arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेबोनका नयाँ अध्यक्षसँग अपेक्षा

नेप्सेको समस्या निराकरण नै कार्यकालको सफलताको कसी

२०७६ पौष, २८  
लेख | दृष्टिकोण
NA
author avatar ईश्वरीप्रसाद रिमाल

२०७३ साल साउन १२ गते १८८१ पुगेको नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । विगत एक डेढ वर्षदेखि नेप्से ११०० देखि १३५० को आसपासमा घुमिरहेको छ । विगत लामो समयदेखि सतह (बटम लाइन) मा बजार बसिरहँदा नेप्सेका लगानीकर्ता आत्तिएका ‘प्यानिक’ भएका छन् । कुल गार्हस्थ्य उत्पादन रू. २२ खर्बको हाराहारी रहँदा करीब रू. २० खर्बमा रहेको बजार पूँजीकरणमा निकै संकुचन भएको छ । हाल कुल गार्हस्थ्य उत्पादन करीब रू. ३५ खर्ब हुँदा पूँजीकरण करीब रू. १५ खर्बमा रहेको छ । उछाल आउँदा दैनिक रू. २ अर्बको कारोबार हुने गरेको बजारमा गत हप्तालाई छोडेर हेर्न हो भने हालैका दिनहरूमा दैनिक रू. २०/२५ करोडको मात्र बारोबार हुने गरेको छ । नयाँ अध्यक्षज्यूलाई स्वागत गर्न गतहप्ता कारोबारको आकार र परिसूचक दुवै बढेका छन् । यसले स्थिरता पाउँछ कि पाउँदैन यस हप्ताको कारोबारले निर्धारण गर्ने छ ।

मुलुक संघीयतामा गइसकेपछि २०७४ सालमा तिनै तहको निर्वाचन भयो । त्यो चुनावपछि नेकपाको नेतृत्वमा सरकार बन्यो । लगानीकर्ताले देशमा स्थिरता आएको ठाने । देशको चौतर्फी विकासका साथै शेयरबजारमा पनि सुधार हुन्छ भन्ने उनीहरूको अपेक्षा थियो । तर, त्यसो हुन सकेन । बैंक तथा वित्त कम्पनीमा पूँजी वृद्धिले गर्दा शेयरको आपूर्ति बढ्न गयो । पूँजी वृद्धिका लागि कम्पनीहरूले निष्कासन गरेको हकप्रद र फर्दर पब्लिक अफर (एफपीओ)ले शेयर आपूर्ति बढ्न गयो । तर, मागमा वृद्धि हुन सकेन । सरकारको पूँजीगत खर्च समयमा नहुँदा तरलताको अभाव सधैं रहिर≈यो र लगानीयोग्य रकमको खाँचो भयो । यस बीच सीडीएससीको स्थापना भई प्राविधिक रूपले केही सुधार भए तापनि समग्र पूँजीबजारको विकास हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने वित्तीय उपकरणहरू निकै थोरै छन् । बजारमा साधारण शेयरको मात्र कारोबार भइरहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने वित्तीय उपकरणहरू निकै थोरै छन् । बजारमा साधारण शेयरको मात्र कारोबार भइरहेको छ । यसले मात्र बजारको आकार बढाउन सकिँदैन । बजार पूँजीकरण र अर्थतन्त्रको आकारको आधारमा बजारको कारोबार अत्यन्त थोरै छ । अन्य देशका स्टक मार्केटमा इक्विटी शेयरको कारोबारले मात्र कारोबारको आकार त्यति ठूलो भएको होइन । उनीहरूले विभिन्न वित्तीय औजार प्रयोगमा ल्याएका छन् । हामीले पनि विभिन्न वित्तीय औजार प्रयोगमा ल्याई वर्तमान अवस्थाको तरलताविहीन बजारलाई तरलतायुक्त बजारमा बदल्न सक्छौं । यी विषय संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ :

अक्शन मार्केट : सीडीएससीको सफल सञ्चालनका लागि अक्शन मार्केट अपरिहार्य छ । क्लोजआउटमा परेर नपुग भएको शेयरको आपूर्ति यस बजारबाट गरिन्छ । अक्शन मार्केट छुट्टै सञ्चालन हुने भएकाले कारोबार आकारमा थप वृद्घि हुन जान्छ । यो बजार सञ्चालनका लागि नीतिगत व्यवस्था, विधि र प्रक्रिया तयार गर्नुपर्ने हुन्छ । अहिलेसम्म यो बजार सञ्चालन हुन नसकेकाले नवनियुक्त अध्यक्षमा नै यसको टुंगो लगाउनुपर्ने जिम्मेवारी छ ।

इन्ट्राडे कारोबार : धेरै देशका स्टक मार्केटको धेरैजसो अंश इन्ट्राडे कारोबार (आजै किनेर आजै बेच्ने) मा आधारित हुन्छ । हामीले पनि यसलाई ढिला नगरी सञ्चालन गर्नुपर्छ । यसमा शेयरको डेलिभरी गर्नु नपर्ने भएकाले लगानीकर्ताले बजार बढ्ता र घट्ता दुवैतिर कमाउन सक्छन् । इन्ट्राडे कारोबार सञ्चालनमा ल्याइयो भने हालका प्राविधिक विश्लेषकहरूको पेशा पनि अति नै फल्ने फुल्नेछ ।

ऋणपत्रको कारोबार : सरकार र कम्पनीका तर्फबाट जारी हुने बचतपत्रहरू तथा ऋणपत्रहरूको हाम्रो बजारमा धेरै पहिलेदेखि नै कारोबार भएको हो । यसका नीति तथा नियम पनि बनिसकेका छन् । यदाकदा काम पनि हुन्छ तर राम्रोसँग कारोबार हुन सकेको छैन । यसको कारण हो, संस्थागत कर र व्यक्तिगत करको दरमा अग्रिम लाग्ने कर । करको दर फरक भएकाले गर्दा संस्था र व्यक्तिका बीच आपसी कारोबार हुन सकेन । यसमा समस्या केही पनि छैन, सजिलै समाधान गर्न सकिन्छ । नीति निर्माताले चाहेमा तुरुन्तै मिलाउन सकिन्छ र बजारको आकार बढाउन सकिन्छ ।

डेरिभेटिभ बजार : विश्वका कतिपय विकसित वा विकासोन्मुख मुलुकका बजारमा इक्विटी मार्केटको कारोेबार भन्दा डेरिभेटिभ मार्केटको कारोबार धेरै छ । हामीले बजार सञ्चालन गरेको २६ वर्षभन्दा बढी भइसक्यो । नेपालमा पनि डेरिभेटिभ बजार सञ्चालन गर्न सकिन्छ । त्यसको पहल स्टक एक्सचेन्जले गरिरहेको छ । दुईओटा डेरिभेटिभ पत्रहरूको बजार बनाउने विषय सुनिएको पनि छ । यसलाई बोर्ड नेतृत्वले किनारा लगाउनुपर्छ ।

गैरआवासीय लागानी : शेयरबजारमा एनआरएन (गैर आवासीय नेपाली) को लगानी ल्याउने चर्चा सधैं भइरहन्छ । यो विषय सरकारको बजेटमा समावेश गरिएको हुन्छ । तर, कार्यान्वयनमा आउन सकेको छैन । यसको समस्या भनेको लगानी भित्रिने र बाहिरिने विषयमा छ । यसलाई केन्द्रीय बैंकले सहजीकरण गर्नुपर्ने हुन्छ । वर्तमान बोर्ड अध्यक्ष केन्द्रीय बैंकका पूर्वपदाधिकारी हुनु भएकाले यसको हल गर्न उहाँलाई बढी सहज होला भन्ने यस पंक्तिकारलाई लागेको छ । उहाँको पहलमा गैरआवासीय नेपालीको लगानी शेयरबजारमा आयो भने यसको श्रेय उहाँलाई नै जानेछ र बजारको विकास र रूपान्तरण पनि हुनेछ । 

हाम्रो पूँजीबजारमा थुप्रै काम गर्नुपर्ने देखिएका छन् । विगतमा परिस्थिति असहज हुन्थ्यो । हालका अध्यक्षलाई यस्तो समस्या पर्ने छैन । 

कमोडिटिज एक्सचेन्ज : यो बजार नेपालमा सञ्चालन भईकन बन्द पनि भइसकेको छ । ऐन कानूनविना विगतमा बेलगाम सञ्चालन भएकाले नै बन्द भएका हुन् । यसलाई व्यवस्थित गर्न भनेर ऐन र नियमहरू ल्याइएको छ । यस्तो बजार सञ्चालन गर्ने एक्सचेन्ज स्थापना गर्न आवेदन मागसमेत भइसकेको छ । यस्ता एक्सचेन्ज कतिओटा आवश्यक छन् र कतिओटा सञ्चालन गर्दा मुलुकको आवश्यकता परिपूर्ति हुन्छ, कसरी सञ्चालन गर्दा गुणस्तरीय सेवा प्रदान हुन सक्छ भनेर पहिचान गर्नुपर्ने हुन्छ । पहिला विनाअध्ययन र विनास्वीकृति सञ्चालन गरेकाले नियमन र अनुगमनको अभावमा बेथिति ज्यादै बढेको थियो । कतिपय एक्सचेन्ज बन्द भएर लगानीकर्ता डुबेका छन् ।

प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल र हेजफन्ड : यस सम्बन्धमा नियम, विनियम बनिसकेका छन् । यसपालिको बजेटमा परेको थियो तर कार्यान्वयनमा आउन सकेको छैन । हामीहरूसँग म्युचुअल फन्ड सञ्चालनको अनुभव भए तापनि यस्ता फन्ड सञ्चालनको अनुभव भने छैन । यसमा वैदेशिक लगानीको अपेक्षा गरेको देखिन्छ । यसको सफल कार्यान्वयन नवनियुक्त अध्यक्षले गराउनुपर्ने अभिभारा छ ।

वैदेशिक लगानी : यस विषयको उठान भएको धेरै भयो । शेयर लगानीमा सीधा नभए पनि स्टक एक्सचेन्जमा विदेशी संयुक्त लगानीकर्ता ल्याउन सके आधुनिक प्रविधिको प्रवेश भई हाम्रो बजार अन्तरराष्ट्रिय स्तरको हुने थियो । यसको थालनी विगतमा केन्द्रीय बैंकले नेपाल स्टक एक्सचेन्जको शेयर विनिवेश गर्दा नै गर्न सकिन्थ्यो । अब पनि यसका लागि पहल गर्ने हो भने अन्तरराष्ट्रिय लगानीकर्ताको कमी छैन । तिनीहरूको लगानी ल्याउन कुनै कठिनाइ हुने छैन ।

अन्य : माथि उल्लेख गरिएकाबाहेक अन्य वित्तीय औजारहरू जस्तै : वारेन्ट्स्, अप्शन, प्रिफरेन्स शेयर, कन्भर्टिबल डिभेन्चर आदिलाई पनि बजारमा प्रवेश गराउन सकिन्छ । यी औजार मात्रैबाट पनि हालको कारोबारको आकारलाई १०/१५ गुणासम्म बढाउन सकिन्छ ।
 
हाम्रो पूँजीबजारमा थुप्रै काम गर्नुपर्ने देखिएका छन् । शेयर निष्कासन गर्ने कम्पनी र अन्डरराइटरबीच विवाद बढ्दै गएको छ । कतिपय कम्पनीले शेयर निष्कासन त गरे तर नेप्सेमा सूचीकरण हुन सकेको छैन । छुट्टै नियमन निकाय नभएका कम्पनी बेलगाम कार्य गरिरहेका छन् ।

दलाल व्यवसायीहरूले आफ्नो कार्यक्षेत्र विस्तारको विषय उठाइरहेका छन् । शाखा सञ्जाल देशभर फैलाउन वर्कस्टेशनको विद्यामान मापदण्ड परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । दोस्रो स्टक एक्सचेन्जको विषय उठिरहेको छ । बैंकलाई ब्रोकर लाइसेन्सको विषय उठिरहेको छ । यस्ता विषय धेरै छन् जसलाई नवनियुक्त बोर्ड अध्यक्षले टुंग्याउनुपर्छ ।

पहिलेका अध्यक्षहरूले पूँजीबजारमा आफ्नो सक्दो योगदान गर्नुभएकोे थियो तापनि विगतमा परिस्थिति असहज हुन्थ्यो । एक पक्षको सरकारले नियुक्ति गर्ने र तुरुन्तै अर्को पक्षको सरकार आउने भइरहन्थ्यो । यस्तो अवस्थामा अध्यक्षले आफ्ना कार्ययोजना लागू गर्न असहज भइरहेको थियो । हालका अध्यक्षलाई यस्तो समस्या पर्ने छैन । उहाँ आफैमा बहुआयामिक नेतृत्वकर्ता र सबैलाई समेट्न सक्ने क्षमता भएकाले उहाँलाई आफ्ना कार्य योजना लागू गर्न कुनै कठिनाइ हुने छैन । त्यसमाथि सरकारको पूर्ण सहयोग पाउनु हुने नै छ । उहाँको नियुक्ति सँगसँगै धेरैका अपेक्षा मुखरित भएका छन् । ती सबै अपेक्षालाई पूरा गर्न उहाँ सफल हुनुहोस् । उहाँको समयमा पूँजीबजारको बृहत्तर विकास होस् र कार्यकाल सफल रहोस् ।

लेखक नेपाल स्टक हाउस प्रालिका अध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्