ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाहाल र भट्टराईबीचको सम्बन्ध फेरि चिसियो

२०७६ चैत, २०  
१० वर्ष अघि
NA


गत सालको असार महिनामा चर्चित खरिपाटी बैठकमा एनेकपा माओवादीका दुई नेता पार्टी अध्यक्ष पुष्कमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीचको सम्बन्ध पुनः चिसो बन्दै गएको छ । गत हप्ता आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भट्टराईलाई परोक्ष रूपमा भारतपरस्त भएको आरोप लगाएपछि दुई नेताबीचको सम्बन्धमा चिसोपना बढेको हो । यसअघि पनि दुई नेताबीचका सम्बन्धमा पटकपटक चिसोपना आउँदै र क्रमशः सेलाउँदै गएको थियो । अध्यक्ष दाहालको भन्दा फरक मत राखेकै कारण भट्टराई यसअघि कारबाहीमा समेत परेका थिए । अहिलेको मतभेद स्पष्ट रूपमा वैचारिक नदेखिए पनि अध्यक्ष दाहालले आफूलाई राष्ट्रवादी र भट्टराईलाई भारतमुखी देखाउने प्रयत्नस्वरूप आएको देखिन्छ । केही समयअघि अध्यक्ष दाहालले भारतीय अधिकारीहरूसँग भेट गरेको र त्यसको नतिजा आफ्नो पक्षमा नआएका कारण पनि दाहाल भारतप्रति आक्रामक हुँदै आएका छन् । ‘बरु मर्न तयार छु अन्याय र गलत कदमविरुद्ध आत्मसमर्पण गर्दिनँ’ भन्ने भट्टराई आफूविरुद्ध लागेका आरोपको बदलामा आन्तरिक प्रतिवादका निमित्त तयार रहेको र पार्टीमा आफ्ना नजिक रहेका व्यक्तिहरूसँग गम्भीर छलफलमा जुटेका छन् । पार्टीको उच्च तहमा कुनै मतभेद नदेखियोस्, नेताहरू मिलेर जाऊन् भने चाहना राख्ने पार्टीसम्बद्ध व्यक्ति यो घटनालाई सानो र छिट्टै मिल्नु पर्ने भनिरहेका छन् भने अर्कातिर सोही पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूमा दुई नेतृत्वबीचको सम्बन्ध राम्रो देखाउने प्रयत्न हुँदै आए पनि त्यो जोडिएको काँचको ऐनाजस्तो भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्