arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सान्निध्य अधिकार संरक्षणका लागि रोम महासन्धि

२०७६ पौष, २८  
लेख | दृष्टिकोण
NA
author avatar मधुसूदन पौड्याल

प्रस्तोता, ध्वनिअंकनकर्ता र प्रसारण संस्थाका अधिकार संरक्षणसम्बन्धी रोम महासन्धि, १९६१ मा पारित भएको हो । यसमा मूलभूत तीन प्रकारका अधिकार समेटिएका छन् । ती तीन प्रकारका अधिकारलाई समष्टिमा सान्निध्य अधिकार भनिन्छ । बिपो दस्तावेजहरूमा यसलाई नेबरिङ राइट र विश्व व्यापार संगठनका दस्तावेजहरूमा रिलेटेड राइट भनिएको छ । रोम महासन्धिको अभ्युदयपछि विगत ५–६ दशकयता यसको विकास निकै द्रुत गतिमा हुँदै आएको छ । नेपालले यस महासन्धिको सदस्यता नलिए पनि यसका धेरै प्रावधानलाई प्रतिलिपि अधिकार ऐन, २०५९ मा आन्तरीकरण गरिसकेको छ ।

यस्तो अधिकारको सृजना प्रतिलिपि अधिकार भएका सामग्रीबाट हुने भएकाले सान्निध्य अधिकार भनिन्छ । प्रतिलिपि अधिकार र सानिध्य अधिकारमा हुने झीनो फरक भनेको प्रतिलिपि अधिकारले रचनाकारहरूको स्वार्थको जगेर्ना गर्छ भने सान्निध्य अधिकारले तिनका कार्य र प्रयोगकर्ताको रक्षा गर्छ । 

रोम महासन्धिले सान्निध्य अधिकारको २० वर्ष संरक्षण पाउने व्यवस्था गरेको छ भने हाम्रो कानूनले ५० वर्षको सहुलियत दिएको छ ।

सान्निध्य अधिकारको पहिलो अधिकार हो, प्रस्तोता । ‘प्रस्तोता’ भन्नाले अभिनय, गायन, संगीत र नाचको माध्यमद्वारा साहित्यिक वा कलात्मक कार्य वा अभिव्यक्ति जनसमक्ष प्रस्तुत गर्ने अभिनयकर्ता, गायक, संगीतकार, नर्तक र यस्तै अन्य विविध कला प्रस्तुत गर्ने व्यक्ति सम्झनुपर्छ । 

यो अधिकार सम्झौताद्वारा विस्तारित वा स्वतन्त्र पनि हुन सक्छ । उदाहरणका लागि गायक, नाटक वा फिल्मका कलाकार, नाटककार, अभिनेता, अभिनेतृ जस्ता व्यक्तिको यस्तो अधिकार हुन सक्छ । गायकले संगीतकारको गीत गाउँछन् । नृत्यकारले नाटक निर्देशकको नृत्य ढाँचाको अनुसरण गर्छन् । विश्व व्यापार संगठन सदस्य राष्ट्रमा रोम महासन्धिको स्तर अनुसारको संरक्षण नेपालका प्रस्तोताले पनि पाउँछन् । 

दोस्रो हो, ध्वनिअंकन । नेपालको कानूनले रोम महासन्धिको आशयअनुसार प्रस्तुतिका रूपमा पहिचान गरेका विषय हुन् । श्रव्यदृश्य रचनाबाहेक अरू प्रकारको रचनाको हकमा प्रत्यक्ष रूपमा वा अन्य कुनै उपकरण वा प्रक्रियाबाट वाचन, वादन, नृत्य, अभिनय वा अन्य प्रकारले प्रस्तुत गर्ने कार्य हो ।  श्रव्यदृश्य रचनाको हकमा त्यस्तो रचनामा समायोजित दृश्यलाई सिलसिलाबद्ध रूपमा देखाउँदै त्यसमा समायोजित ध्वनिसमेत सुनाउने कार्य र ध्वनिअंकनको हकमा परिवार वा छरछिमेक, साथीभाइ, इष्टमित्रको भन्दा बाहिर रहेर वा त्यस्ता व्यक्तिको उपस्थिति भए पनि सार्वजनिक रूपमा सुन्न सकिने गरी प्रस्तुत गर्ने कार्य हो ।

कसैले उनीहरूको सहमतिविना प्रत्यक्ष प्रस्तुतीकरण संग्रहण गर्न (रेकर्ड गर्न) वा प्रसारण गर्न पाउँदैन । सार्वजनिक भइसकेका प्रस्तुतिमा पनि उनीहरूको स्वीकृतिविना कुनै हेरफेर, सुधार वा काटछाँट पनि स्वयम् प्रस्तोताबाहेक अन्य व्यक्तिले गर्न पाउँदैन । यसरी उनीहरूको प्रस्तुतिमा केही मात्रामा नैतिक अधिकार पनि रहेको हुन्छ । प्रस्तोताले कसैसँग सम्झौता गरी कुनै फिल्म उत्पादकलाई वा ध्वन्याङ्कनकर्तालाई सुम्पेर अधिकारबापत आफ्नो रोयल्टी लिन पाउँछन् तर उत्पादनबाट वितरणमा गइसकेपछि भने उनीहरूसँग कुनै सम्झौता हुन नसक्ने हुँदा अधिकारको दाबी गर्न नसक्ने अवस्था रहन्छ ।

नेपालको कानूनले रोम महासन्धिभन्दा पनि बढी प्रस्तोताको अधिकार सुनिश्चित गरेको छ । यसअनुसार प्रस्तोतालाई आफ्नो प्रस्तुति प्रसारण वा सञ्चार गरी जनसमक्ष पुर्‍याउने, आफ्नो प्रस्तुति प्रस्तुत गर्ने तरीका वा माध्यम निर्धारण गर्ने र पुनरुत्पादन गर्ने, आफ्नो प्रस्तुतिको प्रस्तुतीकरण गर्न वा त्यसका प्रतिलिपि विक्री वा हस्तान्तरण गरी वा स्वामित्व परिवर्तन गरी पहिलोपटक जनसमक्ष पुर्‍याउने, आफ्नो प्रस्तुतिको प्रतिलिपि भाडामा दिने, निर्धारित तरीका वा माध्यमद्वारा उत्पादित प्रस्तुतिलाई सार्वजनिक गर्न पाउने आफ्नो प्रस्तुति परिमार्जन वा संशोधन गर्ने अधिकार प्रत्याभूत गरेको छ ।

ध्वनिअंकन भन्नाले ध्वनि र आकृतिका एकैसाथ श्रवण गर्न जुनसुकै तरीकाबाट वा माध्यममा अंकन गरिएको कुनै पनि प्रस्तुतिको ध्वनिअंकन (रेकर्ड) गर्ने कार्यलाई भनिन्छ । यो काम सम्पादन गर्ने व्यक्तिलाई ध्वनिअंकनकर्ता भनिन्छ । ध्वनिअंकन उत्पादनकर्ता भनेको म्युजिक नेपालजस्तै ध्वनिअंकनसम्बन्धी व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्था हुन् । तिनीहरूलाई प्रदत्त अधिकारमा ध्वनिअंकन कार्यकोे प्रत्यक्ष वा अप्रत्यक्ष रूपले पुनरुत्पादन गर्ने, ध्वनिअंकन कार्यको मूल प्रति वा प्रतिलिपिको विक्री वा स्वामित्व हस्तान्तरणका अन्य तरीकाबाट सर्वसुलभ गराउने, ध्वनिअंकन कार्य सम्झौता गरी भाडामा वा सापटीमा दिने, ध्वनिअंकनलाई जनसाधारणद्वारा श्रवण गर्न सक्ने बनाउने र सार्वजनिक गर्नेजस्ता अधिकार हुन् ।

ध्वन्याङ्कनकर्ताले सार्वजनिक वितरण वा प्रसारणका लागि उत्पादन प्रति वा रेकर्ड उत्पादन गर्छन्, जसमा आर्थिक लाभका लागि सम्झौताको अधीनमा रही चलचित्र उत्पादनकर्ता वा अन्य पक्षसमेत लाभी हुन्छन् । रेकर्डका प्रयोगकर्ता टीभी, एफएम, सिनेमा हल, वायुयानले अहिले रेकर्ड प्रयोग गरेबापत बुझाएको रोयल्टी तिनीहरूको कल्याणकारी गैरनाफामूलक संस्थामा संकलन हुन्छ र निर्धारित पद्धति र सिद्धान्तअनुसार वितरण गरिन्छ । यसरी उनीहरूमा आफ्नो कामबाट आर्थिक लाभ प्राप्त गर्ने अधिकार हुन्छ ।

प्रसारण भन्नाले सार्वजनिक जानकारीका लागि रचनाको प्रदर्शन सार्वजनिक गर्नु हो । यो काम विद्युतीय उपकरण जस्तो टीभी, एफएम वा भू–उपग्रहका माध्यमबाट गरिने श्रव्य वा श्रव्य–दृश्य सामग्रीको प्रसारण नै हो । प्रसारणकर्ता भनेको प्रसारण गर्ने व्यक्ति वा संस्था हो । प्रसारण संस्थालाई आफूले प्रसारण गरेको विषय पुनःप्रसारण गर्ने, प्रसारण सर्वसाधारणसमक्ष सर्वसुलभ हुने गरी सञ्चार गर्ने, प्रसारणको समायोजन गर्ने, प्रसारणको समायोजनको पुनरुत्पादन गर्ने अधिकार हुन्छ ।

नेपालको कानूनबमोजिम सान्निध्य अधिकार संरक्षणको दायरा र अवधि दुवै अन्तरराष्ट्रिय सन्धिसम्झौतामा निर्धारित मापदण्डभन्दा बढिरहेको छ । जस्तो रोम महासन्धिले सान्निध्य अधिकारको २० वर्ष संरक्षण पाउने व्यवस्था गरेको छ भने हाम्रो कानूनले ५० वर्षको सहुलियत दिएको छ । मापदण्डभन्दा बढी भएर कानून समस्यामा पर्ने त होइन तर स्वदेशी प्रयोगकर्ताको अधिकार संकुचित हुनेछ । विदेशी सान्निध्य अधिकार धनीले बढी संरक्षणको फाइदा उठाएमा असर पर्नसक्छ । त्यस्तो संरक्षणको फाइदा विदेशीले प्रसारण शुरू भएको वर्षबाट ५० वर्षसम्म कायम रहनेछ । 

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्