ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमण :  नेपालले चीनबाट के सिक्ने  ?  एकजना डाक्टरको अनुभव( भाग–२)   

२०७६ चैत, २२  
समाचार
Image Not Found

चैत २३, काठमाडौं । अहिले यूरोपेली देशका नागरिकको हालत बडो भयावह बन्दै गएको देखिन्छ । किनकी अवस्था यस्तो भयो कि महामारी दिनदिनै फैलिँदैछ तर नियन्त्रण गर्ने छेउटुप्पो कता हो उनीहरु भेउ नै पाएका छैनन् ।

डाक्टर, नर्सले झण्डै हार खानेहुन् कि भन्ने खतरा देखिँदैछ । अब चीनले नै यस्तो अवस्थाको नियन्त्रणका लागि सहयोग गर्नुपर्छ । एयर चाइनाको जहाजलाई स्वागत गर्न सर्वियाका राष्ट्रपति विमानस्थल नै पुग्नुपरेको दृश्य टेलिभिजनका पर्दामा देखिएका छन् । किनकी आफ्ना छिमेकीले साथ दिएपछि सर्वियाका राष्ट्रपतिले भावुक शैलीमा लेखेको पत्र विश्वभरका सञ्चारमाध्यममा आएको प्राडा राजीव झा बताउँछन् ।
     
‘हाल नेपालमा लकडाउन भन्दा प्रभावकारी उपाय अर्को केही छैन भन्छन् उनी । सरकारले भनेको मानौं, लकडाउनका घरमै बसौं, सामाजिक दूरी कायम गरौं, भीडभाडबाट जोगिआंै यो भन्दा राम्रो उपाय अरु केही छैन’, झाको सुझाव छ । कम्तीमा पनि २८ दिन लकडाउन गर्न उनले सरकारलाई सुझाव दिए । नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएको छ ।

यो ठूलो संख्या नभएपनि खतराको घण्टी बजेको अवस्था हो भनेर हामीले बुझ्नुपर्छ । चीन वा भारतले अवलम्बन गरेको मोडललाई अवलम्बन गरेर नागरिक आफै सचेत भए आफ्नो समाज र देशलाई जोगाउन सकिने उनको भनाइ छ ।     
     
प्रा डा झा सरकारले केही अस्पतालाई तत्कालै डेडिकेटेड अस्पतालका रुपमा घोषणा गर्नुपर्ने बताउँछन् । सरकारले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालाई डेडिकेटेड अस्पताल बनाएको छ ।

उनको सुझाव त बानेश्वरको सिभिल अस्पताललाई पनि एक डेडिकेटेड अस्पतालका रुपमा बनाउनुपर्ने भन्ने छ । भन्छन्, – यो सिभिल अस्पतालमा बढीमा १०० बेड छुट्याएर डेडिकेटेड अस्पतालका रुपमा घोषणा गरियोस् । किनभने यो सफा छ र खुल्ला ठाउँ पनि छ । यो चिनियाँको सहयोगमा बनेका अस्पताल हो र भोलि पनि सहयोग चीनबाट आउँदा यसमा आउँछ ।

अर्को कुरा भोलि नेपालमा यो महामारी भित्रियो र चिनियाँ सहयोग नै चाहियो भने पनि उनीहरुले आफ्नो मापदण्डअनुसार बनाएको यस अस्पतालमा आएर उनीहरुले काम गर्नेछन्, चीनलाई सजिलो पनि हुन्छ ।     
     ‘सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी महामारीसँग जुध्नसक्छौं भन्ने आत्मविश्वास जरुरी छ, चिकित्सक, डाक्टर, नर्सलाई पनि मानसिक रुपमा प्रशिक्षित गर्नु आवश्यक छ, उनीहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ’, डा झाले भने, ‘बिरामीको उपचारमा लाग्नेलाई व्यक्तिगत सुरक्षादेखि सबै खालको प्रबन्ध गरौं तर सबैलाई एन ९५ मास्क नै चाहिन्छ भने जसरी प्रचार पनि नगरौं  ।’
     
संक्रमणको आशंका लागेकालाई क्वारेन्टाइन वा आइसोलेशन राख्नुपर्ने, जुन कामको हाम्रोमा समेत सुरुआत भइसकेको छ । लकडाउन जारी नै छ । यस्तो बेलामा कोही कसैले पनि नकारात्मक प्रचारमा नगर्न उनको सुझाव छ । चीनमा जस्तै नागरिकको मनोबल बढाउने, मानसिक रुमपा सकारात्मक प्रभाव पार्ने खालको सूचना दिनु जरुरी छ । नागरिकको दैनिक आवश्यकता परिपूर्तिका लागि समेत विशेष ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् ।    
     
क्वारेन्टाइनमा बसेका कोही पनि डराउनु नपर्ने झाको सुझाव छ । उनी भन्छन्, ‘तर हाम्रोमा एक खालको त्रास पैदा गरिएको छ, मनोवैज्ञानिक त्रास नै सबैभन्दा घातक विषय हो, १०० जनामा कोरोना लागि नै हाल्यो भने पनि ८० प्रतिशत आफै निको हुन्छन्,मृत्यु हुनेको संख्या त तीन प्रतिशत मात्रै रहेको देखिएको छ ।

संक्रमित भएका व्यक्तिले अरुलाई नसारुन भनेर ध्यान दिनु जरुरी छ, रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका मानिसलाई यसले सबैभन्दा बढी प्रभाव पारेको पाइएको छ, मलाई रोगले होइन, रोगलाई मैले जित्छु भन्ने मनोबल उच्च भएका जोसुकै नागरिक १४ दिनमा निको भइहाल्छन् ।’    
     
कोरोना समूहको आठौं संस्करणको भाइरस भएकाले कोभिड– १९ सँग जुध्न आन्तरिक रुपमा मानव तयार नभएको पनि हुनसक्छ । किनकि, यो जनावर र मानिसमा भएको कमजोर कमजोर भाइरस मिलेर बनेको नयाँ ठिमाहा प्रजातिको भाइरस हो । त्यसकाकारण वृद्धवृद्धा, दीर्घरोगी तथा रोग प्रतिरोधी क्षमता कम भएका नागरिकलाई विशेष हेरचाहको जरुरी रहेको उनको भनाइ छ ।     
     
‘हाम्रो बसोबास पनि एकाध शहरमा बाहेक अन्यत्र फरक–फरक नै छ , सामाजिक बनोटले नै समाजिक दूरी कायम गरेको छ ,एउटालाई स¥यो भने धेरैलाई सर्दैन’, डा झाको अनुभवमा ८० प्रतिशत कोरोना संक्रमित सिटामोल नै खाएर पनि निको भएका छन् ।     
     
मानिसहरुमा कुनै प्रकारको डरको अनुभव नै हुन दिएनन् चिनियाँले । यो सामान्य घटना हो भनेर अभ्यस्त बनाएको कारण सफल भएको सुनाउँछन् उनी ।

‘हामीमा आजसम्म त्यस्तो देखिएको छैन, विदेशबाट देखिएका मानिसलाई घृणा गर्ने संस्कार विकसित भएको देखिएको छ, यस्तो संस्कार सतप्रतिसत गलत हो’, उनले भने, ‘विदेशबाट आएका, संक्रमित भएकालाई माया गरौं, सकारात्मक सन्देश प्रवाह गरौं, उनीहरुलाई आत्मिक रुपमा सबल बनाऔं र प्रोत्साहन दिउँ ।’    
     
लकडाउनको समयमा नागरिकलाई खाने, लाउने सबै प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध हुन हाम्रोमा समस्या देखिएको छ । तर, चीनमा त्यस्ता सामग्री उपलब्ध गराउन विद्युतीय प्रणालीको सहारा लिइयो ।

‘चिनियाँले मोबाइल एप नै बनाए , त्यसलाई सबैले आफ्नो मोबाइलमा राखे, सबैले आ– आफ्नो विवरण त्यसमा भरे, दैनिक रुपमा एपमा अपडेट नभए कोही कसैलाई पनि बाहिर जान दिइएन, हाम्रोमा त्यस्तो सम्भव नभएपनि सहज व्यवस्थापन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ, अनि पछिल्लो पटक विभिन्न प्रभावित देशमा नै जहाजहरु गएका छन् नि तिनीहरुलाई पनि नेपाल आएपछि क्वारेन्टाइनमा राख्नुपर्छ’, उनले भने, ‘जस्तो कि चीनबाट विद्यार्थी ल्याएको जहाजलाई हामीले १४ दिन राख्यौं अहिले पनि उद्धार गरिएका नागरिकलाई विदेश छोडेर आउने नेपाली जहाजलाई त्यसैगरी राख्नुपर्छ ।’    
     
चीनमा हप्तामा एकजना परिवारका सदस्यलाई घर बाहिर जान पाउने व्यवस्था गरिएको थियो । सोही कारण दैनिक उपभोग्य वस्तुको सामान आयातमा कुनै समस्या भएन ।

डा झा भन्छन्, ‘चीनमा मिडियाले पनि त्रास फैलाउनुभन्दा जनतालाई सजग गराउने समाचार नै बढी दिए, मनोवैज्ञानिक रुपमा कुनै समस्या भए के गर्ने भन्ने सूचना पनि त्यसमा उपलब्ध हुन्थ्यो, तर हाम्रोमा भने केही सञ्चारमाध्यमले त आतंकै फैलाएका हुन् कि भन्ने पो देख्छु मत, राष्ट्रिय विपत्तिमा पनि यस्तो हुन्छ र ?’     
     
चीनले नेपाललाई सहयोग गर्छौं भनिरहेको प्रसंग हामीले जोड्यौं । यहाँस्थित चिनियाँ राजदूतले पनि सोही आशयको धारणा सार्वजनिक गर्दै आएकी छन्  । हामीमा समस्या देखियो भने के साँच्चै चीनले हामीलाई सघाउँछ ?     
     
उनले भने, ‘नेपालमा समस्या थप जटिल बनेर देखियो भने चीनबाट हामीले पूर्ण सहयोग प्राप्त गछौंं, यसमा कुनै दुविधा नराख्दा हुन्छ ।’ नेपाल सरकारले अनुरोध गरेको खण्डमा इटाली, स्पेन पुगेका चिनियाँ चिकित्सक डाक्टर र अन्य प्राविधिक जनशक्ति पाँच घण्टामा नेपाल आइपुग्ने उनको विश्वास छ ।     

‘मैले नै अध्यापन गराइरहेको सियान विश्वविद्यालयको टिम नै आवश्यक परेको खण्डमा आउन तयार छ, किनकी छिमेकी हुनुको नाताले पनि चिनियाँहरु नेपाललाई माया मात्रै होइनन् सद्भाव पनि राख्छन्’, डा झाले भने, ‘गत असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछिको अवस्थामा म यत्ति दावा गर्नसक्छु ।’   
नेपाल र चीनको बीचको मैत्री सम्बन्ध पनि पछिल्ला दिनमा झनै फैलिएको छ । राजनीतिक तहमा सम्बन्ध विस्तार भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई लेखिएको पत्र त्यसैको उदाहरण भएको झाको भनाइ छ । सरकारी तथा गैरसरकारी तहमा पनि राम्रो भातृत्व रहेको उल्लेख गर्दै झाले भने, ‘हामीले आग्रह मात्रै ग¥यौं भने चीनबाट ठूलो सहयोग प्राप्त भइहाल्छ ।’     
     
मैले अध्यापन गराउने विश्वविद्यालयले पनि जिज्ञासा राखेको राख्यै गरेको सुनाउँदै उनले भने,  ‘चीनमा कोरोनाका बिरामी बढ्दै जाँदा हामीले गरेको सांकेतिक सहयोगको उनीहरुले खुलेर प्रशंसा गरेका थिए । ’

संकटमा बोलीले पनि ठूलो काम गर्दो रहेछ, गोरखा भूकम्पका ती दिन सम्झदै डा झाले भने । चिनियाँले त्यो बेला देखाएको सहयोगले नेपाली नागरिकलाई ऋणी बनाएको छ ।     
     
‘कोरोनाको सक्रमण फैलन नपाओस् भनेर माइतीघर मण्डलामा चीनको समर्थनमा बालिएको मैनबत्ती र केही थान मास्क हामीले दिँदा उनीहरुको प्रतिक्रिया हेर्नुस्’, प्राडा झा भन्छन्, ‘संकटमा छिमेकी काम लाग्छ, सद्भावले मात्रै पनि ठूलो अर्थ राख्छ ।’ 
     
कोरोनाका कारण विश्व राजनीतिमा शक्तिको होडबाजीमा समेत नयाँ खालको संरचना देखिनसक्ने उनको बुझाइ छ । यतिबेला कोरोनाले पैदा गरेको विश्व अर्थव्यवस्थाको संकटको बाछिटा एकातिर छ भने अर्कोतिर मानव सभ्यतामाथिको आक्रमणले पैदा गरेको तरंगले केही न केही नयाँ स्वरुपलाई निम्तो गरेको छ जस्तो मलाई लाग्छ उनले बताए ।
     
चीनले इटाली, स्पेन, सर्विया र अब अमेरिकालाई समेत उपलब्ध गराउनुपर्ने सहयोगले संसारभर नै चिनियाँहरुप्रति सकारात्मक धारणा थप विस्तारित हुने झाको बुझाइ छ । ‘संकटमा कसले कस्तो सहयोग ग¥यो भन्ने विषय नै महत्वपूर्ण हुन्छ’, उनले भने । राससको सहयोगमा (समाप्त)
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्