ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमण : नेपालले चीनबाट के सिक्ने  ?  एकजना डाक्टरको अनुभव ( भाग–१)   

२०७६ चैत, २२  
स्वास्थ्य र जीवन शैली
Image Not Found

चैत २३, काठमाडौं । भैंसेपाटीस्थित निवास पुग्दा उनले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई लिइरहेका थिए ।उनको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्‍यौं ।

उनले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट ८ लाख आरएमबी (चिनियाँ पैसा) अनुदान पाएका रहेछन् । रू.१ करोड ३२ लाखभन्दा बढी हुने सो रकम प्राप्त गरेको खबर भर्खरै चिनियाँ साथीहरुबाट पाएका प्राडा झा पनि खुसी देखिन्थे ।     
     
‘सरी है, चीनबाट साथीहरुको निरन्तर फोन आएकाले तपाईंहरुलाई कुराएँ’ प्राडा झा कुराकानी गर्न अब तयार भए । हामीलाई पनि जिज्ञासा भयो कोरोना विषयमा नै जान्ने । किनभने यतिखेर संसारका मानिसले सबैभन्दा धेरै खोजी गरेको र सुन्न चाहेको विषय कोरोनाबाट कसरी बच्ने भन्ने नै होला सायद । हामीले पनि यहींबाट वार्ता शुरु ग¥यौं– तपाईंले प्राप्त गरेको अनुदान कस्तो हो ? यसबाट के गर्ने हो ?     
         
औषधिलाई कोरोनाको थेरापीका रुपमा कसरी प्रयोग गर्ने भन्ने विषयको अनुसन्धान रहेछ । आफ्नो मोबाइल फोन सेटमा अनुसन्धानसार (एब्स्ट्रयाक्ट) देखाउँदै  भने, ‘यो एउटा ‘सिजनल ग्रयान्ट’ हो र यतिखेर चीनले यस्ता अनुदानहरुलाई कोरोनाको विषयमा विशेष अनुसन्धान गर्नेगरी केन्द्रित गरेका छन्, मैले पनि कोरोना भाइरसका लागि औषधिलाई कसरी थेरापीमा प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गर्ने हो, यो वर्षदिनमा सक्नुपर्छ ।’

 उक्त अनुदानको शीर्षक रहेछ– ‘सेन्ट्रल गभर्मेन्ट रिसर्च फन्ड फर कोरोना’ रहेछ । केन्द्र सरकारले आठ र सियान प्रान्तीय सरकारले ८ लाख आरएमबी उनलाई प्रदान गरिएको रहेछ । यो अनुसन्धानबाट पनि कोरोना भाइरसको नियन्त्रणमा प्रयोग हुने एक प्रकारको औषधिकै विकासमा सहयोग पुग्दछ ।     
     
तीन महीना पहिलेको ‘कोभिड–१९’ को मुहान मानिने वुहान यतिखेर भने सामान्य जीवनमा फर्किसकेको छ । मेट्रो रेल तथा बस चल्न शुरु गरेका छन् । मानिसहरु सामान्य अवस्थामा फर्केका छन् । कलकारखाना, होटल, रेष्टुरेन्ट नियमित जस्तै भइसकेका छन् । चिनियाँले यति चाँडै वुहानलाई यस्तो सामान्य अवस्थामा ल्याइसकेको छ ।

अझ आफ्ना केन्द्र तथा प्रान्तीय सरकारका अनुसन्धान कोषहरुलाई यति चाँडै ‘कोरोना अनुसन्धान कोष’ मा परिणत गरेर अनुसन्धानदाता र वैज्ञानिकलाई अनुदान दिन थालिसकेकोले आगामी दिनमा चिनियाँहरु कोरोनाको विषयको अनुसन्धानलाई कसरी अघि बढाउलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । यसबाट हामीले पनि केही सिक्न सकिएला भनेर उनले प्राप्त गरेको यो व्यक्तिगत अनुसन्धानवृत्तिको विषयमा बताइदिन अनुरोध ग¥यौं र यहाँ प्रस्तुत गरेका हौं ।     

     ३ हजारभन्दा बढी नागरिकको ज्यान लिएको कोरोना भाइरस घरेलु रुपमा नियन्त्रणमा लिएपछि चीन यतिखेर संसारलाई सहयोग गर्दैछ । वुहान सुस्ताएर दुई महीना पछि उठेपछि कोरोनाको इपिसेन्टर अहिले अमेरिका बनेको छ ।

यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले अमेरिकामा मात्र ७ हजारभन्दा बढीको ज्यान लिइसकेको छ र २ लाखभन्दा बढी संक्रमित भएका छन् । स्पेन, इटाली चरम संकटमा छन् । छिमेकी देश भारतमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।     
     
प्राध्यापक डा राजिवकुमार झा चीनको सियानमा बस्छन् ।२२ वर्षदेखि चीनमा रहेका उनी मेडिकल प्राध्यापक, चिकित्सक र युवा वैज्ञानिक पनि हुन् । कोरोना भाइरस विश्वव्यापी रुपमा भयावह बन्दै गएको सन्दर्भमा चीनको सियान विश्वविद्यालयका अनुसन्धानदाता प्राध्यापक झालाई पछ्याउँदै हामी पनि उनको निवास भैंसेपाटी पुगेका थियौं ।     
     
कोरोनाको विश्वव्यापी महामारीको पछिल्लो अपडेट लिइरहेका प्राध्यापक झालाई अर्को फोन आयो उनका पीएचडी विद्यार्थीको र भन्दै थिए– पछिल्ला दिन चीनमा नयाँ संक्रमित थपिएका छैनन्, हिजो त एकजनाको पनि मृत्यु भएन ।

उनको निर्देशनमा केही चिनियाँ र अन्य देशका शोधार्थीले मेडिकल विषयमा विद्यावारिधि गरिरहेका छन् । त्यसैबेला उनले शनिवार चीनले कोरोनाबाट मृत्यु भएका चिनियाँ नागरिकको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको र त्यसलाई राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोकको दिनका रुपमा पनि घोषणा गरेको जानकारी गराए ।     

हाम्रो उद्देश्य भने प्राडा झालाई चीनमा भएको कोरोनाको नियन्त्रण, त्यसबाट नेपालले सिक्नुपर्ने पाठ, विश्वव्यापी रुपमा त्यसले पार्ने प्रभाव र कोरोनाबाट बच्ने उपायका बारेमा उनको अनुभवमा केन्द्रित रहेर कुरा गर्नुथियो ।

विगत करीब २२ वर्षदेखि पढ्ने र पढाउने काममा चीनमा नै व्यस्त झा चाइना नेपाल मेडिकल रिसर्च सेन्टरका निर्देशकसमेत रहेका छन् । चीन सरकारले यो मेडिकल रिसर्च सेन्टर उनकै नाममा स्थापना गरिदिएको हो ।

सन् २०१५ मा चीन सरकारले चीनमा बस्ने विश्वका १०० जना विशिष्ट क्षमता भएका विदेशी नागरिकको सूचीमा समेत परेका झाले चीनमा कोरोनाको उत्पत्तिदेखि अब लगभग कोरोना फ्रि चीनको घोषणाको नजिक पुगेको चीनको समग्र अवस्था नियाली रहेका छन् ।     
     
सन् २०१९ बिदा हुँदै थियो । पश्चिमाहरु नयाँ वर्षको स्वागतको तयारीमा थिए । कोही क्रिस्मस मनाउँदै थिए त कोही लामो विदा लिएर विदेश घुम्ने तयारीमा थिए । डिसेम्बरको अन्तिम साता चीनबाट खबर आयो निमोनियाको लक्षणसँग मिल्दो जुल्दो खालको नयाँ रोग देखिएको छ ।     


डिसेम्बरको २६ र २७ तिर वुहान शहरमा २७ जना यस्ता बिरामी आए । वुहानको स्वास्थ्य विभागले सार्वजनिक सूचना नै दियो । त्यसमा भनिएको थियो– सार्सको लक्षणसँग मिल्दो जुल्दो खालका बिरामी आए, त्यसमध्ये दुई चार जना बाहेक अरु सबै निको भएर घर फर्के ।

एक हप्ता पछि त्यस्ता बिरामी ४४ पुग्यो । अर्थात् सन् २०२० जनवरीको पहिलो साता अघिल्लो साताको भन्दा झण्डै दोब्बर बिरामी सोही प्रकृतिका देखिए । जनवरीको २० सम्म कुनै नयाँ बिरामी देखिएनन् । त्यसलगत्तै चैतको खरमा आगो लागेजस्तै गरी वुहान र त्यसबाहिर पनि यो भाइरस फैलिंदै गयो ।     
     
प्रा डा झा त्यस समयको चीनको अनुभव सुनाउँछन्, ‘चिनियाँ नागरिक वसन्त पर्वलाई धुमधाम मनाउने तयारीमा थिए त्यसैले धेरै स्वदेश र विदेशबाट घर फर्कदै थिए । चीनको द्रुतगतिको मेट्रो रेल भरीभराऊ थियो । हवाई जहाजका सबै सिट भरिएका थिए । नियमितभन्दा धेरै बढी उडान भइरहेका थिए । विश्वविद्यालय, विद्यालयहरु बन्द थिए ।

मानिसको चाप बढ्ने र आवत जावत पनि उस्तै हुने समयमा वुहानमा विस्फोट भयो । जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को साल सारिदियो । उता पश्चिमाहरु भने कोरोनालाई शुरुमा वुहान र पछि चिनियाँ भाइरसको नाम दिन थालेका थिए । आज त्यही भाइरस संसारका २०३ देशमा पुगेको छ र अहिलेसम्म ५९ हजार नागरिकको ज्यान लिइसकेको छ ।’     
     
प्राडा झा भन्छन्, ‘चिनियाँ सरकारले यो भाइरसको फैलावटको दर निकै खतरनाक हुने आँकलन गरयो र वुहानलाई इपीसेन्टर मानेर वुहान, सियान, पेचिङ मात्रै नभई धेरै प्रान्तहरुमा लकडाउन गर्ने घोषणा गरयो । यो निर्णयलाई कतिपयले अलोकप्रिय भने पनि वाध्यकारी निर्णय थियो ।

नेपालको सिमाना जोडिएको तिब्बतमा समेत एक विरामी देखिएको थियो । त्यसपछि त केही देशले दूतावासका कर्मचारी लैजान चार्टर उडानसमेत गरे । डिसेम्बर २७ मा सिफूड बजारबाट फैलिएको कोरोनालाई जनवरीको तेस्रो सातामा मात्रै विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ नाम दिएको थियो ।’    
     
वास्तवमा चीनकै मोडल अपनाएको भए अरु देशमा अहिलेको रुप नलिने उनको अनुभव छ । बाहिरका देशहरुमा असावधानी र अराकजताका कारण स्पेन, इटाली र अहिले आएर अमेरिकामा यो अवस्था आयो ।

 डा झालाई हामीले बीचैमा सोध्यौं–कसरी सफल भयो चीन कोरोना माथिको विजय प्राप्त गर्न ?, ‘मानिस मानिसबीचको सम्पर्कको कडी तोड्न चीनले गरेको प्रयास नै सबैभन्दा महत्वपूर्ण विषय थियो, लकडाउन नै त्यसको वास्तविक कारण बन्यो’, डा झाले भने, ‘रातारात अस्पताल बने, हजारौं स्वास्थ्यकर्मी वुहान ओरालियो ।

घर-घरमा गएर स्वास्थ्यकर्मीले नमूना परिक्षण गर्दै अस्पताल पठाउन थाले, मानिसहरु शंकै नलाग्दा पनि परीक्षण गर्न आए, घरमा बस्नेहरु पनि आफै बडो अनुशासित क्वारेन्टाइनमा बसे, यस्ता धेरै कारणहरु छन् जसले चीनलाई यतिचाँडै सफल बनायो ।’     
     
उनको अनुभवले यो बताउँछ कि– चीनको प्रविधि, जनशक्ति र सार्सको समयमा सिकेको अनुभवले पनि उनीहरु आफैमा ढुक्क थिए । महामारीसँग जुध्ने नेतृत्वको दृढ इच्छा शक्ति, उपलब्ध भौतिक सामग्री र नागरिकको समर्थन नै सफलताको कारण हो ।     
     
चीनको वुहानमा लकडाउन गर्दा पश्चिमाहरुले मानवअधिकारको विषय उठाएको भन्दै डा झा भन्छन्, ‘वास्तवमा त्यो त मानअवधिकार भन्दा पनि जनताको जीवन रक्षा गर्नका लागि लिइएको कदम थियो नि होइन ? हेर्नुहोस् हाम्रो नेपालीमा पनि बडो वैज्ञानिक र पुरानो भनाइ छ नि महामारीमा ज्यान जोगाउनु भन्ने ।

आखिर महीनादिनभन्दा बढी नै लकडाउन भयो त्यसैले त थोरै क्षतिमै रोगमाथि विजय नै प्राप्त भयो नि होइन ? नत्र भन्नुस त के हालत हुन्थ्यो होला आज चीनको ? अमेरिकाले पनि यही गर्नुपथ्र्यो ।

खुल्ला समाजको परिचायक बन्न खोजेर मात्र हुँदैन, जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो भन्छु मत । क्रमश :   ( राससको सहयोगमा )
     

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्