी औद्योगिक क्षेत्रको उत्पादन वृद्धि गर्न आवश्यकता छ । पर्यटक आगमनमा उल्लेख्य वृद्धि भए तापनि पर्यटकको बसाइ अवधि र खर्चमा खासै वृद्धि हुन सकेको छैन । यसका लागि पर्यटकीय गन्तव्यमा यातायात तथा अन्य पूर्वाधारको विकास गरी बसाइ अवधि तथा प्रतिपर्यटक खर्च वृद्धि गर्नु जरुरी छ ।

उत्पादनको वृद्धिविना देशको अर्थतन्त्र दिगो र विकसित हुन सक्दैन । यसका लागि उत्पादनमा आधारित पूर्वाधारको विकासमा सबै राजनीतिक दल सहमत हुन आवश्यक छ । आजको विश्वमा कुनै पनि मुलुक आर्थिक रूपमा स्वतन्त्र र स्वाधीन हुन सम्भव नभए तापनि तुलनात्मक लाभ लिन चुक्नु हुँदैन । तुलनात्मक लाभका क्षेत्रमा विशेषज्ञता बढाउने र आर्थिक रूपमा सबल र सक्षम मुलुकसँग व्यापार गर्ने नीतिलाई प्राथमिकतामा राखी काम गर्न सकेमात्र सुखी र समृद्ध नेपाल बनाउने सपना पूरा गर्न सकिन्छ । 

लेखक बैंक तथा वित्तीय क्षेत्रका विज्ञ हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्