ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बौद्धिक सम्पत्ति अधिकार उल्लंघन

२०७६ चैत, २२  
लेख | दृष्टिकोण
NA
author avatar मधुसूदन पौड्याल

कुनै व्यक्तिको बौद्धिक सम्पत्ति अधिकार कसैबाट हनन भएमा सम्बद्ध धनीको पक्षमा प्रचलन गराउनु (इनफोर्स) पर्ने दायित्व निर्धारण र त्यसका लागि आवश्यक व्यवस्था ट्रिप्स सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । बौद्धिक सम्पत्ति अर्थिक समुुन्नतिको कुञ्जी हो । बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरी सम्बद्ध धनी र आधिकारिक प्रयोगकर्ताको अर्बांै रुपैयाँको क्षति पुर्‍याउने गरेका उदाहरण पनि धेरै छन् । यस्ता समस्यासँग जुध्न र तुरुन्त सम्बोधन गर्न यो व्यवस्था गरिएको हो । यसै प्रसङ्गमा प्रस्तुत अंकमा सर्वप्रथम बौद्धिक सम्पत्ति अधिकार उल्लंघन र त्यसको कारण विषयमा प्रकाश पार्न खोजिएको हो । बौद्धिक सम्पत्ति अधिकार प्रचलनको उठान यसैबाट शुरू हुन्छ ।

बौद्धिक सम्पत्ति अन्य भौतिक सम्पत्तिभन्दा धेरै मूल्यवान् हुन्छ । त्यसैले यसको उल्लंघनलाई तुरुन्तै नियन्त्रण नगरे धनीले भयंकर क्षति बेहोर्नुपर्ने हुन्छ । 

कसैको बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्नु भनेको कुनै तरीकाले धनीको एकलौटी अधिकारमाथि दखल पुर्‍याउनु हो । यसलाई अरूको बौद्धिक सम्पत्ति तेस्रो पक्षले विनापूर्वस्वीकृति प्रयोग गरेको वा नक्कल गरेको रूपमा पनि बुभ्mन सकिन्छ । दखल वा विनापूर्वस्वीकृति प्रयोग र एकलौटी अधिकारलाई निरपेक्ष रूपमा बुभ्mनु हुँदैन । एकलौटी अधिकार भनेको तेस्रो व्यक्तिलाई सम्बद्ध बौद्धिक सम्पत्ति प्रयोग गरी निश्चित कार्य गर्नबाट वञ्चित गर्न पाउने अधिकार हो । यसको व्याख्या बौद्धिक सम्पत्तिको किसिमअनुसार फरक–फरक हुन्छ । धनीले हरकार्यका लागि एकलौटी अधिकारको तगारो तेस्र्याउन पाइँदैन, त्यसमा प्रयोगकर्ताहरूको सार्वजनिक अधिकार पनि हुन्छ । 

एउटा व्यापार चिह्न (ट्रेडमार्क) को उदाहरण लिऊँ : कसैले आफ्नो व्यावसायिक कारोबारबाट कुनै व्यापार चिह्न दर्ता गरी कुनै वस्तु उत्पादन गरिरहेकोमा अर्कोले उस्तै वस्तुमा उही वा समान प्रकारको व्यापार चिह्नको प्रयोग गर्दा यसबाट अघिल्लो व्यवसायीको व्यापार चिह्नमा दखल पुगेमा अघिल्लो व्यापार चिह्न धनीको अधिकार उल्लंघन भएको मानिन्छ । मानौं, कर्कुरे नाम गरेको व्यापार चिह्न उद्योग ‘क’ को नाममा तत्काल खाजा खाने वस्तुमा पहिले नै बजारमा स्थापित भएको छ र निकै नाम कमाएको पनि छ । अर्को प्रतिस्पर्धी उद्योग ‘ख’ ले पनि समान प्रकारको वस्तु उत्पादन गर्छ र ‘क’ को बजार ओगट्न उससँग झुक्किने ‘कर्मुरे’ व्यापार चिह्न लगाई उही वस्तुको व्यपार गर्छ । यसबाट ‘क’ को विक्री परिमाण घट्छ । त्यसकारण यो व्यापार चिह्नको उल्लंघन हो र यहाँ ‘ख’ ले ‘क’ को व्यापार चिह्नको उल्लंघन गरेको छ । त्यसैले व्यापार चिह्नको उल्लंघन गरेको हो/होइन भनी यकिन गर्न चार शर्तहरू पूरा हुनुपर्छ— पहिलो, दोस्रोकोे प्रयोगले पहिलो व्यवसायलाई दखल पुर्‍याएको हुनुपर्छ । दोस्रो, उही वा समान वस्तु वा सेवामा प्रयोग गरिएको हुनुपर्छ । तेस्रो, उही वा समान चिह्न हुनुपर्छ र चौथो व्यापारिक लाभका लागि प्रयोग गरिएको हुनुपर्छ ।

बौद्धिक सम्पत्ति अधिकार उल्लंघनमा यो बाहेक अन्य दुई प्रकारका पदहरू पनि प्रयोग भएको पाइन्छ– पाइरेसी र काउन्टर फिटिङ । अधिकार उल्लंघन शब्द सबै किसिमका बौद्धिक सम्पत्तिमा सबै अवस्थामा प्रयोग गरिन्छ । पाइरेसी प्रतिलिपि अधिकारमा मूल प्रतिबाट जस्ताको तस्तै किताब वा क्यासेटका प्रतिहरू निकालेको अपराधको केसमा प्रयोग गरिन्छ । जस्तो म्युजिक इन्डस्ट्रिज काठमाडौं अधिकारिक उत्पादक भएका श्रव्यदृश्य क्यासेट अनधिकृत रूपमा धर्मेन्द्र थापा काठमाडौंले उत्पादन गरी बेचबिखन गरेको केस । मिहिरकुमार पाठकद्वारा लिखित जनआन्दोलनको विषयमा लेखिएको ‘नेपाली संविधान राजनीतिक निर्णायक घटना र मोड नामक पुस्तकको शीर्षक द किङ भर्सेस पिपुल’ राखी विनास्वीकृति जस्ताको त्यस्तै अनुवाद गरी प्रकाशित गरेको केस । यो घटना पाइरेसी नभए पनि प्रतिलिपि अधिकार उल्लंघन हो । यसमा सर्वोच्च अदालतको अन्तिम निर्णयअनुसार बादलले पाठकलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति पनि तिर्नुपरेको थियो ।

काउन्टर फिटिङ उही व्यापार चिह्न प्रयोग गरी जस्ताको तस्तै वा उस्तै देखिने गरी उही सामान उत्पादन गरेको अपराधको केसमा प्रयोग गरिन्छ । जस्तो बर्गर डोर्फ कम्पनी जर्मनीको उत्पादन निभिया क्रीमको नेपालका आधिकारिक विक्रेता पी के इम्पेक्सका नक्कली सामान केही स्थानीय व्यापारीले खासामा उत्पादन र प्याकिङ गरी काठमाडौंको बजारमा वितरण गरेको केस हो । यस्तै नाइक, आदिदास, क्रोकोडाइल, साम्सुनाइट, सीको, पाइलट आदि जस्ता खुलेयाम नेपालका सडक किनारमा बसेर व्यापारीले विक्री गरिरहेका सामानहरू पनि काउन्टर फिटिङ नै हुन् । यी अवस्थालाई गम्भीर वा जानीजानी अधिकार उल्लंघन गरेको पनि भन्न सकिन्छ । धारा, निरमा, सन आदि नेपालमा नेपालीको नाममा दर्ता भई वस्तु उत्पादन भइरहेको भए तापनि पहिलेदेखि नै भारतीयको नाममा भारतमा दर्ता भई बजारमा प्रचलनमा भएका र स्रोतमा शंकाउपशंका पैदा हुने भएकाले व्यापार चिह्न अधिकारको उल्लंघन भएको होइन भन्न सकिँदैन । तर काउन्टर फिटङ भने होइन ।

मान्छेहरू बौद्धिक सम्पत्तिको बहुमूल्य लक्षण, अपराधमा उद्यत व्यक्तिको रातारात करोडपति बन्ने महत्वाकांक्षा र बौद्धिक सम्पत्तिको सहज पहुँचका कारण मान्छेहरू बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्न लागिपर्छन् ।

मान्छेहरू बौद्धिक सम्पत्ति अधिकार उल्लंघन जस्तो कुकर्म गर्न किन लागि पर्छन् ? यसका प्रमुख तीन कारण देखिन्छन्— बौद्धिक सम्पत्तिको बहुमूल्य लक्षण, अपराधमा उद्यत व्यक्तिको रातारात करोडपति बन्ने महत्त्वाकांक्षा र बौद्धिक सम्पत्तिको सहज पहुँच । बौद्धिक सम्पत्तिमा अरू किसिमका सम्पत्तिको भन्दा धेरै फरक लक्षण हुन्छन्, जस्तो यसको यसको स्वरूप सूक्ष्म हुन्छ अर्थात् अमूर्त हुन्छ । यसको संरक्षण विदेशमा पनि हुन्छ । सञ्चय गर्न ठूला स्टोर चाहिँदैन सानो यूपीएस भए पुग्छ । भन्सार प्रक्रिया चाहिँदैन, विद्युतीय उपकरणबाट आयातनिर्यात हुन्छ । नयाँ आविष्करजस्ता बौद्धिक सम्पत्ति उत्पादन प्रक्रियामा वा वस्तुमा प्रयोग गर्दा वस्तुको अधिक मात्रामा मूल्य सृजना हुन्छ आदि । यस्ता अनौठा लक्षणले गर्दा यो अत्यधिक मूल्यवान् पनि छ । मूल्यवान् वस्तुमा आपराधिक मानसिकता भएका व्यक्तिले आँखा गाड्नु स्वाभाविकै हो । त्यसो त यो युगमा सबैजसो व्यक्ति भौतिक पूँजी आर्जनमा उद्यत देखिन्छन् । फेरि चोर्न त्यही कुरा सजिलो हुन्छ जेको पहुँच सहज हुन्छ । बौद्धिक सम्पत्ति कतै बैंक खातामा वा लकरमा राखेर सुरक्षित गर्न सकिँदैन, यो त खुला हावामा सबैको पहुँचमा पनि हुन्छ । यस्तै कारण बौद्धिक सम्पत्ति अधिकार कसैले सहजै उल्लंघन गर्ने भएकाले धनीको अधिकार प्रचलन गराउनुपर्ने आवश्यकता पर्न गएको हो । 

माथि उल्लेख भएका बौद्धिक सम्पत्तिको प्रकृति र मानवीय स्वभावबाहेक अन्य तुलनात्मक लाभका कारण समेतले गर्दा पनि मान्छे बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्ने तथा चोरी गर्ने काममा उद्यत रहन्छन् । त्यस्ता व्यक्तिलाई लगानी डुब्ने डर हुँदैन । कामदार खर्च बेहोर्नु पर्दैन । विज्ञापन तथा प्रवद्र्धन खर्च बेहोर्नु पर्दैन । सामाजिक दायित्व वहन गर्नु पर्दैन । सरकारलाई कर तिर्नु पर्दैन । गुणस्तर सुधारको चिन्ता हुँदैन । इज्जत प्रतिष्ठाको चिन्ता हुँदैन । वस्तुको बजार प्रवर्द्धनको चिन्ता हुँदैन । उद्योग सञ्चालनको जोखिम उठाउनु पर्दैन । विभिन्न परामर्शदाता, प्रविधिज्ञ, कानून व्यवसायी, इन्स्योरेन्स, उपयोगिता आदि खर्च बेहोर्नु पर्दैन र ती व्यक्तिले सबैभन्दा राम्रो वस्तुको नक्कल गर्छन् वा बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्छन् ।

बौद्धिक सम्पत्ति अन्य भौतिक सम्पत्तिभन्दा धेरै मूल्यवान् हुन्छ । त्यसैले यसको उल्लंघनलाई तुरुन्तै नियन्त्रण नगरे धनीले भयंकर क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसैले ट्रिप्स सम्झौताले बौद्धिक सम्पत्ति अधिकार प्रचलन गराउनुपर्ने आवश्यकतालाई सर्वाधिक महत्त्व दिएको छ । अतः बौद्धिक सम्पत्ति अधिकार प्रचलन भनेको के हो र यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा आगामी अंकमा विस्तृत रूपमा चर्चा गरिनेछ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्